ScotNepal: ‘अभागी’ छोराको बयान : जसले संसार लाई रुवायो
Loading...
‘अभागी’ छोराको बयान : जसले संसार लाई रुवायो



बुवाको मृत्युपछि
म एउटा आम परदेशी नेपाली हुँ । धन कमाएर बुवा-आमा (गणेशबहादुर थाम्सुहाङ र कीरातनुमा थाम्सुहाङलाई सुख दिउँला भन्ने सपना मेरो पनि थियो । तर, सपना अधुरै रह्यो । हेर्दाहेर्दै समय चिप्लिएर गएको थाहै भएन । जति नै रोए पनि वा जति नै कराए पनि अब मेरा बुवाआमा यो संसारमा फर्किनुहुन्न । म लहराबाट चुँडिएको काँक्रोजस्तो भएको छु ।

मेरो बुवाको मृत्यु ७५ वर्षको उमेरमा भएको थियो । सफल अप्रेसनपश्चात् बुवा निको भएर अस्पतालबाट डिस्चार्ज हुनमात्रै बाँकी थियो । दिउँसो फोनमा उहाँसँग खुसीका कुरा गरेँ । हङकङ घुम्न बोलाउँदैछु, भिसाको लागि निवेदन बुझाइसकेको छु भनेँ । बुवा अत्यन्तै खुसी हुनुभएको थियो । त्यसै दिन राति ९ बजे बुवाको मृत्युको खबर पाएँ । म भक्कानिएँ । कवि नरेश सुनुवार थियो साथमा । ऊ पनि बुरुरु रोयो । हुन त लाखौं नेपाली बिना ओखतिमुलो मरिरहेछन् । उनीहरूको आफन्तलाई कति पीडा, कति दुःख हुँदो हो । उनीहरूको दुःखको अगाडि मेरो दुःख केही पनि होइन । तर, पनि मन अमिलो हुँदोरहेछ । मलाई लाग्छ, मेरो बुवा नेपालको एयरपोर्टमा मलाई पर्खेर बसिरहनुभएको छ ।
बुवाको मृत्युले मलाई यति गहिरो चोट लाग्यो, म डिप्रेसनको बिरामी भएँ । बुवा बारम्बार भन्ने गर्नुहुन्थ्यो- ‘मेरो ७५ वर्षको उमेरमा ठूलो खड्को छ । त्यो पार गरेँ भने ९० वर्षसम्म बाँच्छु ।’ बुवाको मृत्युपछि मैले मृत्युबारे धेरै सोचेँ । आफैं पनि मृत्युको नजिक पुगेर आएँ । मृत्यु भनेको अर्को रूपमा जानुरहेछ । यो स्थुल शरीरभित्र अर्को अस्तित्व छ । त्यो निस्केर जानु नै मृत्यु रहेछ ।
बुवाको मृत्युले आमालाई सबैभन्दा ठूलो चोट लागेको थियो । आमाको अनुहारको तेज नै निभ्यो बुवाको मृत्युपछि । उहाँ त्यसै पनि रोगी हुनुहुन्थ्यो । उच्च रक्तचाप र मधुमेहले जीर्ण उहाँको दुवै मिर्गौलाले काम गर्न छोड्यो पछिल्लो समय । मैले कान्छी दिदीसँग भनेँ, ‘जसरी हुन्छ मिर्गौला फेरौं ।’ दिदीले भन्नुभयो, ‘आमाको उमेर र अन्य रोगहरूको कारण मिर्गौला फेर्न सम्भव छैन । डाक्टरले सुझाएको विधि डायलोसिस हो ।’ आमा मर्दै हुनुहुन्थ्यो बिस्तारबिस्तार । डायलोसिसले गलेर उमालेको डाँक्लाजस्तो हुनुभएको थियो उहाँ, घामले ओइलिएको सागजस्तो हुनुभएको थियो उहाँ ।
उहिले बिरामी भएर ओछ्यानमा हँ…हँ गर्दै थला पर्दा म सोध्थेँ आमालाई, ‘आमा, किन हँ…हँ गर्नु भएको ? ‘ आमा भन्नुहुन्थ्यो, ‘मेरो घुँडाभित्र स्याँउस्याँउ कीराहरू छन् । तिनीहरूले खाइरहेछ मेरो घुँडा ।’ म कल्पना गर्थें ती कीराहरू कस्ता होलान् ? आमाको घुँडा खाने कीराहरूलाई मट्टीतेल छर्केर आगो लगाइदिने कल्पना गर्थें । आमा सुत्ने काठको खाट थियो, बुवाले आफैं बनाउनुभएको । खाटमा कीरा लागेको रहेछ । मट्टीतेलको बत्ती निभाउनेबित्तिकै खाटको कीराले काठ खान थाल्थ्यो, ‘किरिक् रिक् ! किरिक् रिक् !’ आमाको घुँडा कीराहरूले त्यसरी नै खाँदै होलान्- म सोच्थें र रातभर निद्रा लाग्दैनथ्यो । डायलोसिस गर्दा कत्ति पीडा भो होला आमालाई ?
बौद्ध दर्शनमा मृत्युलाई सहज रूपमा स्वीकार गरिने रहेछ । विशेष दुई तरिका रहेछन्, मृत्युको पीडा कम गर्ने । पहिलो- मृत्युलाई बेवास्ता गर्ने र दोस्रो- मृत्युको लागि तयारी गर्ने । सुरुमा त मैले बौद्ध दर्शनबाट नै आमाको मृत्युलाई हेर्ने कोसिस गरेँ, चित्त बुझाउने कोसिस गरेँ । तर, आमाको मृत्युको खबर सुनेर सबै दर्शन भुलेँ । परदेशको ठाउँमा काम गर्दै थिएँ, बरर आँसु झार्न सकिनँ । म बालुवाको मान्छेजस्तो भत्किन थालेँ ।
आमाको मृत्यु
अघिल्लो रात आमाको यादले अचानक यति सतायो कि म छ्टपटिन थालेँ । सबै साथी तिहारमा व्यस्त थिए । मैले कवि मनु कन्दङ्वालाई झल्याँस्सै सम्झेँ । हरेक तिहारमा कवि मनु कन्दङ्वा पनि छट्पटीमा हुन्छिन् । तिहारकै बेला मनुले आफ्नो दाजु गुमाएकी छिन् माओवादी युद्धकालमा । र, मैले मनुसँग केहीबेर कुरा गरेँ, सान्त्वना दिएँ, सान्त्वना लिएँ पनि । त्यसपछि मैले आमाको सम्झना गर्दै कविता लेखेँ । तर, भोलिपल्ट आमाले यो दुनियाँ छोड्नुभयो ।
प्रेसर र डायबेटिजको रोगी दुवै मिर्गौलाले काम गर्न छोडेपछि ‘डायलोसिस’ गर्दै सास फेर्दै हुनुहुन्थ्यो मेरी आमा । महिनामा दुई-चारपल्ट बेहोस हुँदै, ब्युँतिदै गर्नुहुन्थ्यो मेरी आमा । अस्ति भर्खर नेपालमा भेट्न गएँ आमालाई । आमा त भगवान् भइसक्नुभएको रहेछ । मलाई देखेर अनुहारमा कुनै प्रतिक्रिया दौडिएन आमाको । ओछ्यानमा पल्टिनुभएको थियो हलचलबिना । आमालाई चस्मा लगाइदिँदै मैले सोधेँ, ‘आमा ! म हाङयुग, तपाईंको छोरा । चिन्नुभयो ? ‘ अनुहार नजिक लगेँ मैले । अलिकति मुस्कानको पातलो छायाँ देखेँ आमाको ओठमा ।
‘आमा, किन हँ…हँ गर्नु भएको ? ‘ आमा भन्नुहुन्थ्यो, ‘मेरो घुँडाभित्र स्याँउस्याँउ कीराहरू छन् । तिनीहरूले खाइरहेछ मेरो घुँडा ।’ म कल्पना गर्थें ती कीराहरू कस्ता होलान् ? आमाको घुँडा खाने कीराहरूलाई मट्टीतेल छर्केर आगो लगाइदिने कल्पना गर्थें ।
आमाले भासिएको मधुरो स्वरमा भन्नुभयो- ‘किन नचिन्नु ? तँ मेरो माइला छोरा हस् ।’ आमाले यसोभन्दा मेरो आँसु आँखाभित्रबाट उछिट्टिएर बाहिर आउन खोज्यो । मित्र राजन मुकारुङ पनि मसँगै थिए । उनका आँखा पनि रसाएका थिए । मेरो दाजु (गीतकार वसन्त थाम्सुहाङ) आमाको खुट्टामा झिंगा धपाउँदै हुनुहुन्थ्यो । दाजुको स्वर पनि अवरुद्ध भयो । एक वाक्य बोलेर आमा निदाउनुभयो ।
सानोमा आमालाई दुःख दिँदा उहाँ मलाई भन्नुहुन्थ्यो, ‘तँ मेरो छोरा होइनस् । तँलाई त बाटोमा भेटेर ल्याएको हो ।’ आमाले यसोभन्दा म भक्कानो छोडेर रुन्थेँ । अन्तिमकालमा आमाले भन्नुभयो- म उहाँकै छोरा हो । त्यति भन्न उहाँ मृत्युसँग जुद्दै हुनुहुन्थ्यो । मैले पनि आमालाई धेरै कुरा भन्नुथियो तर उहाँको कान बन्द भइसकेका थिए ।
आमाको अवस्था देखेपछि बाहिर बग्नुपर्ने मेरो आँसु भित्रभित्रै बग्न थाल्यो । भित्रभित्रै बग्ने आँसुले मान्छेलाई सारै नमीठो गरी भत्काउनेरहेछ । म भत्किन थालेको छु । नेपाल बसुन्जेल म साथीहरूसँग पनि त्यति बोलिनँ । भित्र मनमा आमाकै मुहार आइरह्यो । हङकङ फर्केपछि पनि आमाकै झल्को आइरह्यो ।
आमाले अर्को यात्रा सुरु गर्नुभएको छ । फेरि बुवासँग उहाँको भेट भएको छ । यो मेरो विश्वास हो । बुवा बितेपछि त्यसै पनि आमा निराशनिराश हुनुहुन्थ्यो ।
आमालाई हङकङ घुमाएँ । तर आमा सधैं भन्नुहुन्थ्यो, ‘तेरो बुवा पनि हुनुभएको भए ? ‘ पानीजहाज देखाएँ आमालाई । आमा भन्नुहुन्थ्यो, ‘तेरो बुवाले पनि देख्न पाएको भए ? ‘ आमालाई रेल देखाएँ । आमा भन्नुहुन्थ्यो, ‘तेरो बुवाले पनि देख्न पाएको भए ? ‘
बुवा बित्दा लेखेको गीत भर्खरै रेकर्ड गरेको थिएँ, ‘गाउँघर शुन्ये शुन्ये भो अरे ।’ आमालाई ‘मैले लेखेको गीत सुन्नुहोस् है आमा’ भनेर सुनाएँ । आमा त रुन थाल्नुभयो । गीत बन्द गर्न लाउनुभयो । गीत बन्द गरेँ । ‘तेरो बुवा बितेपछि हाम्रो घर शून्य भएको छ’ भनेर आमा अझै जोडले रुन थाल्नुभयो । बुवा बित्दा गाउँ-घर शून्य लागेको थियो मलाई । आज आमा बित्दा संसार शून्य लागेको छ ।
आज आमाको अन्तिम यात्रा भयो नेपालमा । मैले आमालाई माटो दिन पाइनँ, आगो दिन पाइनँ । म अभागी नै रहेछु । जीवनमा कहिल्यै पनि बुवाआमासँग बस्न पाइनँ । सानैदेखि परदेशी जीवन बिताएँ । बाहिरबाहिरै हुर्कें, बाहिरबहिरै बढेँ, बाहिरबाहिरै बाँचे र बाहिरबाहिरै मर्छु होला । मेरो मानसपटलमा मेरो बुवा-आमा सधैं जीवित हुनुहुन्छ । तर बुवाआमाले संसार छोडेपछि दाजुभाइ र दिदीबहिनीहरू नौलो-नौलो लाग्दोरहेछ । को-हो को-हो लाग्दोरहेछ । सायद यही नै संसारको रीत हो । सबैले आ-आफ्नो लेखान्त भोग्नु छ । सबैको आ-आफ्नो कथाकुथुङ्ग्री छ ।
बल्लतल्ल छुट्टी स्वीकृत गरेर आज राति नेपाल जाँदैछु । मनमा हुरी चलिरहेको छ । शुभचिन्तक र साथीहरूबाट सहानुभूति र सान्त्वना पाइरहेको छु । मेरो मनमा उब्जिरहेको भावना सबैसँग बाँड्दा दुःख कम हुन्थ्यो कि भन्ने झिनो आशाले यति लेखेँ । आजबाट म गरिब भएँ । मेरो सम्पत्ति भन्नु नै आमा हुनुहुन्थ्यो । आजबाट म निर्धन भएँ, एक्लो भएँ ।
भाइ जन्मेपछि
म सानो छँदाको कुरा हो । याङ्नाम आकाशे गाउँको डाँडाबाट घाम भर्खरै निस्केको थियो । आमा सिकुवामा बार्दली समाएर छट्पटाइरहनु भएको थियो । त्यत्तिकैमा बच्चा रोएको आवाज सुनेँ । अनि आमालाई काकीहरूले भान्साघरभित्र लगेको देखेँ । भान्साघरको दैलो लाग्यो । ‘दैलो खोल् ! दैलो खोल् !!’ भन्दै म दैलोमा झुन्डिएर रोइरहेँ ।
सिकुवामा नानीको पहेँलो बाफ उडिरहेको दिसा थियो । मेरो भाई (कवि प्रकाश थाम्सुहाङ) जन्मेको रहेछ । भाइ जन्मेपछि मलाई आमादेखि टाढा-टाढा धपाउन थाले मान्छेहरूले । आमाको काखमा जानेबित्तिकै मलाई गिल्ला गर्थे, ‘नानी हुन्छस् ? तेरो भाइ जन्मेको छ । अब आमाको काखमा बस्नु हुँदैन, लाज हुन्छ ।’
नानी हुन्छस् ? भनेर जन्तरी काकीले हकार्दा मेरो नाक दुखेर आउँथ्यो । म डाँको छोडेर रुन्थेँ, भुइँमा लडिबुडी खेल्थेँ । म भान्साघरको दैलोबाट आमालाई हेर्थें । आमाको काखमा अपरिचित बच्चा देखेर मन कुँडिन्थ्यो । आमा बोलाउनुहुन्थ्यो हातको इशाराले । म भित्तामा ढेसिँदै-ढेसिँदै चुल्होको छेउ पुग्थेँ । चुल्होमा ठूलो रूखको मुढा बलिरहेको हुन्थ्यो । त्यसमाथि ओदान हुन्थ्यो । ओदानमा कुखुराको झोल-मासु उम्लिरहेको हुन्थ्यो । चुल्होकै छेउमा तोङ्बा र कित्ली हुन्थ्यो ।
मैले आमालाई माटो दिन पाइनँ, आगो दिन पाइनँ । म अभागी रहेछु । जीवनमा कहिल्यै पनि बुवाआमासँग बस्न पाइनँ । सानैदेखि परदेशी भएँ । बाहिरबाहिरै हुर्कें, बढें । बाहिरबाहिरै मर्छु होला ।
मैले आमालाई सोधेँ, ‘आमा यो को हो ? ‘ आमाले भन्नुभयो, ‘तेरो भाइ ।’ म बिस्तारै आमाको नजिक गएँ । आमाले भन्नुभयो, ‘अबदेखि तैंले मेरो दूध खानु हुँदैन । तेरो भाइले जुठो लाइसक्यो । भाइको जुठो खानु हुँदैन ।’ यो सुनेर म भुइँमा फतक्कै बसेँ । आँखामा आँसु उम्रन थाल्यो । ठूल्ठूलो थोपा भुइँमा खसे । ‘अभागी हुन्छ्स् आँसु नझार्,’ आमाले भन्नुभयो । अनि तोङ्बातिर संकेत गर्नुभो, ‘ऊ त्यो तान् ।’ पहिलोचोटि तोङ्बा तानेँ, गुलियो थियो । कुखुराको एक चोक्टा मासु पनि खाएँ । सुत्केरीको भात खायो भनेर दिदीहरूले जिस्क्याए । करिब तीन वर्षको फरकमा मेरो भाइ जन्मेको रहेछ ।
भाइ जन्मेपछि पनि आमाको माया उत्तिकै थियो । हामी सातजना सन्तानमा सबैलाई बराबर माया गर्नुहुन्थ्यो । तर, मलाई सधैं लाग्यो- मलाई आमाले कम माया गर्नुहुन्छ । म भन्थेँ, ‘यदि मलाई माया गर्नुहुन्थ्यो भने किन आफूसँग राख्नुभएन ? किन होस्टेलमा राख्नुभयो ? किन परदेश पठाउनुभयो ? ‘ आमा भन्नुहुन्थ्यो, ‘विद्वान बनाउन तँलाई होस्टेलमा राखेको हो ।’ तर, आमा बितेपछि मात्रै थाहा पाएँ, आमाको माया । निक्कै सपनाहरू देखेँ आमालाई खुसी दिन्छु, आमाका सबै रहर पूरा गर्छु । तर, आमासँगै बसेर साग र सिस्नो पनि खान नपाई आमा बित्नुभयो ।
आमाको माया
बुवाआमासँग मेरो भेट दसैंतिहार, बर्खा र हिउँदको स्कुल बिदामा मात्रै हुने गथ्र्यो । कुनै दसैंको छुट्टीमा म होस्टेलबाट गाउँको घर पुगेँ । आमाले पाँचवटा ओखर दिनुभयो लुकाएर । खोर्लम्बा भन्ने ठाउँको हाम्रो बारीमा ओखरको बोट थियो । मेरो भागको ओखर राखिदिनुभएको रहेछ । ढिकीसारमा आमा धान कुट्दै हुनुहुन्थ्यो, भन्नुभयो, ‘जसले एक माना ओखरको गुदी आमालाई दिन्छ उसको सबै पाप काटिन्छ ।’ मैले ओखर फुटाएँ र गुदी आमालाई दिएँ ।
आधा मुठी जति थियो होला ओखरको गुदी । मैले सोधेँ, ‘मैले तपाईंलाई दिएको दुःख सबै काटियो ? ‘ आमा भन्नुहुन्थ्यो, ‘तैंले यति धेरै दुःख दिएको छस्, त्यो सबै कटाउनलाई तैंले मलाई सुनको थाल दिनुपर्छ ।’ कहाँबाट ल्याउने सुनको थाल ? म रातभर सोच्थेँ ।
तेरो बुवा बितेपछि हाम्रो घर शून्य भएको छ- आमा अझै जोडले रुन थाल्नुभयो । बुवा बित्दा गाउँ-घर शून्य लागेको थियो मलाई । अहिले आमा बित्दा संसार शून्य लागेको छ ।
होस्टेल बसेर आएदेखि पहिलेजस्तो आमाको लुंगीमा झुन्डिएर रुन, दङ्याउन छोडेको थिएँ । कहिले मह माग्ने, कहिले चिनी माग्ने, कहिले पैसा माग्ने, कहिले जेरी माग्ने मेरो बानी थियो । निकै कलह गर्ने बानीले आजित भएर नै मलाई होस्टेल राखिएको रहेछ । पछि कुरो बुझेँ ।
बोजु आधा जीउ प्यारालाइस भएर ओछ्यानमा पल्टिरहनुहुन्थ्यो सधैं । हातमात्रै चल्ने, बोली अलिअलि मात्रै सुनिने अवस्थामा हुनुहुन्थ्यो बोजु । आमाले नै नुहाइदिने, दिसा-पिसाब गराउने गर्नुहुन्थ्यो उहाँलाई । मेरो आमा साइँली बुहारी १२ वर्षको उमेरमा बिहे भएको अरे बुवासँग । चैत-वैशाखको समय हुनुपर्छ । बारीमा हरियो-परियो थिएन । मलाई आलुचा खान मन लाग्यो । मैले आमासँग आलुचा माग्न थालेँ । आमा जता जानुहुन्थ्यो त्यतै पछ्याउँदै, रुँदै ‘आलुचा दे, आलुचा दे !’ भन्थेँ । आमाको मासु आधा हुन्थ्यो मैले दुःख दिएर । अहिले सम्झिँदा आफ्नो मूर्खताप्रति धिक्कार्न मन लाग्छ । म कस्तो अबुझ र एकोहोरे रहेछु ।
बोजुले हात उचालेर लठ्ठी माग्नुभयो । आमाले भन्नुभयो, ‘बोजुको लठ्ठी दे, बोजुले दिनुहुन्छ आलुचा ।’ सिरानीको छेउमा थियो बोजुको लठ्ठी । लठ्ठी बोजुलाई दिएँ । ‘अलि नजिक जा बोजुले सिरानीमा राख्नुभएको छ आलुचा’, आमाले भन्नुभयो । नजिक के पुगेको थिएँ बोजुले मेरो टाउकोमा लौरो बजार्नुभयो । झिलिक्कै बिजुली चम्कियो आँखामा । आलुचा बिर्सेर रुँदै भागेँ त्यहाँबाट । पछि आमाले फकाउँदै एक मुठी चिनी दिनुभयो ।
बोजु बित्नुभएको रहेछ राति । आमा र म सँगै सुतेका थियौं । ब्युँझेर आमालाई खोजेँ । आमा त बोजुको खाटमा रुँदै हुनुहुन्थ्यो । आमालाई रोएको पहिलोचोटि देखेँ । आँखामा चस्मा थिएन आमाको । आँसु पुछ्दै, सुँक्सुकाउँदै हुनुहुन्थ्यो । बिहान काकीहरू पनि आइपुग्नु भो र आमालाई रुन सघाउनुभयो । आमा रुनुभएको देखेर मलाई साह्रै नमीठो लाग्यो । आमाको आँखाबाट असिनाका दानाजत्रा आँसुका दाना बोजुको लासमाथि झरिरह्यो । त्योबेला खसेको आमाको आँसु बुझ्न सकेको भए म अर्कै मान्छे बन्ने थिएँ होला ।
गोठ भत्किँदा
घरबाट तीन घन्टा हिँडेर पुगिने बारी थियो- ‘लेकबारी’ । मकै र आलु फल्थ्यो त्यहाँ । एकदिन आमा, भाइ र म डोको बोकेर आलुमा मल हाल्न लेकबारीतिर लाग्यौं । लेकबारीमा गोठ पनि थियो । गोठ हेर्ने एकजना दाइ हुनुहुन्थ्यो- ‘माइला’ (यी माइला दाइ पनि अलैंची टिप्न सिक्किम जाँदा भुसपातेको जंगलमा बिरामी भएर मरेछन्)। माइलाको गोठमा केही बाख्रा र भेडाहरू थिए । बारीको कान्लामा उत्तिसको रूखको खम्बा गाडेर चित्राले छाएको गोठ थियो । माथि माइला सुत्थ्यो, मुनि भेंडाबाख्रा बस्थे ।
दिउँसो चिया खान माइलाको गोठमा आयौं हामी । माइला घाँस काट्न गएको थियो । पोलेको आलु टिमुरको अचारसँग खान साह्रै मन पराउनुहुन्थ्यो आमा । खाजाको लागि आलु पनि पोल्नुभयो । चिया र आलु खाएर आमा, भाइ र म गुन्द्रीमा आराम गर्न ढल्कियौं । तर ढल्किएको एकैछिनमा गोठ त गल्र्याम्मै भत्कियो ।
आमा तल लडिझर्नु भो । म माथि नै अल्झेर बसें । यौटा ठूलो ढुंगा आमाको टाउको छेउबाटै गुडेर गएको देखेँ । धुलैधुलो भएर आमाले हामीलाई खोज्नुभयो । म सकुशल थिएँ । भाइ धुलोमा पुरिएको थियो । आमाको टाउको छेवैबाट गुड्दै गएको ढुंगा अझै पनि झल्झली आँखामा आउँछ, मुटु नै चिउँ हुन्छ ।
आमाको बिदाइ
म घर पुग्दा रातको १ बजिसकेको थियो । दमकबाट कविहरू याम थुलुङ, स्वामी बिरु, मुनराज शेर्मा, मेचीपुत्र, सुन्दर कुरुप, कुमार र ज्योति भट्टराईले मलाई घर ल्याइपुर्‌याए । घर आइपुग्न ढिलो भएछ । कवि ज्योति भट्टराईले मेरो कपाल खौरेपछि म सीधै किरिया कोठा छिरेँ । आमालाई खानेकुरा चढाएँ । भोलिपल्ट आमालाई अन्तिम बिदाइ गर्‌यौं । लिम्बू मुन्धुमअनुसार, फेदाङ्बाले भन्यो, ‘जूनको छोरी जूनले लग्यो ।’ आमा र हाम्रो संसार अलग भयो ।
तर, आमालाई मैले बारीभरि देखेँ । बारीको भित्तामा फर्सीको लहरा टिप्दै गरेको देखेँ आमालाई । सिस्नु फुलेको रहेछ । सिस्नु टिप्दै गरेको देखेँ आमालाई । आमाको गाई गाजलीको आँखामा पनि आँसु थियो । गाजलीलाई खोले, घाँस दिँदै गरेको देखेँ आमालाई । आमाले मधेसबाट ल्याएर रोप्नु भएको मेवा पनि फलेको रहेछ ।
आमाले रोप्नुभएको पिँडालु पनि सप्रेको रहेछ । आमालाई तितेकरेला टिप्दै गरेको देखेँ । मेरी आमा मर्नु भएको छैन । यहीँ हुनुहुन्छ । इस्कुसको बोटमा हुनुहुन्छ । खुर्सानीको बोटमा हुनुहुन्छ । बाँसको टुसामा हुनुहुन्छ । टाँकीको बोटमा हुनुहुन्छ । मलाई दुनियाँले बौलाहा भनुन् तर मेरी आमा जीवित हुनुहुन्छ ।
२०७३ मंसिर ४ गते प्रकाशित   - समग्रनेपाल बाट साभार : 
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers