ScotNepal: सुजातालाई लालबाबुको एक रुपैयाँ दान, डेढ करोड लिने ओलीलाई चाहिँ किन क्षमादान ?
Loading...
सुजातालाई लालबाबुको एक रुपैयाँ दान, डेढ करोड लिने ओलीलाई चाहिँ किन क्षमादान ?

काठमाडौँ , मंसिर २ - 
कांग्रेस वरिष्ठ महिला नेतृ सुजाता कोइरालालाई क्यान्सरजस्तो घातक रोगको उपचारका लागि प्रचण्ड सरकारले उपलब्ध गराएको ५० लाख रुपैयाँ सहायताको चौतर्फी आलोचना भइरहँदा पूर्वमन्त्री लालबाबु पण्डितले भने रु. १ दान दिएर नयाँ व्यंग्य कसे । कुनै एक पपुलिष्ट विरोधभन्दा कम रोचक छैन पूर्वमन्त्री पण्डितको यो सार्वजनिक दान ।

नेपालको कर्मचारी प्रशासनमा व्याप्त डीभी-पीआरको क्यान्सरलाई स्थायी रुपमा बन्ध्यकरण नै गर्न सफल भएका कारण लालबाबु पूर्वमन्त्री मात्रै होइनन्, सामाजिक तप्काका लागि अतिलोकप्रिय नेतामध्येका एक हुन् । उनी मुख्य विपक्षी एमालेका नेताका रुपमा भन्दा बढी सादा जीवनशैली र आक्रामक मन्त्रित्व कालका कारण पनि जनमानसमा निकै रुचाइएका नेता हुन् । मन्त्री हुनु त लालबाबुजस्तो हिम्मतिलो र कामकाजी भनेर उसै भनिएको पनि हैन । उनले गर्ने सार्वजनिक सवारीको साधारण यात्रा, २ कोठे साधारण बसोबास र अतिसरल जीवनशैलीमाथि उनको बेदागी मन्त्रित्व काल निकै स्मरणीय छ, केही हदसम्म अनुकरणीय पनि ।
पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाताको ५० लाखे उपचार खर्चको विरोधमा लालबाबुुको रु. १ दानको सहायता सुजातालाई रकम दिने प्रधानमन्त्री प्रचण्डका लागि त व्यंग्य र विरोध हो नै । तर यो लालबाबु दान आफैँले आफैँ वा आफ्नो पार्टीका सरकारी सुविधा लिने नेताहरुमाथि गरेको विरोध भने होइन । देश साक्षी छ, सरकारका फाइलहरु खुल्ला किताबजस्तै छन् कि एमालेका अध्यक्ष, पूर्वप्रधानमन्त्री केपी ओली सरकारबाट डेढ करोड बढी सरकारी सहायता लिने वरिष्ठ राजनीतिज्ञ हुन् । ओलीले सुजाताको तीन डबल सरकारी सहायता लिँदा चुपचाप र गुमनाम बनेका लालबाबुले सुजाताको मात्रै विरोध गर्नु कसरी न्यायसंगत भयो त ?

के उतिबेला केपी ओलीले सरकारी ढुकुटीबाट डेढ करोड बढी सहायता लिँदा लालबाबु विदेशतिर थिए र ? लालबाबुका आँखा वा कानमा त्यति बेला कुनै समस्या भएर वा अन्य बिमारका कारणले ओलीले लिएको सहायताबारे मौन बसेका हुन् त ? आफ्ना अध्यक्ष ओलीले सहायता लिने बेला चुपचाप बस्ने अनि सुजाताको बेलामा महादानी बन्ने लालबाबु—प्रवृत्ति त सस्तो लोकप्रियताको छोटे राजनीतिजस्तो देखियो नि ? कि देखिएन त एमालेजनहरु ! लालबाबुका फ्यानहरुले खाँटी जवाफ दिनैपर्ने भो ।


त्यसो त ओलीमात्रै होइन, एमालेका दर्जनौं नेता तथा पूर्वमन्त्रीहरुले पनि सरकारी सहायता लाखौं लाख कुम्ल्याएका तथ्य एकान, दोकान, मैदान भइसक्या छन् । अरु त अरु कुनै रोगै नलागेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नै नाममा जिउँदै हुँदै खडा गराएको झलनाथ प्रतिष्ठान नामक संस्थामा सरकारबाट करोडौं सहायता दिलाएर सत्ताको शक्ति र देशको ढुुकुुटीमाथिको ब्रह्मलुटको पराकाष्ठा देखाइसकेका छन् । यस्तै तत्कालीन एमाले उपाध्यक्ष एवं वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, स्वर्गीय नेता रामनाथ ढकाल, स्वर्गीय नेतृ सहाना प्रधानलगायतका नेताहरुले राज्यकोषबाट लिएको रकमप्रति आँखा चिम्लिने लालबाबुका दिल, दिमाग र दृष्टिहरुले सुजाताको मात्रै विरोध गर्नु त अर्काको आङमा जुम्रा देख्नेले आफ्नो आंगमा भैँसी नदेख्याजस्तो भएन र ?
ठीकै हो, ओली, खनाल वा सुजाताहरु मात्रैले यसरी राज्यको रकममा तर मार्न पाउनुहुन्न । उसो भए अब आफ्ना पार्टी अध्यक्ष ओली र पूर्वअध्यक्ष ओली तथा अन्य वरिष्ठ नेताहरुले लिएको राज्यको रकम फिर्ता गराउन पनि लोकप्रिय नेता लालबाबु पण्डितले नै अभियान किन सुरु नगर्ने त ? सुजातालाई एक रुपैयाँ दान गरेजस्तै एमालेका ओली र खनालहरुले लिएको सरकारी सहायता फिर्ता गराउने अर्को महादान अभियान लालबाबुहरुकै नेतृत्वमा सुरु हुनसक्छ त ? यदि सक्छ भने सुजातालाई लालबाबुको दानहजम होला, नत्र त्यो दानले आफ्नै दलका शीर्ष नेताहरुको अपमान गरेको तथ्य लालबाबु र एमालेहरुको घैँटोमा घाम कहिले लाग्ला त ?
यहाँनेर सुजाताले रकम पाउनु ठीक भनेर पैरवी गर्न खोजिएको हैन । तर एमाले पार्टीका दर्जनौं अनुहारले राज्यको रकम पच पारेको तथ्य कुल्चिएर आफैँ पानीमाथिको ओभानो हुने एमाले द्वैधचरित्र लालबाबु पण्डितजस्ता बेदागी पात्रहरुमार्फत प्रकट हुनुचाहिँ साँच्चै जो चोर उसकै ठूलो स्वर भनेजस्तै हुन पुग्नु विडम्बनापूर्ण हो । एमालेका सबैलाई चाहिने राज्यकै ढुकुकी अनि निशानामा पर्ने सुजाता मात्रै त अमिल्दै हो नि हैन र ? जनताको कामना हो, लालबाबुले एमालेका नेताहरुले राज्यकोषबाट लिएको सबै रकम सरकारी ढुकुटीमा फित्र्ता गराउने महाअभियान सुरु गरुन् । के लालबाबु तयार छन् ? आफ्ना दलका नेतालाई क्षमादन, विरोधी दलकालाई व्यंग्यदान मात्रै त ठीक हैन नि कामकाजी पूर्वमन्त्री लालबाबु पण्डितज्यू ?
 खरीबोट 
Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers