ScotNepal: ८ कक्षा फेल मिलनले जब हार्वर्डमा लेक्चर दिने निम्तो पाए
Loading...
८ कक्षा फेल मिलनले जब हार्वर्डमा लेक्चर दिने निम्तो पाए


विश्वले चिनेसकेको तर नेपालीले नचिनेका ब्यक्तित्व , फोहोर उठाउने मिलन राइको कथा

२०७३ साउन १३ बिहीबार बिहानै सामाजिक सञ्जालमा एक तन्नेरीले अघिल्लो दिन नयाँबानेश्वरमा निकालिएको जुलुसले फ्याँकेका फोहोर र प्लेकार्ड उठाउँदै गरेको तस्बिर सार्वजनिक भएको थियो। सबैतिर संक्रमण र द्वन्द्व चलिरहेको यो समयमा मान्छेको ध्यान आकर्षित हुने फाट्टफुट्ट सानोतिनो काम गरेरै चर्चा कमाउन खोज्ने पनि देखापरिरहेकै छन्।
यो पनि त्यसैको एउटा पाटो होला भनेर खासै ध्यान दिइएन। दिउँसो हुँदा नहुँदै सामाजिक सञ्जालमा यसलाई सार्वजनिक पहिचान बनाएका व्यक्तित्वहरूले पनि सेयर गर्न थाले। त्यसपछि के रहेछ भनेर जिज्ञासा जन्म्यो। खोजी सुरु भयो, मिलन राईको। नयाँबानेश्वरमा कोठा भाडा लिएर एक्लै बस्ने उनी बेलुकी मात्र फेला परे।
हामीले खासै नचिनेको मिलनलाई यतिबेला उनको ‘ह्वाइट बटरफ्लाई’ (सेतो पुतली) अभियानका निम्ति संसारभरिका ठूलो सिर्जनशिल घेराले चिन्दै आएको छ।

हावर्डमा लेक्चर दिदै मिलन राई
केही दिनअघि मात्र बेल्जियमको ब्रसेल्समा आक्रमण हुँदा त्यहाँ शान्तिको आह्वानमा सेता पुतलीहरू प्रयोग भएका थिए। त्यतिबेला ब्रसेल्सस्थित स्टक एक्सचेन्ज भवनको भित्तामा मिलन राईकै सिर्जनाका पुतली उडाइएको थियो। ‘गार्डियन’ लगायत युरोपका महत्वपूर्ण अखबारहरूले त्यससम्बन्धी समाचार पहिलो पृष्ठमै प्रकाशित गरेका थिए। इन्स्टाग्राममा ‘ब्रसेल्स अट्याक’ भनेर खोजियो भने मिलन राईका पुतली प्रयोग भएका तस्बिर फेला पर्छन्।
‘बेल्जियम मात्र होइन,’ मिलन भन्छन्, ‘संसारका ४० वटा मुलुकका बेग्लाबेग्लै भावनामा मेरा पुतली प्रयोग भइसकेका छन्।’
अफ्रिकाका नामै नसुनिएका मुलुकमा समेत उनको पुतली प्रयोग भइरहेका छन्। आफू कहिल्यै नपुगेका ठाउँमा आफ्नो सिर्जना यसरी पुगिरहेको र अझ बढी त्यसले त्यहाँको सामाजिक अभियानमा काम गरिरहेको देख्दा मिलन दंग पर्छन्। यसरी फेला पर्ने तस्बिरहरू उनी फेसबुकमा पोस्ट गर्न छुटाउँदैनन्।
‘कसैले आन्दोलनमा प्रयोग गर्छन् त कसैले शान्तिको आह्वानमा,’ मिलन भन्छन्, ‘प्रेमको निम्ति पनि पुतलीको प्रयोग भइरहेको छ।’
संसारभरि पुतली उडाउँदै गरेका मिलनले छोटो अवधिमै चर्चाभन्दा बाहिर रहेर मुलुकभित्र र बाहिर सामाजिक क्षेत्रमा उल्लेख्य काम गरिसकेका छन्। त्यसको उल्लेख गर्नुभन्दा पहिले बिहीबारको घटना– खासमा नयाँबानेश्वरमा फोहोर टिप्ने मात्र उनको उद्देश्य थिएन। त्यो त नगरपालिकाले नै सफा गरिहाल्थ्यो। मिलन त त्यो सबै फोहोर जम्मा गरेर माइतीघर मण्डलामा थुपार्ने र त्यसमाथि चिताजस्तो बनाएर पल्टने योजनामा थिए। त्यो एक खालको प्रतीकात्मक अभिव्यक्ति हुने थियो। हामीले फाल्ने फोहोरहरूले अन्ततः हाम्रै विनाश गर्छ भन्ने सन्देश जाओस् भनेर मिलन त्यसको कलात्मक प्रस्तुति दिन चाहन्थे।

विश्वप्रसिद्ध प्राध्यापक नाेम चाेम्स्कीका साथमा अाफ्नाे सिर्जनाकाे पुतली बाेकेर मिलन
बुधबारको जुलुसले फालेको त्यत्रो फोहोर देख्दादेख्दै वास्तै नगरेर हिँड्ने सहरबासी उनलाई ‘निन्द्रामै हिँड्छन् कि क्या हो?’ भन्ने लागेको थियो। त्यसैले मानिसलाई ब्युँझाउने उनको उद्देश्य थियो।
बिहीबार उनी पाँचै बजे उठेर गए। प्लास्टिकका बोतल, खैनीका प्याकेट र नारा लेखिएका प्लेकार्ड टिप्न थाले। छ बजे त्यस ठाउँमा नगरपालिकाका स्विपरहरू पनि आउन थाले। त्यसपछि चाहिँ मिलनको अप्ठेरो सुरु भयो। उनले थुपारेका सबै फोहोर ती स्विपरले बेग्लाबेग्लै ट्रक र कन्टेनरमा हालिदिए। उनीहरूको कामलाई रोक्नु पनि उचित लागेन। मिलनले उल्टो सहयोगै गरे र अन्तिममा माइतीघर पुगेपछि सबै स्विपरलाई आफ्नै खर्चले खाजा खुवाएर विदा गरे।
फर्किएर आएपछि उनले त्यसका फोटो फेसबुकमा सेयर गरे। त्यो भाइरल भयो।
त्यतिञ्जेलसम्म ठीकै थियो। तर, जब उनको उद्देश्य बुझ्दै नबुझेर समाचारहरूमा उल्लेख हुन थाल्यो, उनलाई चित्त दुख्यो।
‘मान्छेले कुरै नबुझेर यसलाई भोला रिजालको विरोध गरेको भनेर परिभाषित गरिदिए,’ उनी भन्छन्, ‘यो त मेरो फोहोरविरोधी र सभ्यता पक्षधर सोचाइ पो थियो। त्यसलाई संकुचित बनाइयो।’
उनका अनुसार त्यो काम कुनै व्यक्तिविशेषको विरोधमा थिएन। यसलाई त्यस रूपमा व्याख्या गर्दा त्यसले अर्को नकारात्मकता जन्माउँथ्यो, जुन मिलन कदापि चाहँदैन थिए।
मिलन मूलतः कलाकार हुन्। उनी पेन्टिङ गर्छन्। तर, कहिल्यै कतै यससम्बन्धी तालिम वा अध्ययन गरेका छैनन्। न त उनी नेपालभित्र कलाकारहरूको सर्कलमा भिजेकै छन्।
यस्तै अवस्थामा सन् २००७ मा भारतमा आयोजना भएको एउटा पेन्टिङ प्रतिस्पर्धामा उनले भाग लिएका थिए। क्यामेल आर्ट फाउन्डेसनको त्यो प्रतिस्पर्धामा नेपालबाट अन्य कलाकारको पनि सहभागिता थियो। उनले नेपालमा पहिचान बनाएका सहभागी केही कलाकारको नाम पनि सुनाए।
त्यो प्रतिस्पर्धामा दुईवटा विधा छुट्याइएको थियो। मिलनले सुरुमा ‘स्टुडेन्ट’मा भर्न खोजेका थिए। तर, त्यसका निम्ति अध्ययन गरेको संस्थाको नाम दिनुपथ्र्यो। उनीसँग थिएन। जे पर्ला पर्ला भनेर व्यावसायिक कलाकारहरूको निम्ति छुट्याइएको विधामै भाग लिइदिए।

भुइँचालाेलगत्तै टुँडिखेलमा अाश्रितहरुका निम्ति शौचालय बनाउँदै मिलन।
जब फारम भरेको दुई महिनामै प्रोफेसनलमै उत्कृष्ट दसमा परेको खबर आयो, उनी चकित परे। ‘लाइट’ शीर्षकमा सेमी एब्स्ट्रयाक्ट पेन्टिङ थियो त्यो। त्यसको केही सातापछि त झन् उनी प्रथम नै भएको खबर आयो। त्यसको प्रदर्शनी पटनामा भएको बेला उनी पनि पुगेका थिए।
त्यसपछि हौसिएर मिलनले काठमाडौंमा प्रदर्शनी गरे।
‘पेन्टिङ त राम्रै बिक्री भयो। तर, मलाई कहाँ चित्त बुझेन भने कति थोरै घेरा छ यहाँ पेन्टिङ हेर्नेहरूको। सानो घेराकै मानिस दोहोरिइरहेका हुन्छन्। किन्नेले किनेर लगेपछि सिद्धियो। सडकमा रहेका आममानिसको पहुँचभन्दा कति पर छ पेन्टिङ। मलाइ ग्यालरी साँघुरो लागेपछि यसलाई ठेलेर निस्कन मन लाग्यो।’
त्यसपछि उनले प्रत्यक्ष साँगीतिक कार्यक्रम गर्ने रेस्टुरेन्टहरूमा गएर उनीहरूको संगीत सुन्दै लाइभ पेन्टिङ थाले। अलिक फराकिलो जमात त भयो। तर, फेरि पनि हुनेखानेको पहुँचमै सीमित भइयो।
‘त्यसपछि म एउटा अर्को अभियानमा लागेँ। जो जो भेट हुन्छ सबैसँग इयरफोन माग्दै हिँड्ने। यसरी मैले एक वर्षमा चार हजारवटा इयरफोन जम्मा गरेको थिएँ।’
त्योबेला मिलनका निम्ति ती इयरफोन वस्तु मात्र नभएर उनलाई सुम्पने हजारौं मानिसको जीवनसँग अन्तरंग जोडिएको साधन थियो। कसैले कुनै समय मिठो गीत सुनेका होलान् त कसैले आफ्नो प्रेमीसँग संवाद गरेका होलान्।
‘यस्तो महत्वको कुरामा धेरै फिलिङ डिपोजिट भएको हुन्छ,’ मिलन भन्छन्, ‘त्यसलाई मैले आममानिसका आवाज नसुनिएको बेला समाज र राजनीतिसँग जोड्दै कलात्मक प्रदर्शनी गर्न खोजेँ।’
ती चुपचाप इयरफोनहरू प्रस्तुत गरेर मान्छेको मनमा चर्को ध्वनि निकाल्न चाहन्थे उनी। उनले प्रतिस्थापन कलाका निम्ति माइतीघर मण्डला छनौट गरे। तर, महानगरपालिकाले त्यहाँ प्रदर्शनको अनुमति नै दिएन।
अब के गर्ने? घोरिँदा घोरिँदै एक दिन सातदोबाटोस्थित उनको स्टुडियोमा छेवैमा पुतली आएर बस्यो। सुरुमा त्यति वास्ता गरेनन्। रमाइलो लागेपछि एकछिन त्यता हेरे। हेर्दाहेर्दै एउटा गजबको आइडिया दिमागमा जन्मियो।
‘त्यति सामान्य चिजले पनि गजबसँग ध्यान आकृष्ट गरिरहेको थियो,’ उनले भने, ‘हामी अभिव्यक्त गर्न जटिल तरिका खोज्छौं, जबकि सामान्य चिजबिजले कति गहन अर्थ दिइरहेका हुन्छन्।’
उनले कागजको पुतली बनाए र एउटा सार्वजनिक स्थानमा रुखको ठुटामा लगेर टाँसे। भोलिपल्ट गएर हेर्दा मान्छेले फ्याँकिसकेका रहेछन्।
‘मैले मनमनै उडेर गएको कल्पना गरेँ र निरन्तर फरक फरक ठाउँमा राख्दै गएँ,’ उनले थपे, ‘मलाई हरेक नयाँ ठाउँमा मेरो पुतली बसेको देख्दा आनन्द लाग्थ्यो।’
एउटा विन्दुमा गएर उनीसँग भएको सबै पैसा सकियो। त्यसपछि कहाँबाट अगाडि बढाउने? उनी ‘स्पोन्सर’ खोज्न गए। तर, सबैले हाँसेर उडाइदिए।
उनले आफ्ना पुतली र त्यसका उडानलाई फेसबुकमा राख्न थाले। यो लगाव देखेर फेसबुक प्रयोगकर्तामध्येबाटै थोरै थोरै लगानी जुट्न थाल्यो। उनी थप उत्साहित भएर सिँढी बोकेरै पुतली टाँस्दै हिँड्न थाले। सात–आठ महिनापछि त युरोपतिरबाट समेत उनको कामको प्रशंसा आउन सुरु भयो। उनीहरूले मिलनसँग पुतली माग्न थाले। स्कटल्यान्डबाट मागे, बेलायतबाट मागे।
त्यसपछि त जर्मनीबाट मिलनलाई निम्ता नै आयो। युरोपका धेरै मुलुकमा पटकपटक बोलाए। उनले ती ती स्थानमा गएर पुतलीको उडान भरिदिए। त्यसपछि अमेरिकाबाट पनि बोलाए।
उनी जहाँ जाँदा पनि सुटकेसभरि पुतली बोकेर हिँड्थे र सबैतिर प्रदर्शन गर्थे।
‘दुई महिनाअघि दोस्रोपटकको मेरो अमेरिका भ्रमण विशेष थियो,’ उनले भने, ‘हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरूसँग अन्तक्र्रिया र उनीहरूलाई लेक्चर दिन मलाई बोलाइएको थियो।’
उक्त विश्वविद्यालयले कलाकारहरूका निम्ति गरेको खुला आह्वानमा प्रतिस्पर्धाबाट उनी छनौटमा परेका थिए। कलालाई ग्यालरीमा राख्नेभन्दा यसले समाजमै कसरी परिवर्तनमा सघाउ पुर्याउँछ भन्नेबारे विश्वभरिका कलाकारलाई त्यो खुला निमन्त्रणा थियो। दक्षिण एसियाबाट त्यो प्रतिस्पर्धामा मिलनले जित हासिल गरे
त्यतिबेला हावर्डका फेकल्टी विद्यार्थीहरूलाई लेक्चर पनि दिनुपर्ने थियो। एक साताको त्यो कार्यक्रममा मिलनलाई प्रत्येक लेक्चरको पारिश्रमिक एक हजार डलर दिइएको थियो।
‘जबकि म कहिल्यै कसैसँग कलाकारिता सिक्नु त परको कुरा, आठ कक्षा पढ्दा सधैं फेल भएर पढाइ छुटेको मान्छे हुँ।’
मिलनले यो वाक्य पूरा गर्नेबित्तिकै म अवाक् भएको थिएँ।
‘हो, म स्कुल ड्रपआउट हुँ,’ उनले मुसुक्क हाँस्दै थपे, ‘त्यो पनि लाजमर्दो पाराले ड्रपआउट।’
त्यसपछि म उनको व्यक्तिगत विवरणबारे जान्न उत्सुक भएँ।
मूलघर भोजपुरमा जन्मेका उनी धरानका स्थायी बासिन्दा रहेछन्। बुवा ब्रिटिस गोर्खा सैनिक भएकाले हङकङमा बस्थे। त्यसैले मिलनको प्रारम्भिक बाल्यकाल हङकङमै बित्यो। आठ वर्षको हुँदा उनी फर्केर धरान आए।
‘त्यसपछि केही वर्ष त सामान्य नै बित्यो,’ उनी भन्छन्, ‘आठ कक्षा भने मरिगए छिचोल्न सकिनँ।’ पढ्दै नपढ्ने विद्यार्थी भएकाले धरानमा जुन स्कुल जाँदा पनि ‘रेस्टिकेट’ हुन थालेछन्। अन्ततः लाज लागेर स्कुल र सहर दुवै परिवर्तन गरे। काठमाडौं आए। यहाँ आएर न्यू मिलिनियम हाइस्कुलमा नौ कक्षामा भर्ना गरिए।
उनका अनुसार भर्खर खुलेको त्यो स्कुलले आठ फेल विद्यार्थीलाई पनि नौ कक्षामा लिन तयार भइदिएको थियो। तर, उनी त्यो पनि फेल भए। नौ कक्षामै दुईवटा विषयमा फेल भए पनि स्कुलले उनलाई दसमा पुर्याइदियो।
‘एसएलसी त दिन पाइन्थ्यो,’ मिलन भन्छन्, ‘तर, यो बेकारको सास्ती उठाउन मनलागेन र दिँदै दिइनँ।’
आफूले पढेनन् भन्दैमा अरू भाइबहिनीलाई पढ्नु हुँदैन भनेर चाहिँ उनी कदापि सल्लाह दिँदैनन्।
‘मेरो व्यक्तिगत केसमा पढाइलाई जुन हिसाबले डेलिभर गरिएको (सिकाइएको) थियो त्यो ख्वै किन हो रेजुनेट (प्रतिध्वनित) नै भएन,’ उनी भन्छन्, ‘तर, पढाइ मानिसको निम्ति लाइफलाइन हो।’
एकोहोरो बानीले आफूलाई चाहिँ एकसुरमा हिँडाइ रहेको ठान्छन् उनी।
चार जनाको परिवारमा बुवा, आमा र भाइ बेलायतमै बस्छन्। मिलनलाई काठमाडौं छाडेर अन्त जाने मन कहिल्यै लागेन।
उनी घरि रेलिङ भाँचिएको थापाथलीको बागमती पुल रंग्याएर खतरनाक देखाइदिन्छन् त घरि मधेसमा प्रदर्शनकारीको हत्या भइरहँदा प्लास्टिक ओढेर रत्नपार्कमा प्रतीकात्मक प्रदर्शन गर्छन्। त्यसैगरी खुलामञ्चको ‘डोम’मा सातवटा खण्ड देखेपछि त्यसमा इन्द्रेणीको रंग भर्ने कल्पना पनि उनी नै गर्छन्। नेताहरूले भाषण गर्ने त्यो फुस्रो ठाउँमा आफूले इन्द्रेणीको रंग पोत्न खोज्दा नगरपालिकाले नदिएपछि आधारातमै साथीहरूसहित गएर रंग्याइदिएको घटना सम्झँदा अहिले पनि उनलाई रमाइलो लाग्छ।
आजभोलि ठूला नेताहरू त्यही इन्द्रेणीमुनि बसेर भाषण गरिरहेको देख्दा उनलाई आनन्द लाग्छ। जाबो रंगले पनि कति फरक पार्छ भन्ने यी उदाहरण रहेको उनी सुनाउँछन्।
चक्रपथ विस्तारका बेला १२ सयवटा रुख काट्न लागेको थाहा पाएपछि त उनले ती सबैमा लगेर पुतली मात्रै टाँसेनन्, साथीहरूसँग मिलेर चिनियाँ दूतावास र सडक विभागमा विरोध पनि प्रकट गरे। बल्लतल्ल २५ प्रतिशत रुखहरू बाँचेकामा उनलाई थोरै भए पनि सन्तुष्टि मिल्छ।
यसरी एकसुरमा हिँडेका मानिसको मन केही वर्षयता पुतलीमै गएर अडिएको छ। पहिला कैंचीले काटेर बनाउँथे। रातभरिमा दुई–तीन सयवटासम्म बन्थ्यो। हिजोआज मेसिनले नै गर्ने गरी डाई तयार भएको छ। अर्डर गर्नेबित्तिकै एकैपटक दस हजारवटा बनेर आउँछ।
देश–विदेशका मानिस उनीसँग पुतली माग्न आउँछन्। कसैकसैले बोकेर अन्यत्र लगिदिन्छन्। बाँडिदिन्छन्।
यसरी फैलँदै गएको पुतली विभिन्न अभियान र परियोजनामा प्रयोग भएपछि उनका बारेमा जिज्ञासा पनि उठ्छ। त्यसैले हफिङटन पोस्ट, मिरर, गार्डियनलगायत थुप्रै विश्वप्रसिद्ध अखबारमा उनका बारे फिचर छापिइसकेका छन्।
‘पोहोर भुइँचालोमा काम गर्दा त विदेशीहरु आएर मेरो बारेमा सानो वृत्तचित्र पनि बनाएका थिए,’ उनले भने, ‘अपवर्दी च्यानलबाट त्यो सार्वजनिक भएको थियो।’ त्यो च्यानलको पहुँच सामाजिक सञ्जालमा असाध्यै धेरै छ। त्यसपछि त नामै नसुनेका देशहरूबाट समेत मानिस ले उनलाई सम्पर्क गर्न थालेका छन्।
के गरे र उनले भुइँचालोमा?
‘सयौं शौचालय बनाएँ’
कसरी? कहाँ?
‘भुइँचालोलगत्तै म सबैभन्दा पहिले हजारौं मानिस शरण लिइरहेको टुँडिखेल पुगेको थिएँ,’ उनले आफ्नो कामको नया अध्याय उघार्न थाले, ‘त्यहाँ शौचालय नभएर मानिसलाई आपत परिरहेको थियो।’
टुँडिखेलमै अलि दिनअघि रामदेवको योगा क्याम्प चल्दा केवल पिसाब फेर्न बनाइएको चारवटा ठाउँ पनि भरिएर बिजोग थियो। महिलाहरूले शौचालय जान मध्यरात पर्खने गरेको सुनाएपछि मिलनलाई भाउन्न भएर आयो।
‘साधनस्रोत केही नभए पनि भोलिदेखि आफू आउने र मिलेर केही गर्ने उनीहरूलाई सुनाएँ,’ मिलनले थपे, ‘त्यसपछि भोलिपल्टै तीन जना साथीहरू मिलेर बाँस र त्रिपाल खोज्न सुरु गर्यौं।’
उनीहरू तीन जनामा एक जना अस्ति सिंहदरबारमा रातो रंग फ्याँक्ने इसान पनि थिए। त्योबेला त्रिपाल र बाँसजस्ता कुराको माग असाध्यै बढी थियो।
‘त्यसमाथि हामीसँग त पैसा पनि थिएन,’ उनी भन्छन्, ‘मान्छे पैसा तिरेरै किन्न तछाडमछाड गरेपछि मेरो पालो त्रिपालको बण्डल समातेर छाड्दै छाडिनँ र अर्को साथीलाई पैसा खोज्न पठाएँ।’
पैसाको बन्दोबस्त भयो। एक सय १० वटा बाँस पनि त्यसैगरी किने।
टुँडिखेल पुगेपछि त्यहाँ उनीहरूलाई सघाउन छ–सात जना भाइबहिनी मिसिए। ज्यावल केही थिएन। छेवैमा मुख्यालय रहेका सैनिकसँग माग्न गए पनि केही छैन भनेर पठाए। सामान्य माटो खन्ने घरेलु साधन प्रयोग गरेरै खोस्रन सुरु गरे।
‘यता फेसबुकमा पनि पोस्ट गर्यौं,’ उनी भन्छन्, ‘त्यसपछि त कुटो, कोदालो र बेल्चा लिएर साथीहरू आइपुगे।’
आफूहरू अबेर रातिसम्म काम गरेको देखेपछि भने छेवैको सैनिक मुख्यालयबाट कर्नेल स्वयं उनीहरू काम गरिरहेको ठाउँमा आइपुगे। उनले पछि सेनाहरू पठाएर मिलनको टिमलाई सघाउन लगाएछन्। यसरी काम छिटो भयो।
‘भुइँचालोको दोस्रो दिनमै टुँडिखेलमा ४५ वटा शौचालय हामीले उभ्याइसकेका थियौं,’ उनले सुनाए, ‘त्यतिञ्जेल हामी ६५ जना साथी भइसकेका थियौं भने उता फेसबुकमा असाध्यै धेरै साथीहरूमाझ यो कुरा फैलिसकेको थियो।’
यसरी सहयोगका हात पनि बढ्न थाले। मानिसहरू पनि ‘यिनीहरूले शौचालय बनाउँछन्’ भन्ने थाहा पाएर ओइरिन थाले। शौचालय बनाउन धेरै पैसा चाहिँदै चाहिँदैन थियो। मिलनलाई उनको काम देखेपछि आमाबुवा र चिनजानका मानिसले पनि पैसा दिएर सहयोग गरेका थिए। त्यसमाथि स्वयंसेवा गर्न थप तन्नेरीहरूले पनि पैसा मिलाउन थाले। फेसबुकबाटै धेरैले आर्थिक सहयोग दिन खोजे पनि उनीहरूले त्यसमा धेरै ध्यान दिएनन्। आवश्यकै परेन।
त्यसपछि उनीहरूले यो कामलाई ‘ट्वाइलेट डायरिज’ नामकरण गरेर एउटा अभियानकै रूप दिए।
‘हामी गाउँ–गाउँमा शौचालय बनाउन गयौं,’ उनी भन्छन्, ‘मकवानपुर, धादिङ, काभ्रे, सिन्धुपाल्चोकका थुप्रो गाउँमा हामीले बनाएका शौचालय उभिए।’
यसै क्रममा सिन्धुपाल्चोकको फटकशिला गाउँमा त दसवटा कोठाको स्कुल भवन नै उनीहरूले तयार पारिदिए। त्यो स्कुल बनाउन मिलनलाई बेलायतका पेन्टरहरूले पैसा उठाएर सहयोग गरेका रहेछन्।
‘मान्छेमा अठोट, इमानदारी र लगनशिलता भयो भने जे पनि सम्भव हुँदो रहेछ,’ मिलन भन्छन्, ‘खाने मुखलाई जुँगाले छेक्दैन रहेछ।’
साभार – साउन १४ को सेतोपाटीबाट
१० कार्तिक २०७३
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers