ScotNepal: छोरीको शव बुझ्न आमा आइन्
Loading...
छोरीको शव बुझ्न आमा आइन्

होम कार्की , काठमाडौं

विमानस्थलमा छोरीको शव लिन पुगेकी कल्पना नेपाली । साथमा छोरीको शव। इराकमा आत्महत्या गरेकी अन्जना ।

आश्विन १६, २०७३- मान्छेलाई आपत परेको बेला अर्को आपत आइपर्छ भन्छन् ।

कल्पना नेपाली माथि पनि यस्तै आइपर्‍यो । चार दिन अघि मात्रै श्रीमान बितेको खबर पाएर कल्पना पोखराबाट कागबेनी, मुस्ताङमा पुगेकी थिइन् । कागबेनी पुगेर श्रीमानको अन्तिम दाहसंस्कार गर्न नपाउँदै उनले इराकबाट अर्को खबर पाइन्, ‘अन्जनको शव शुक्रबार बिहान ७ बजे त्रिभूवन विमानस्थलमा आइपुग्दैछ । लिन जानुहोला ।’



अन्जना नेपाली उनको जेठी छोरी थिइन् । २९ वर्षीया अन्जनाले इराकको स्वशासित राज्य कुर्दिस्तानमा चार महिना अघि १३ मेमा आत्महत्या गरेकी थिइन् ।  २२ जनवरी २०१२ अन्जना घरेलु कामदार (हाउसमेड) को काम गर्न इराक पुगेकी थिइन् । मालिकको घर छाडेर बाहिर काम गर्न थालेको दुई बर्ष भएको थियो ।

शव पठाउने जिम्मेवरी कसैले लिएको थिएन । स्पोन्सर भन्थे,‘घरबाट भागिसक्यो पछि म किन शब पठाउने ?’ नेपाल सरकारले अन्जनालाई अबैध देख्थ्यो, ‘उनी श्रम स्वीकृति लिएर गएको होइन । फेरी इराकमा जान प्रतिबन्ध छ ।’ आफ्नै खर्च हालेर शब ल्याउन सार्माथ्य कल्पनाको थिएन । किनकि शब ल्याउन झन्डै चार हजार डलर लाग्थ्यो । चार महिनापछि इराकस्थित गैरआबासीय नेपाली संघले आर्थिक सहयोग जुटाएर अन्जनाको शब नेपाल पठाइदियो ।

........ 
कागबेनीबाट तुरुन्तै काठमाडौं आउने सम्भब थिएन । उनले पोखरामा रहेका आफन्त यमबहादुर बिश्वकर्मालाई काठमाडौं पठाइन् । आफु पोखरामा जसरी पनि आइपुग्ने बताइन् । कागबेनीबाट उनी दिनरात गरेर शुक्रबार बिहानै बेनी आइपुगिन् । बेनीबाट पोखरा आइपुग्दा थाहा भयो कि,‘अन्जनाको शब ल्याउने जहाज १२ बजे मात्रै काठमाडौं आइपुग्ने रे ।’

आमाको मन न हो । मन कहाँ रोकिन्थ्यो र ? पोखराबाट जहाज चढेर आफै काठमाडौं ओर्लिन् । त्यतिन्जेलसम्म बिमानस्थलमा शब आइपुगेको थियो ।

त्रिभुबन बिमानस्थलबाट बाहिर शब निकाल्न आबश्यक प्रक्रिया त यमबहादुरबाटै पुरा गरे । शब पनि बाहिर निकाल्ने भइयो । तर, त्यतिखेर मात्रै कल्पनालाई याद भयो कि पोखरासम्म लैजान गाडी चाहिन्छ । ५५ बर्षिया कल्पनालाई अर्को कठिनाई आइपर्‍यो । बिमानस्थलभित्रका कर्मचारीले भनिदिए,‘बिदेशमा मृत्यु भएकाको शब लैजान बोर्डले गाडी ब्यबस्था गरिदिन्छ । त्यता बुझ्नुहोला ।

यमबहादुरले वैदेशिक रोजगार प्रर्बधन बोर्डमा फोन गरेर सोधे । बोर्डले फोनमै भनिदियो,‘श्रम स्वीकृति नलिई बिदेश गएकाको शबलाई घरसम्म पुर्‍याउन मिल्दैन ।’ 

तनाबमा भएकी कल्पनलाई रीस उठ्नु स्वभाबिक थियो,‘छोरी मर्दा त केही भएन । जसो तसो शब आइपुग्यो । यहाँ आइपसकेपछि जसरी पनि लैजान सकिन्छ नी ।’ 

उनीहरुले बिमानस्थलमै डिउटीमा बसेका प्रहरीलाई सहयोग मागे  । प्रहरीले शब लैजाने एम्बुलेन्सको नम्बर थिए । त्यस एम्बुलेन्सले १३ हजार रुपैया भाडा लाग्ने बतायो । कल्पनासँग पैसा थिएन । यमबहादुर आफैले रकम जुटाए । १२ बजे आइपुगेको शब बिमानस्थलबाट निकाल्दा ३: १० भएको थियो ।

शबको साथमा कल्पना, उनकी देउरानी, ज्वाई पोखरातिर लागे ।

...........
घरकी एकमात्रै साहरा अन्जना थिइन् । इराक जानु अघि अन्जनाले कुबेतमा चार बर्ष हाउसमेडको काम गरेकी थिइन् । कुबेतबाट नेपाल फर्केपछि त्रिभूवन विमानस्थलबाटै इराक उडेकी थिइन् ।

‘बाउ र छोराको भर थिएन । उसकै भरमा घर चलेको थियो,’ उनले भनिन्,‘त्यसैले पनि संसार छोडेर गई ।’ कल्पना अन्जनाले आत्महत्या गरेको स्वीकार गर्दिनन् । ‘होटलमा काम गर्थी । सबै राम्रो थियो । कहिले दुखको कुरा सुन्नु परेको थिएन’, भनिन,‘मेरो छोरीलाई मारेको हुनुपर्छ ।’

छोरीको शब आफैले ल्याउन नसक्ने अबस्था भएपछि उतै गाडिन्छ भन्ने उनलाई लागेको थियो । ‘ल्याइदिने कसैले बचन दिएको थिएन । मैले केही गर्न सकेको थिइनँ’, भनिन्,‘छोरीको अन्तिम अनुहार हेर्न पाइन्छ भन्ने आश गरेको थिइनँ । भगवानले छोरीलाई देख्ने इच्छा पुरा गरिदियो ।’

इराकमा नेपाली दुताबास छैन । सरकारले प्रतिबन्ध लगाएको देश भने पनि २५ हजार नेपाली पुगिसके । त्यसमा ८० प्रतिशत त महिला नै छन् । पाकिस्तानस्थित नेपाली दुताबासबाटै इराक मामिला हेर्दै आएको छ । शब पठाउनका लागि पनि गैरआबासीय नेपाली संघबाट दुताबास र इराकी निकायबीच  समुन्वय भयो ।

अन्जनाको शब अर्बिलस्थित अस्पतालमा थियो । अस्पतालमा शब राखे बापत दैनिक १२ डलर शुल्क लिन्थ्यो । शवको विषय अस्पतालको प्रशासनमा एनआरएनबाटै चासो राख्दै आएपछि अस्पतालले पनि छिटो शब लैजाना दवाव दिदै आएको थियो ।

एनआरएनका अध्यक्ष खेमप्रसाद पौडेल र पूर्वअध्यक्ष लालकाजी गुरुङ एउटा कम्पनीका म्यानेजर पदमा कार्यरत छन् । शब पठाउन उनीहरुकै सक्रियतामा काम अगाडि बढ्यो । आबश्यक कागजात बनाउन इराकको स्वास्थ्य र  कानुन मन्त्रालय धाउन थाले । प्रहरीले आत्महत्या गरेको प्रमाणीत कागजात नै दिएपछि शब पठाउने प्रक्रिया अगाडि बढेको थियो । दुताबासले शब पठाउन चाहिने पत्र पठाइदियो ।

‘शव पठाउन चार हजार डलरसम्म खर्च लाग्थ्यो । हामीले अन्जनाको परिवारबाट यो खर्च ब्यहोर्न नसक्ने भएको जानकारी पाएपछि कार्गोले छुट दियो । अस्पतालले सबै शुल्क मिनाहा गरिदियो,' पौडेलले भने,‘इराकमै भएका नेपाली समुदाय तथा संस्थाबाट आर्थिक संकलन भयो । ३२ सय डलर खर्च गरी अन्जनाको शब पठाउन सफल भयौं ।’  
  
..........
इराकबाट सिधा उडान नेपाल छैन् । उनको शब बुधबार बिहान ५ बजे नेपाल पठाइएको थियो । ढिलै भएपनि शब इराकबाट इरान-ओमन-लखनउ हुँदै काठमाडौं आइपुग्यो । ‘शवलाई पोखराको बिरौटामा पुर्‍याउनुछ,' शब एम्बुलेन्समा हालेपछि कल्पना भन्दै थिई, ‘अस्ती बाऊलाई जलाउनुपर्‍यो । भरे छोरीलाई जलाउनुपर्छ । बाऊ-छोरीको सँगै किरिया गर्नुपर्ने कर्म लिएर आएकी रैछु ।’

रातो सलले आँखामा बगेको आँशु पुछ्दै कल्पना एम्बुलेन्सभित्र राखिएको बाकसको छेउमा गएर बसिन् । कल्पनाको मनभित्र उम्लिरहेको पीडालाई मलम लगाउने औषधी सरकारसँगै कतै थिएन । किनकि सरकारको नजरमा अन्जना गैरकागजात बिहिन कामदार हुन् । जो अबैध भएर इराक जानुको परिणाम भने कल्पनाले भोगिरहेकी छिन् । 
- कान्तिपुर 
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers