ScotNepal: देश बचाउन अब जनताले नै राजसंस्था फर्काउनु पर्छ: रमा सिंह
Loading...
देश बचाउन अब जनताले नै राजसंस्था फर्काउनु पर्छ: रमा सिंह


ramaji
रमा सिंहको जीवन एकाधका लागि ईर्ष्यालाग्दो छ, तर धेरैका लागि प्रेरणादायी । पहिलो टेलिभिजन समाचारवाचिका उनी टेलिभिजनकी छोरीको रुपमा सुपरिचित छिन । पहिलो महिला फुटवल टिमकी कप्तान उनी राखेप र एन्फामा नेतृत्व दिने सफल खेलाडी र खेल नेता पनि हुन । तर उनको जीवन खुल्ला किताव जस्तै छ । उनी कट्टर राजावादीका रुपमा देशमा राजसंस्था फर्काउने अभियानमा आफ्नै तरिकाले सक्रिय छिन । आफ्नै स्वभाव र शैलीकी सिंहसंग खरीवोट डटकमका लागि एसवी खड्काले गरेको कुराकानीमा उनी निकै प्रष्टवत्ताका रुपमा प्रस्तुत भएकी छन ।

तपाई त देशकै पहिलो सरकारी टेलिभिजन नेपाल टेलिजिनकी छोरी, नेपालमा टेलिभिजन सुरु गर्ने टीमकी एक संस्थापक सदस्य, उत्कृष्ट प्रस्तोता, पत्रकार । एकाएक ओझेल पर्नु भो किन होला ?

सरकारी टेलिभिजन नेपाल टेलिभिजनकी मात्रै छोरी हैन म । मैले त आफुलाई नेपाली टेलिभिजनकी छोरी भन्ने गरेकी छु । यसको राज पछि खोल्ने छु । रह्यो कुरा ओझेलमा परेको सन्दर्भमा भने मान्छे परिस्थितिको दास हो । परिस्थितिसंग सिंगौरी खेल्दै अगाडि बढ्ने क्रममा बनबास पनि जानुपर्ने हुदोरहेछ । समयको कुरा हो । समयभन्दा बलबान कोहि पनि हुदोरहेनछ । भगवान राम पनि १४ वर्ष बनबास जानु भएको थियो । म पनि अहिले त्यही परिस्थितिको बाटोमा हिड्दै छु । बादलले छेकेको मात्रै हो सूर्यलाई आखिर बादल त केहि बेरपछि हट्नै पर्छ ।

देशैभरका टेलिभिजनबाट त हराउनु भो भो, देशमा पनि बस्नु भएन किन नी ?

देशभरकै टेलिभिजनबाट भन्नु भन्दा पनि म नेपाल टेलिभिजनसंग मात्र सम्बद्ध थिए । जब नेपाल टेलिभिजन छोड्ने मनस्थिति बनाएको थिए, त्यतिबेला निजी टेलिभिजन खोल्ने योजना पनि बनाएको थिए । तर समय र परिस्थिति अनुकुल भएन । किन भने त्यति नै बेला माओबादीले राजाको मान्छे भनेर १ करोड फिरौती माग्यो नभए छोरी अपहरण गर्ने धम्की दिन थाल्यो । म टिभिमा भएको बेलामा घरमा फोन गरेर ९ बर्षको छोरीलाई आमालाई पैसा दिन भन नत्र मारिदिन्छु भनेछ । त्यसपछि छोरीको साइकोलोजी बिग्रदै गयो । मलाई छोरी अपहरण गर्ने धम्की ,छोरीलाई आमा मारिदिने धम्की भन्नुस त कस्तो भयो होला त्यो क्षण ? छोरी मलाई एकछिन पनि छोड्न चाहादीन थिईन् । मैले टेलिभिजन जादासंगै लिएर जान थाले । यहासम्म कि समाचार पढ्न जांदा पनि उनी स्टुडियो भित्रै बस्न थालीन । उनले आफुलाई एकदम असुरक्षित ठान्न थालिन ।
एकपल्ट टेलिभिजनमा समाचार पढ्न तयारी गर्दै मेकअप रुममा थिए । छोरीले मलाई देखिनछिन । अनि पुष्पहरि क्याम्पा राईजीलाई सोधिछिन । पुष्पजीले जिस्किएर मामु त बाहिर जानुभो भन्दा “मेरो मामुलाई अब माओबादिले मार्छ “भन्दै रोएर बबाल गरिन । त्यसपछि मेरो धोती समातेर समाचार पढुन्जेल पनि मसंगै बसिरहिन । यस्ता तनावहरुमा पल पल मारिनुु भनदा टाढिनु ठीक लाग्यो । त्यसबाहेक केहि निजी कारण पनि सहायक बन्यो म विदेशिनुमा !

तपाईको अमेरिका यात्रा, बसाई रहर की वाध्यता वा सौख ?

बाध्यता र रहरभन्दा पनि एक्लो सन्तानको सुरक्षाको लागि भन्न रुचाउछु म । जब ९ बर्षको बच्चाले मानसिक रुपमा सुरक्षाको अनुभूति गर्दैन भने, त्यतिबेला उसको आमाले आफ्नो लागि भन्दा पनि उसको लागि सोच्नु पर्ने हुदो रहेछ । वस म असल आमाको भुमिकामा रहें ।

सांच्चि भन्नुुस त अब स्वदेश फर्किनुहुन्छ की हुन्न ? फर्के कहिले ?

साच्चै भन्ने हो भन्देखि त देशको परिस्थिति हेर्दा नेपालमा कुनै दल बिनाको मान्छे भएर बाच्न सकिन्छ जस्तो लाग्दैन । म नेपालमा साधारण मतदाता भएर बाच्न चाहन्छु । तर राजनैतिक बातावरणले त्यो हुन दिदैन । तपाइँले कुनै राजनीतिक दलको पुच्छर समात्न सक्नु भएन भने तपाइलाई बाद र अपवादमा गिज्ज्याउछन ।
अमेरिका आएपछि मैले थाहा पाए की नेपाल भित्रै बसेर भन्दा नेपाल बाहिर बस्दा देश बुझिदो रहेछ । जति बिदेशमा बस्दा देश दुख्ने र देशको माया लाग्ने रहेछ त्यति नेपालमै बस्दा नहुदो रहेछ । यो कुरा बिदेशिएका अरु दाजुभाई, दिदीबहिनीले पनि भन्नु होला सायद । मलाई मात्रै यस्तो भएको हैन होला । जसले देशको माया मार्न सक्दैन त्यो मान्छे फर्कदैन भनेर सोच्न्नु हुदैन । अब छोरी १५ बर्षकी भईन् । १० मा पढ्दै छिन् । र, अब उसलाई बाबु आमाको संरक्षकत्व कानुनी रुपमा आवश्यक छैन । त्यसैले उसलाई स्थानीय अविभावकको जिम्मा लगाएर मात्रै नेपाल फर्कने योजनामा छु ।


यदि देश फर्कनुभो भने के गर्ने योजनाहरु ल्याउनुहुनेछ ?

मैले अहिलेसम्म जति पनि कार्य गरे बिना योजना नै गरे । म दिमागले भन्दा पनि मनले चल्ने मान्छे हुं । मनको मझेरीमा देशलाई राखेर त्यो मनले जे आदेश दिन्छ त्यही पालना गर्ने मान्छे हुं म । त्यसैले सबै कुरा फर्केपछि मात्रै भन्न सक्छु ।

अनि अमेरिकामा यहांको आवद्धता, व्यस्तता के मा होला भन्न मिल्छ भने….

अमेरिका आउना साथै नयां सिस्टममा भिज्नै केही समय लाग्यो । त्यसपछि मास कमिन्युकेशन पढ्ने कोशिश गरे । तर एक्लो आमा छोरी हेर्नु , छोरीको पढाई ,आफ्नो काम सम्हाल्नु अनि आफ्नो पढाई तालमेल मिलाउन सार्है गाह्रो भयो । साथसाथै भर्खरै देश छोडेको डिप्रेसनको शिकार । अनि त भर्ना भएको कलेज पनि छोडिदिए । र, छोरीको लागि सम्पूूर्ण समय दिनतिर लागे ।
त्यसै वीचमा हामी हेमन्त श्रेष्ठ , आनन्दु लामा ,नबराज श्रेष्ठ र म लगायतका साथीको टीम मिलेर बिशुद्ध नाफारहित संस्था अमेरिका नेपाल टेलिभिजन, सामुदायिक टेलिभिजन खोलेर चलाउन थाल्यौ । त्यसपछि एउटा आफन्तले ग्यांस स्टेसन किन्ने सल्लाह दिए । र, ग्यांस स्टेसन किने । तर नेपालीले नेपालीलाई पाएकी फसाउने र होच्च्याउने ठाऊ रहेछ अमेरिका । पैसाको मामलामा कमजोर आफन्तसंग पैसाको लागि कानुनी लडाई लड्दै छु । र, अहिले यसै के बस्नु भनेर फेसन डिजाइनिङ्ग पढ्न थालेको छु । ब्यस्त भन्ने कि अस्तव्यस्त भन्ने परदेशी जीवनको दिनचर्या यस्तै यस्तै छ ।

यँहा सामाजिक संजालहरुमा निकै कडा रुपमा आफ्ना विचार, अडानहरु राख्नुहुन्छ ? किन ?

किन भन्ने प्रश्नै छैन ! म सार्वभौम राष्ट्रको स्वतन्त्र नागरिक हुं । साथै म “सत्य मेव जयते “ को मूलमन्त्र समेटी जस्तोसुकै गल्ती गरे पनि सत्य बोल्न न छोड्नु भन्ने पारिवारिक संस्कारमा हुर्केको ठकुरीको छोरी हुं । पंचायत कालमा निर शाहको (तात्कालिन हाम्रा हाकिम ) अगाडि त बोल्न डराईन । कृष्ण मल्ल ,लय संग्रौलाजीहरु तपाइँ कस्तो निडर भएर बोल्नु हुन्छ हाकिम साहेबसंग भन्नु हुन्थ्यो ।
अहिले त प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र । खै के के तन्त्र हो के । तन्त्रै तन्त्रको प्रजातन्त्रमा बिचार राख्न डराउनु पर्ने अबस्था म देख्दिन । फेरी आस र त्रास को राजनीतिमा डर हुन्छ ,जसलाई आस त्रास र लोभ छैन त्यो मान्छे कहिँ कसैसंग डराउदैन । मेरा विचार अरुलाई पाच्य नहोला । तर त्यसो भन्दैमा मेरो विचार मार्ने अधिकार पनि कसैलाई छैन, त्यसैले म बोल्न, लेख्न पट्क्कै डराउदीन ।

तपाईका अभिव्यक्तिहरु निकै आक्रामक र खरो लाग्छन । के कारण होला ?

मैले माथि नै भनि सके की म सत्यमा हिड्ने स्पस्टवक्ता हु । कसैले बाङ्गो रुखलाई उ त्यो रुख कस्तो सिधा रहेछ हगी भन्दा ,उसलाई रिझाउन “हो हजुर “ भन्न नसक्ने मान्छे हुं म । मेरो यो स्वभावले सुरुमा मान्छेले मलाई मन पराउदैन्न । तर कालान्तरमा गएर जसले मलाई दुश्मन ठान्थ,े उनीहरु नै अत्यन्त नजिकको मित्र बन्न आउछन । तपाइलाई एउटा उदाहरण दिन चाहन्छु ।
२०६२ र ६३ पछि नेपाल टेलिभिजनको अध्यक्ष पदमा नेपाली भाषाबिज्ञ डा. ऋषिराज बराल ( माओबादी ) आउनु भयो । उँहा आए लगतै मलाई प्रसाशन शाखामा सरुवा गरियो । मैले पनि हाटा ( हाजिर गर्ने टाप कस्ने गर्न थाले ) । उँहाले नेपाल टेलिभिजनको पुरै प्रशासन लगाएर मलाई दिनभरी कार्यालयमा बस्न दबाब दिन थाल्नु भयो । मैले पनि मेरो नियुक्ति समाचार महाशाखासंग सम्वन्धित छ , मलाई बाध्य पारियो भने अदालत जान्छु भने । र, २ वर्ष हाटा मै (हाजिर गर्ने टाप कस्ने ) बिताए । पछि उँहालाई भाषाको गोष्ठीहरुमा जादाखेरी सबैले मेरो बारेमा सोध्दा रहेछन । र, अन्तमा आजित भएर उहांले मलाइ फेरी न्युजरुम सम्हाल्ने र समाचार पनि पढ्न सरुवा फिर्ता गर्नु भो । म फिर्ता त भए तर समाचार पढ़ीन । र, महिनौसम्म समाचार नपढ्दा उहाले मलाई आफै भेटेर भन्नु भयो “ रमा जी कमसेकम राष्ट्रियताको सवालमा हाम्रो धारणा मिल्छ अब हामी मिलेर काम गरौ पुराना मतभेद त्यागौ र अगाडि बढौ “ । त्यसकारण मलाई नचिन्ने मान्छेका लागि म आक्रामक लाग्छ । मलाई चिन्नेका लागि म सहृदयी ।

तपाईको व्यक्तित्व, स्वभाव र अभिव्यक्तिहरु अलि भिन्न हुन भन्ने ठान्छन मानिसहरु । के त्यो सही हो वा गलत ?

समाजमा आफुलाई आफ्नै बलबुतामा स्थापित गरिसकेको मान्छे सबैको व्यक्तित्व, स्वभाव र अभिव्यक्तिहरु भिन्दै नै हुन्छन । तर त्यसमा पनि मेरो झनै भिन्नै देखिन्छ । किनकी नेपालमा आफ्ना सबै राम्रा , अरुका सबै नराम्रामा गनिन्छन तर म नराम्रा भए आफ्ना पनि नराम्रा , राम्रा भए अरुका पनि राम्रा स्पस्ट भनि दिन्छु । अब म सहि हो या गलत मलाई चिन्ने र बुझ्ने हरुले जानेका छन् ।

पछिल्ला दिनमा सामाजिक संजालहरुको सदुपयोग वा दुरुपयोगबारे यहांको अनुुभव, सल्लाह, सुुझाव केही शेयर गरिदिनुहोस न ?

अहिलेको युगमा सामाजिक संजाल भनेको छापा र टेलिभिजनको मिश्रित स्वरूप बन्दै गएको छ । अहिले समाचार प्रवाह गर्न कुनै संचार माध्यम आवश्यक पर्छ जस्तो लाग्दैन । २० वर्ष अगाडि कुनै देशको भिजुअल देखाउन हामीले भूउपग्रह खोज्दै हिड्नु पर्थियो भने अब हातैको फोनबाट हुन्छ । यसलाई पक्ष बिपक्षमा प्रयोग गर्नु भन्दा पनि समाजलाई सही बाटो देखाउन , राजनीतिलाई राष्ट्रिय हितमा प्रयोग गर्न र सत्य उजागर गर्न यसको प्रयोग गर्न सकियो भने हाम्रो जस्तो झुठको खेती गर्ने देशका लागि विकासको राम्रो सम्बाहक बन्न सक्छ जस्तो लाग्छ मलाई ।

तपाई त स्टार पूर्व खेलाडी पनि । अचेल कत्तिको रुचि राख्नुु हुन्छ खेलकुदमा ? दैनिकीमा कुनै खेल तालिका पनि हुुन्छन की यँहाका ?

हाम्रो जमानामा खेलाडीलाई स्टार कहां मानिन्थ्यो र ? तर पनि महिला फुटबलको राष्ट्रिय टिमको पहिलो कप्तान बन्ने सौभाग्य मेरो देशले मलाई दिएको छ । यो स्टारको उपमा भन्दा पनि धेरै धेरै हो मेरा लागि । खेलाडीलाई जुनसुकै उमेरमा पनि खेलकुदमा लगाव रहदोरहेछ । त्यो लगाव मसंग पनि अझै छ । एकपल्ट नेपालको फुटबलको पहिलो राष्ट्रिय कप्तान ७५ वर्ष काटेका नरशम्सेर जबरासंग भेट हुदा उहांले तपाइहरु खेलेको देख्दा मलाइ अझै पनि खेल्न मन लाग्छ भन्नु हुदा अचम्म मान्थे । तर त्यो सत्य रहेछ जस्तो लाग्छ अहिले आएर । अहिले म कुनै खेल त खेल्दिन तर बिहान निरन्तर योग अभ्यास चांहि गर्छु ।

राखेपको पूर्व सदस्यका रुपमा नेपाली खेल क्षेत्रको वर्तमानलाई नजर लाउदा कस्तो पाउनुहुन्छ ?

मैले कस्तो पाए भनेर बताउनु भन्दा पनि हालसालै देखिएको दशरथ रंगशालाको भौतिक अवस्थाले नै सबै प्रष्ट पार्दैन र ? देशको हर सबै क्षेत्रमा बढी राजनीतिकरण भयो । विश्वमानचित्रमा नेपाली खेलाडीको सम्मान पहिले कस्तो थियो र अहिले कस्तो छ ? सबै जगजाहेर नै छ । मैले के बोल्नु ? अन्र्तरास्ट्रिय खेलमा खेलाडीभन्दा पदाधिकारी बढी जाने र सुविधा पनि उनीहरुलाई नै बढी हुने परम्पराले खेल स्तर कहिले उभो लाग्छ खै ? भर्खरको रियो ओलम्पिकमा विश्वकै कान्छी खेलाडी गरिमा सिंहको स्विमिंग कस्ट्युम च्यातिएको प्रसङ्ग पनि खेलाडीप्रति ध्यान जान नसकेको अबस्थाको सचित्र उदाहरण हैन र ..?

तपाई पहिलो महिला फुटबल क्याप्टेन पनि । महिला फुटवल वा नेपाली फुटबलको वर्तमान स्थितिप्रति यहांको सटिक मूल्यांकन के होला ?

हामीले जति गर्न सक्थ्यौ त्यति गर्न सकेका छैनौं । दक्षिण एसियामा भारत र हामी नै फुटबलको स्टार हौ । तर हामीले खेलाडीलाई प्रचुर मात्रामा तालिम र प्रोत्साहन दिन सकेका छैनौ । खेलाडीलाई जीवन धान्ने आधार नै खेल हुनु पर्छ । सेना र पुलिसको जागिरले मात्रैले खेलाडी तयार हुन्छन भन्ने सोच अब पुरानो भै सक्यो जस्तो लाग्छ । धेरै टाढा जानु पर्दैन , भारतमै खेलाडीहरु खेलकै माध्यमबाट करोडपति , अरबपति हुन थालेका छन् । हामी भने पौष्टिक आहार बाटै बन्चित छौ , त्यसमाथि राजनीति !

२० बर्ष एन्फा हांकेका गणेश थापा त यहांका दौतरी पनि, समकालिन पनि । फिफाबाट भ्रष्टाचारमा कारवाहीमा परेको तथ्यले यहांलाई कत्तिको मन दुखाउछ ?

हो, म महिला राष्ट्रिय टिमको कप्तान हुदा गणेश थापा पुरुष राष्ट्रिय टिमको कप्तान हुनु हुनुहुन्थ्यो भने कमल थापा फुटबल संघको अध्यक्ष । अनि कमल थापा ज्यूूको श्रीमती पलिता थापा टेबुल टेनिसको राष्ट्रिय खेलाडी । जुनसुकै खेलको खेलाडी भए पनि खेलाडी खेलाडी बिचको जस्तो हार्दिक आत्मियता अरु क्षेत्रमा मैले विरलै देखेको छु । अरु क्षेत्रमा प्रतिस्पर्धादेखि डराउछन तर खेलमा प्रतिस्पर्धा नगरी धरै छैन । कसैले टिको लगाएको भरमा खेलाडी बन्ने कल्पना पनि गर्न सकिन्न । त्यही भएर होला आत्मियता पनि बढी हुन्छ ।
हामी सबै कडा प्रतिस्पर्धाबाट खरो उत्रिएका अन्र्तराष्टिय खेलाडी थियौ,कति कुरामा हाम्रो समान धारणा होलान ,कति ठाउमा नहोलान । त्यो बेग्लै कुरा हो तर फुटबलको विकासमा कमल थापा , गणेश थापा मात्रै हैन शरदचन्द्र शाहाको योगदानलाई पनि नकार्न सकिदैन । इतिहासले मुल्यांकन गर्छ नै ।
जबसम्म म महिला फुटबलको अध्यक्ष थिए, मेरो जहिले पनि गणेश जीसंग झगडा मात्रै हुन्थ्यो । उहांको कार्यशैली चित्त नबुझेमा धरधरी बाझ्ने मान्छे म मात्रै थिए, एन्फामा ।
रह्यो कुरा फिफाको कारवाहीको ! कारवाहीको जरो नेपाल मात्रै होइन रहेछ नि त ,जब फिफा मै माफिया घुसेको र त्यसकोे लहरो युईएफए र एएफसि हुदै नेशनल एशोसियसनसम्म पुगेको कुरा फिफाले नै जनाई सकेपछि यसमा मन दुखाउनु पर्ने कारण म कतै देख्दिन । उहाहरुसंग मेरो पारिवारिक सम्बन्ध पनि छ ,ब्यवसायिक सम्बन्ध पनि छ , दुवै सम्वन्धका भूमिका पनि बेग्ला बेग्लै हुन्छन ।

एन्फाको सन्निकट अध्यक्ष, उपाध्यक्षको चुनावमा यहांको समर्थन कस्लाई ? नरेन्द्र श्रेष्ठ की कर्मा्छिरींग शेर्पा ? अनि किन ?

म व्यक्तिको पछाडि लाग्ने मान्छे होइन । एक पल्ट एन्फाको चुनाबमा उपाध्यक्ष्यमा अत्यधिक मतले जितेको मान्छे हुं म । दुबैको तौर तरिका मैले हेर्न पाएको छैन । मेरो उहांहरु दुबैलाई शुभकामना छ । जसले जिते पनि फुटबलको विकासले जित्नु पर्छ । उहांहरुले गणेश थापालाई जुन आरोप लगाउनु भएको थियो,त्यही आरोप उहाहरुमाथि अरुले लगाउनु नपरोस र एनफालाई राजनीतिबाट टाढा राख्न सफलता मिलोस ।

पूर्व अध्यक्ष थापा फिफाबाट कारवाहीमा पर्दा पनि सांसद, त्यो पनि राजावादी राप्रपा नेपालको । कस्तो लाग्छ यहांलाई यो प्रसंग ? सही, गलत ? वा बिडम्वना ?

तपाईको प्रश्नले मलाई मात्रै हैन, देशलाई नै ब्यङ्ग गरे जस्तो लाग्यो मलाई । कथित क्रान्तिको नाममा १८ हजार मान्छे मारेर आएको मान्छे देशमा २, २ पल्ट प्रधानमन्त्री हुन सक्छ, लडाकु समायोजनको नाममा अरबौ रकम व्यक्तिको नाममा गएको लडाकुले नै जाहेरी दिएको बिषयमा कारवाहीको ’ क ’ गर्ने हिम्मत कसै संग हुदैन भने तपाइले “हारा र मारा “कसरी छुट्ट्याउनु हुन्छ ? भोलि कोहि जंगल पसेर २० हजार मान्छे मारेर आउंछ भने पनि हाम्रो कानुनले उसलाई पुरस्कृत नै गर्ने गर्छ अब ।

यँहालाई एकाथरी मान्छे प्रखर गणतन्त्र विरोधी भन्छन । सही हो ?

म गणतन्त्र विरोधी हैन ,गणतन्त्र भनेको के हो मैले बुझेको पनि छैन । तर राजतन्त्र र अहिलेको कार्यशैलीमा फरक भने देखेको छु । त्यो के हो भने राजाले राष्ट्र र जनहितमा काम गर्थे, नेताहरुले धुपौरे र आफ्नै लागि गर्दछन् । यो सबैले देखेकै कुरो हो । त्यसैले मलाई गणतन्त्रको विरोधी भन्नु भन्दा पनि राष्ट जोगाउने राजतन्त्रको समर्थक भन्न रुचाउछु ।

पूर्वराजाको अति विश्वास पात्र हुनुु भएकोले पो हो की ?

कस्तो राम्रो प्रश्न गर्नु भयो । ‘जुनबेला राजाको कार्यकाल थियो संचार माध्यममा सबै भन्दा पीडित मै थिए । आज बल्ल भन्ने मौका पाए । राजाको शासन कालमा नेपाल टेलिभिजनको महाप्रवन्धक पदका लागि मैले पनि आफ्नो दाबेदारी राखे । संस्थापक सदस्यको नाताले मात्रै हैन योग्यता र क्षमताले पनि । अर्को प्रबल दाबेदार थिए शम्भुजित बास्कोटा । सहकर्मीदेखि बाहिरका सबैले मलाई योग्य ठानेका पनि थिए । तर दरबारका सम्बाद सचिब योगेश्वर कार्कीको ठाडो आदेशमा शम्भुजित बास्कोटा महाप्रबन्धक भए । अनि कालान्तरमा उनै बास्कोटा खांटी गणतन्त्रबादी भए तर म अझै राजावादी नै छु ।
अब अर्को प्रसङ्ग पनि कोट्याउछु २०६२ , ६३ को आन्दोलन अगाडि श्री ५ ज्ञानेन्द्र को सुदुरपश्चिम, मध्यपश्चिम र पश्चिमाञ्चल क्षेत्रको भ्रमण थियो । सुरक्षादेखि मिडिया सबै एउटै टिम जादा सजिलो हुन्छ भन्ने भो , म समाचार महाशाखा प्रमुख थिए । महाप्रबन्धक विश्वप्रकाश मास्केले तपाइँ नै जानुपर्छ भनेर मलाई पठाए । १८ महिनाको छोरी छोडेर डेढ महिना डाडाकांडा नभनी खानु न पिउनु संग रिपोटिंग गरियो । र फर्केर आउदा त्यो भ्रमण दलमा रहेको कुकुर र बिरालोले पनि तक्मा पायो तर मै एक जना छुटे । यो कुरा मैले राजालाई पनि सचिव मार्फत बिन्ति चढाए । त्यसबेलाको तक्माको रेकर्ड हेर्न सक्नुहुन्छ । अब भन्नुस म अति विस्वास पात्र ? तर हो किनकी म आफ्नो सिद्धान्तमा अझै पनि अडिग छु । पद र तक्मा जस्ता बिषय मेरा लागि गौण छन् ।

साच्ची भन्दिनुस न पूर्व राजासंग यहांको संवन्ध कस्तो छ अहिले ? कत्तिको सम्पर्क भैरहन्छ ?

एउटा देशप्रेमी राजा र देशप्रेमी जनता बीच कस्तो सम्बन्ध हुन्छ र हुनु पर्छ त्यही नै हो मेरो र राजाको संवन्ध । सम्पर्कको हकमा भने म सामाजिक संजालमा राष्ट्रिय स्वाभिमान जोगाउने आवाज उठाउछु । देश र राजालाई भएको अन्याय उजागर गर्छु । अरुले जस्तै मौसुफले पनि त्यसलाई हेरीबक्सन्छ होला भन्ठान्छु । जो मान्छे आफ्नो निष्ठा र अडानमा हुन्छ, उ आफ्नो प्रवाहमा बगीरहन्छ कसैसंग सम्पर्क हुनु नहुनु त्यो गौण कुरा हो जस्तो लाग्छ ।

एकाथरी मान्छे पूर्वराजाले कुनै जिम्मेवारी नदिनुलाई नै यहां नबस्नुु कारण मान्छन । के यो सही हो ?

विदेशिनुको मेरो आफ्ना कथा ब्यथा मैले माथि नै भनिसके । राजाको कार्यकालमा त जिम्मेवारी नपाएको मान्छे अब राजा नै जोगी भएर हिडेको बेला मैले के जिम्मेवारी खोज्ने ?

के लाग्छ यँहालाई देशमा पुनः राजसंस्था पुर्नस्थापना संभव छ ?

मेरो जिन्दगीको शब्दकोषमा असम्भव भन्ने शब्द नै छैन । यदि थियो भने नेपालमा स्वास्नीमान्छेले नखेलेको फुटबल खेलेर हाई हाई कमाउने थिईन होला । टेलिभिजनमा कसरी समाचार पढिन्छ ? कतै नदेख्दा पनि नेपालको इतिहासमा पहिलो समाचार बाचक हुने थिईन होला । धैर्य र समयले सबै कुरा सम्भव बनाउछ । यो नै मेरो जिन्दगीको मुलमन्त्र हो ।

पूर्व राजा आफै जनता आऊ, राजा फर्काऊ भन्छन । जनता राजाको नाममा संगठित छैन्न । कुरो कसरी संभव होला ?

नेपालका राजाहरुले जहिले पनि जनताको अभिमत लिएर राजकाज गरेको इतिहास साक्षी छ । राष्ट्र निर्माता पृथ्बी नारायण शाहदेखि ज्ञानेन्द्र राजासम्म सबैले समय ,काल र परिस्थिति अनुरुप जनता कै हितमा कार्य गरेको देखिन्छ । २०६२,६३ मा जनताको अभिमत नलिइकन राष्ट्र जोगाउन राजाले हासी हासी जसरि राजपाठ छोडे, त्यो राष्ट्रप्रेम र जनकल्याणको हितमा थिएन भन्न सक्ने हिम्मत कसैसंग छ ? त्यसैले जनतासंग सल्लाह नगरी गरिएको कार्यलाइ जनताले फर्काउनु पर्छ भन्ने मेरो पनि मान्यता हो ।
मौसुफले पनि जनताको राजा बन्न चाहि बक्सेको होला र न जनतालाई आव्हान गरिबक्सेको होला भन्छु म । रह्यो कुरा संगठनको , राजा कुनै गुट उपगुट , जातजाती र भाषा भाषीको हैन । सबै नेपालीको एकताको प्रतिक भएर रहनु पर्छ । त्यसैले म त भन्छु राजालाई हामीले कुनै पनि गुटमा आबद्ध गराउन हुदैन । राजाको लागि रमासिंह वा एसवी खड्का वा माओवादीका कन्चन थापा सबै बराबर हुनु पर्छ ।

राजावादी राप्रपाको सत्ता यात्रा र हालको प्रतिपक्षी भुमिका जायज वा अवसरवादी चरित्र के हो तपाईको नजरमा ?

अहिले मैले यस बिषयमा कमेण्ट गर्दा अलि हतारो हुन्छ कि ? अलि दिन कुर्यौ भने यसलाई भबिष्यले नै बताउने छ ।

राजसंस्थाले पनि पुर्नस्थापनाका लागि कुनै प्रयाश नै गरेन भन्ने जनगुनासोसंग तपाई सहमत की असहमत ? अनि किन ?

राजा आफ्नो प्रयासले गएका पनि हैनन् र देश छोडेर भागेका पनि छैनन् । जनताको हित र सुखका लागि राजाले केही दिन राजगद्धी छोडेका मात्र हुन् । राजाले गद्धी छोडदा पनि जनताको हित र कल्याण भएन भने अब जनताले गुनासो गरेर समय बरबाद गर्नु भन्दा राष्ट्रहितको लागि जुर्मुराउने बेला आएको हैन र भनेको ?

तपाई आफ्ना सामाजिक संजालका अभिव्यक्तिहरुमा खरो रुपमा राजाको समर्थन गर्नुहुन्छ नी किन ?

हेर्नुस बिपी कोइराला जस्तो महान क्रान्तिकारी नेताले पनि देशको भू राजनीतिलाई हृदयगम गरी राष्ट्र जोगाउन राजासंग घांटी जोडेको इतिहास छ । म पनि त्यही राष्ट्रको सचेत नागरिक । र, बिद्यार्थी कालमा नेबि संघमा लागेको मान्छे । मैले पनि त केही सिके बुझे होला बिपीको जीवन, आर्दश र किताबबाट । अहिले कांग्रेस मूलबाटोमा हैन, गोरेटो र घोडेटोमा हिड्दै छ । तर मैले बाटो बिराएको छैन । म राजा महेन्द्रको राष्ट्रबाद र बिपिको समाजबादबाट बढी प्रभावित छु । त्यसैले पनि आफ्ना कुरा राख्न मलाई कुनै हिच्किचाहट छैन ।

ताली वा गाली पनि धेरै पाउनुु हुन्छ । कस्तो लाग्छ ?

जब तपाइँ साउनको उर्लदो भेल बन्नु हुन्छ ताली र गाली को प्रभावले छुदैन । भेलको गन्तब्य निश्चित छ ,छेउ छाउ किनार उसले हेर्न भ्याउदैन । सके समेट्छ नसके बाटैमा छोडिन्छ ।

पूर्व राजा ज्ञानेन्द्रप्रति यहांको सारगर्भित टिप्पणी के छ ?सुुझाव केही दिनुहोस न खरीबोट डटकम मार्फत ।

जनताको दुखमा राजा र राजाको दुखमा जनता साथ रहने परम्परागत मूल्य र मान्यता जिवितै छ र यसलाई मजबुत बनाउन मौसुफबाट पहल भइरहनु पर्छ जस्तो लाग्छ मलाई ।

पूर्व यूवराज्ञी हिमानी शाहको संस्थामा यहां संलग्न देखिनुहुन्न, त्यति प्रखर राजावादी भएर पनि किन ?

मेरो योग्यता र क्षमताले गर्ने सहयोग म जहासुकै बसे पनि गर्न सक्छु ,गरिरहेकै छु । को प्रखर राजाबादी ? को नबोधित राजाबादी ? राजाबादी राजाबादी भन्दै अघिपछि हिड्ने तर जनता र राजसंस्थाको हितमा काम गर्न नसक्ने राजाबादीको बिल्ला मलाइ भिर्नु छैन ।

हिमानी टस्टका कार्यप्रति यहांको मूल्यांकन के छ ?

जब जब हिमानी ट्रष्ट बाढीपीडित ,भुकम्पपीडित कहां पुग्न खोज्छ, तब तब निषेधको राजनीति सुरु भएको सबैले देखेकै छौ । यस्तो प्रतिकुल परिस्थितिमा मैले यति टाढा बसेर मुल्यांकन गर्दा त्यति राम्रो नदेखिएला कि ?

अन्त्यमा  यँहाका शुुभ सन्देशहरु खरीबोट डटकमका पाठकहरुलाई …….

यो देश हामी सबै नेपालीको हो । को राजाबादी , को कांग्रेसबादी ,को माओबादी , को मधेशबादी ,को हिमालबादी , को पहाडबादी , को को आदि इत्यादि । सुख र दुखका सारथी त हामी मध्ये कोहि नै त हौ । त्यसैले सानो देशको ठूूलो चित्त भएको नागरिक बनौ र देशलाई समृद्ध बनाउने तिर लागौ । धन्यवाद ।
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers