ScotNepal: व्यंग्य: लोकतन्त्रका मुसाहरु लोकमानसँगै सती गएनन् भने ….
Loading...
व्यंग्य: लोकतन्त्रका मुसाहरु लोकमानसँगै सती गएनन् भने ….

सरगम भट्टराई
चेल लोकभरि बडेमानका जीउ भएका लोकमानकै चर्चा छ । मान्छेहरु लोकमानको हिँडाइ, खवाइ, लवाइ र घुमाइ सबैको चर्चा गरिरहेका छन् मानौँ यो लोकतन्त्र लोकमानकै लागि आएको हो । हाम्रा बाले वेदका मन्त्र घोके जस्तै चौतारोदेखि चिया पसलसम्म यिनै लोकमानकै चर्चा गरिरहेका छन् ।
सरगम भट्टराईलोकमान सिंहको इतिहास मैले किन कोट्याउनु र ! सबै मिडियाको खुराक बनेकै छ, मैले त लोकले नमानेका लोकमानको महात्म्य मात्र चर्चा गरे पुग्ने भयो । लोकतन्त्र भन्ने ब्यवस्थामा लोकमानकै कुरा नगर्नु पनि कसरी ? केही’लोग’ले मानेपछि लोकले मान्नु नपर्ने रहेछ । बडेमानका लोकमानको जय होस् । लोकमानका ख्वामितको जय होस् !

यी लोकमान पनि अचम्मका रहेछन्, अलुको तरकारी जस्तै जता पनि सुहाउने, चिटिक्क ! भाग्यमानी हुन् यिनी: राजाका पनि प्रिय, युवराजका पनि प्रिय र अहिलेका नवयुवराजका झनै प्रिय । हुकुमी प्रमांगीबाट फ्याट्ट फड्केर राजाका सेवक लोकमान हुँदा हुँदै लोकतन्त्र पछि त झन् ढुकुटीकै सेवक सम्म बन्न पुगेछन् । यिनको बखान गर्न गाली शिरोमणि र ताली शिरोमणि अनि गाडी शिरोमणिले त सक्दैनन् भने म काली शिरोमणिले के सक्नु र ?

खासमा कुरो के भने क़ाज़ीदेखि ‘दा’ जी सम्मका प्यारा पहिले पञ्चायतमा पनि प्यारा, बहुदलमा पनि प्यारा, अझ लोकतन्त्रको आन्दोलन दवाउन बडो कष्ट झेल्दा पनि ख्वामितहरुको साझा उमेदवार बन्न पाउनु त पुरस्कार पो थियो: उनले यो पुरस्कारको पनि क़दर गर्नै पर्थ्यो : ब्यक्तिगत रिसईवी भएका अमुक अमूक: हरुलाई भ्रष्टाचार करार गरिदिने, सेतो कपाल देखि लामो कपाल सम्मका लाई प्रेमपत्र पठाउने यस्ता झोँक प्रेमी लोकमान ज्यू को चर्चा हजार जिभ्रो भएका शेषनागले त गर्न सक्दैनन् भने म बबुरोले के गर्नु र ?

लोकमान महात्म्यलाई मुसा र बिरालोसँग जोडेर ब्याख्या गर्ने हो रमाइलै होला: लोकतन्त्रपछि पनि धेरै कोट काट्ने मुसाहरुको बिगबिगी भयो, यिनीहरु कहिले छानु काट्ने, कहिले तानु काट्ने त कहिले मानु काट्ने । अमूक मुसाहरुले अजंगको बिरालो लोकमानलाई आफ्नो हितमा काम गर्ने गरी बिशेष दूत बनाएर पठाएकै हो क्यारे !

मुसाका धेरै दुलोहरु देखेका बडेमानका बिरालोरुपी लोकमानले ठूला ठूला मुसाहरुलाई एक छत्र धन्सारदेखि संसारसम्म कुटुकुटु काट्दा आँखा चिम्लेर ध्यानमग्न हूँदा भए भन्ने आरोपहरु पनि आएकै हुन् । बिरालोरुपी लोकमानले आफैले कति तर चोरे भन्ने कुरा मुसाहरुले कसरी पो मालूम गरून् र !

सबैलाई थाहा छ: मुसाहरुका खास बन्न पुगेका बिरालोरुपी लोकमानले वफ़ादार भएरै स-साना छेपाराहरुलाई आफ्नो दिब्यदृष्टिले शिकार गरिरहेकै हुन् । ढुकुटीको हेरचाह गर्ने ज़िम्मा पाएका बिरालोरुपी लोकमानले घोर्ले मुसाको शिकार त कसरी गरून् र ! अब मुसाहरुकै निगाहमा ढुकुटी हेर्न पाएका लोकमान म्याउँ-म्याउँ गरी केही घरेलु मुसादेखि जंगली मुसाको शिकार गर्ने प्रहसन गर्दा मुसाहरुको ठूलो समूह ढाडे बिरालोरुपी लोकमानप्रति क्रोधित भएकै हो । केही मुसाहरुसँग कुरा मिल्यो, केहीसँग बिच्कियो ! फेरि मिल्यो, फेरि बिच्कियो ! हर ! हर ! लोकमानतन्त्र !

जे होस् धन्सार हेर्ने ज़िम्मा पाएका लोकमानले सन्सार हेर्न तम्सेपछि के गर्नू र ! अति भएपछि खती हुन्छ भन्थे बिधि मिच्ने मामलामा लोकमानको ढाडेपन पनि कहाँ चानचुने छ र?

बिरालो र मुसा मिल्दैनन् भन्थे मान्छेहरु । तर, मुसाकै गर्भबाट जन्मेको बिरालो र मुसाको केमेष्ट्री ठ्याक्कै मिल्ने रहेछ क्यारे । यत्तिका दिन त मिलेकै हो नि ! गज्जव छ: खान पाइन्जेल जता पनि डीएनए मिल्छ , मिल्ने रहेछ !

होइन भने गोबिन्द बाजेले दश पटकसम्म आमरण अनसन गर्दा चुइँक्क नबोल्ने मुसाहरु अकस्मात् कसरी लोकमानलाई महाअभियोग लगाउने अभियानमा सहमत भए । यो सहमतिमा के गुह्य लुकेको छ त्यो त हेर्नै बाँकी छ, तर हिजो आँखा चिम्लेर बसेका लोकतन्त्रका नवयुवराज मुसाहरु एकाएक लोकमानसँग रिसानी हुनुको राज कतै आफ्नै धोती फुस्कने डर भएर हो कि भन्ने पो लाग्या छ यो बबुरोलाई । तर, राम्रै नियतले भएको देख्ने सुन्ने मन् छ यो बबुरोको ! भोलि बिरालोको ठाउँमा फ्याउरो आउने हो कि भन्ने डर छ,जनतालाई त बाघ पो चाहिएको थियो ।

रायमाझी आयोगले दोषी ठहराएका लोकमानलाई त दण्डित गर्नुपर्ने थियो: मुसाहरुले पुरस्कृत गरे, त्यो के बाध्यता थियो यो त ख्वामितहरुले मुख खोल्दै जालान् । आची गरिसकेपछि दैलो देखेर के काम ! तर मिलेमतोमा जे पनि गर्न उद्दत यी बिरालो र मुसाहरुको मिलनलाई जनता जनार्दनले राम्ररी बुझ्नु पर्ने छ ।

यो देशमा न्याय मरेको धेरै भइसकेको छ । केहि मुठ्ठी भर बिरालो र मुसाकै खटनमा देश चलिरहँदा हामी जनता चाहिँ साक्षी बसेर चिच्याई मात्र पो रहेका छौँ । अझ फुटको तानाबाना बुनिरहेका छौँ । जे भन्छन् पत्याइरहेका छौँ ।

हो ! लोकतन्त्रमा अदालतलाई सम्म लत्याउने लोकमानतन्त्र हावी हुनु हुन्न, तर यहि सिलसिलामा धन्सारदेखि सन्सारमा चलखेल गर्ने लोकतन्त्रका मुसाहरु कुनै बहानामा उम्कने हुन् कि भन्ने पो डर भो बा ! सबै मुसाहरु लोकमानसँगै सती जानुपर्छ, वा पठाउनुपर्छ । अख्तियारमा अब बिरालो हैन हिम्मतवाला बाघले बागडोर सम्हाल्नुपर्छ ।

एउटा बिरालोरुपी लोकमानले भन्दा सयौँ गुना बढी लोकतन्त्रका मुसाहरुले देशको छातीमा प्वाल पारेका छन् । यी सबै मुसाहरुलाई बिरालोसँगै सती पठाउनुपर्छ वा देश निकाला गर्नुपर्छ तर अफ़सोच ! मुसाहरुको गठबन्धन बलियो भइरहेको छ । यहाँ केही मुसाहरुलाई धर्मसंकट छ: घरै पिँडालु,बनै पिँडालु: ससुराली जाँदा बाह्र हातको पिँडालु ।

तर, जनता चाहन्छन्: अति गर्ने लोकमान र खती गर्ने मुसाहरु दुबैलाई ठीक गर्ने घोर्ले बाघको पर्दापण हुनुपर्छ । बिरालोरुपी लोकमान सती गएको खुशी मुसाहरुले मनाउनुहुँदैन । मुसाहरु पनि संगै सती जानु पर्छ ! यदि यिनीहरु सती गएनन् भने फेरि मुसाहरुकै कुटुकुटु तन्त्र चल्ने छ । बिरालोरुपी लोकमानले जिते भने त झन् मनपरी तन्त्र चल्ने छ !

यो बबुरोलाई बडो चिन्ता लागि रहेछ !!

२०७३ कार्तिक ७ गते १०:३५ मा प्रकाशित (अनलाइनखबर)
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers