ScotNepal: एकजना अमेरिका छिर्दैमा कस्तो रोदन ?
Loading...
एकजना अमेरिका छिर्दैमा कस्तो रोदन ?

-निरु पौडेल

यतिखेर सामाजीक सञ्जालहरु विशेषगरि फेसबुक र ट्विटरमा असाध्यै धेरै रोइलो अनि चित्कार भेटिन्छ । अनि गालीगलौज र टिकाटिप्पणी पनि असाध्यै धेरै छन् । एकजना पत्रकार असाध्यै राष्ट्रवादी थिए अरे । उनले नेपाल छाडेछन् । त्यसैको सेरोफेरोमा कसैले देशलाई गाली गरेर त कतिले ती पत्रकारलाई उडाएर सामाजीक सञ्जाल रंगाएका छन् ।

उनी पलायन हुँदा नेपालले ठूलै वस्तु गुमाएछ कि जस्तो लाग्यो । नेपालका ‘मैँ हुँ’ भन्नेदेखि लिएर वर्षौदेखि विदेशमा बस्नेले समेत एकजना व्यक्ति टिभीमा चिच्याउन छाडेर अमेरिका पसेको विषयलाई ठूलो हल्लाको विषय बनाएको देख्दा ताजुब लागेर आयो । म ती पत्रकारलाई व्यक्तिगत रुपमा चिन्दिन र चिन्न जरुरी पनि छैन । देशलाई रुवाएर आउने को रहेछन् ती पत्रकार भनेर जान्ने असाध्यै रहर जाग्यो । उनीसँग चिनजान भएका केहीलाई जिज्ञासा राख्न पुगेँ म । जुन उत्तर मैले उनका बारेमा पाएँ जति हल्ला भएको छ उनका बारेमा त्यो रुपमा होइन रहेछन् ।

उनले एउटा टिभीमा जागिर खाएका थिए । त्यसैबाट हुने कमाईले परिवार पाल्थे । टिभीमा अनुहार देखाएर चिच्याएको भरमा नत कोही राष्ट्रवादी बन्नसक्छ । नत सञ्चारमाध्यममा नआउने बाँकी अरु देशद्रोहीनै हुन् ।

उनी अमेरिका आए । बशः कुरा सकिएकै थियो । अमेरिका आउनेहरु कोही हल्लाखल्ला गरेर, माला लगाएर एअरपोर्टबाट विदाई हुन्छन् । कोही गुपचुप रुपमा आएर अमेरिकामा घण्टावारी काम गर्छन । सबैलाई अमेरिका आउने, बस्ने रहर हुन्छ । ती पत्रकार केही समय टिभीमा चिच्याउँदैमा उनलाई अमेरिकाको लोभ लालशा थिएन भनेर कोही माइकालालले भन्नसक्दैन । अमेरिका यस्तो मुलुक हो जहाँ आएर बस्नका लागि अर्थ सचिव जस्तो पद खुशीसाथ त्यागे नवराज भण्डारीले । निजामति, जंगी, नेपाल प्रहरीका माथिल्ला तहका हजारौं अधिकारीहरु अमेरिकासँग लोभिएर छिरेका छन् । अनि अमेरिकामा बस्नकै लागि हजारौं नेपालीले शरणार्थीको आवेदन दिएका छन् ।

कोही व्यक्ति अमेरिका छिर्दैमा नेपाल डुबिहाल्ने पनि होइन । त्यसमाथि एकजना नाथे पत्रकार त्यो पनि समयमा तलब नदिएर दर्जनौ पत्रकार र कर्मचारीलाई बिचल्लीमा पार्ने मिडियाको पत्रकार । उ अमेरिका छिर्दैमा नेपाललाई गंभिर असर पर्ने कुनै क्षेत्र देखिन मैले त । नेपालमा नौटंकी गर्नेहरु धेरै छन् । तिनै नौटंकी गर्नेहरुकै बोलवाला छ । त्यही नौटंकी गरेर राष्ट्रवादी देखाउन एउटा प्रयास ती पत्रकारले गरेका थिए । अनुहार देखाउने भाँडोमा काम गर्ने अनि चिच्याउन सक्ने स्वर भएका कारणले उनी चिनिए । अनि दुई चार जनाले चिनेका भरमा ठूलै सेलिब्रेटीले देश छाडेर हिँड्यो भनेझै भ्रम धेरैलाई परेको मात्र हो ।

ती पत्रकार नत मिडियाको ठूलै पदमा, आफु भन्नुपर्दा लेखेको आधारमा नीति निर्माण तहमा प्रभाव पार्नसक्ने हैसियतका थिए । उनीभन्दा धेरै माथिल्लो स्तरका, उनीभन्दा धेरै लामो समय पत्रकारितामा लागेर थुप्रै भोटो फटाएका, समाचार/लेख लेखेकै भरमा नेपाल सरकारका नीतिमा परिवर्तन ल्याइदिनसक्ने (परिवर्तन गर्न सक्षम) थुप्रै पत्रकार अमेरिकामा छन् । नामै लिनुपर्दा कान्तिपुरका संस्थापक सम्पादक योगेश उपाध्यायदेखि लिएर गोरखापत्रका प्रधानसम्पादक भइसकेका तारा बराल अमेरिकामै छन् ।

अनि नेपालको आर्थिक पत्रकारिताका ‘पिलर’ भन्दा पनि हुने विजय घिमिरेदेखि लिएर विष्णु शीतल, सेजनका अध्यक्ष भैसकेका नारायण सापकोटा समेत अमेरिकामै छन् । नेपाली र अंग्रेजी दुबै भाषामा दख्खल राख्ने राजेश मिश्रदेखि लिएर मैना धितालसम्म अमेरिकामै छन् । अनि नेपालको टेलिभिजन क्षेत्रमा कहिल्यै कसैले बिर्सन नसक्ने रमा सिंहसम्म हल्लाखल्ला नगरि अमेरिका आएर बसेकी छिन् ।

उनीहरु अमेरिका आउँदा कसैले हल्लाखल्ला गरेनन् । नत ठूलै पत्रकार अमेरिका भासियो, मुलुक तहसनहस हुनेभयो भनेर कसैले भने । तर एकजना पत्रकार अमेरिका आउँदा उसको चर्चा र फुर्तीफार्ती हेर्दा लाग्दैछ- अमेरिकाको सिएनएनले लगानी बिनानै ठूलै पत्रकार पाउने भएछ । मैले सिएनएनको नाम किन लिएको भने ती पत्रकार यतिखेर सिएएनको हेडक्वाटर भएको एटलान्टामा आइपुगेका छन् ।

कोही पत्रकार अमेरिका रहरले आएका छन् । कोही करले आएका छन् । कोही वाध्यताले आएका छन् । ती पत्रकारको पनि रहर र वाध्यता दुबै हुनुपर्छ । अमेरिकाको सुख सुविधा हेर्ने अनि प्रयोग गर्ने रहरले नेपालका सचिवलाई त छाडेन भने ६ महिनासम्म पनि तलब नदिने मिडियामा काम गर्ने ती पत्रकारलाई कसरी रहर नहोस् । पत्रिकाको बाइलाइनमा नाम हेरेका भरमा कोही पनि व्यापारीले पत्रकारलाई एकबोरा चामल दिँदैन । नत बिहान एक पोका दुध पाइन्छ टिभीमा अनुहार देखाएको भरमा । रेडियोमा स्वर सुनेका भरमा स्कूले छोराछोरीको फि मिनाहा गरिदिने होइन । ती कामका लागि त चाहियो पैसानै । पैसा आउनुपर्ने हो तलबबाट । तर नेपालका मिडिया न परे । समयमा तलब र सुविधा दिने मुस्किलले आधा दर्जन मिडिया छन् । बाँकी सबै मजदुर र पत्रकारमारा न थिए ।

पलायन भएका ती पत्रकार कार्यरत टिभी कुनै ठूलो लगानी अनि समयमा पारिश्रमिक दिने खालमा पर्दैनथ्यो । पैसाकै अभाव अनि सुरक्षित भविष्यको खोजीमा ती पनि यता छिरेका हुन् ।

मौका मिलेको खण्डमा नेपालमा ९९ प्रतिशत पत्रकार अमेरिका छिर्छन र यतै बस्छन् । यो पृष्ठभूमिमा ती पत्रकारले केही वर्ष अघि गगन थापा र गणेश गुरुङलाई टिभीमा चलाएको वहशः पनि यहाँ स्मरणिय छ । उनले त्यतिखेर भनेका थिए—नेपालको लागि अमेरिकामा बसेका नेपालीले कुनै योगदान गर्दैनन् र गर्न पनि सक्दैनन् । उनले त्यतिखेर बोलेका यो कुरारुपी थुकलाई उनी आफैं चाट्छन् या गल्ती महसुस गर्छन ?

मैले नजिकबाट चिनेको एकजना दिदी हुनुहुन्छ । उहाँ र म कुनै समय काठमाडौंको घट्टेकुलोमा सँगै एउटै घरमा बस्थ्यौं भाडामा । त्यतिखेर उहाँहरुसँग दुई वर्षको सानो छोरा पनि थियो । उहाँका लोग्ने त्यतिखेर नेपालको एउटा राष्ट्रिय दैनिक पत्रिकामा काम गर्नुहुन्थ्यो । (पत्रिकाको नाम सम्झना त छ तर सार्वजनिक गर्न चाहन्न म ।)

एक बिहान ती दिदी रुँदै मेरो कोठामा छिर्नुभयो । उहाँका आँखाबाट आँशु झरिरखेको थियो । ‘बहिनी तपाईसँग १० रुपैयाँ होला ? मलाई सापटी दिनुस् न प्लिज,’ उहाँले भन्नुभयो । मैले १० रुपैयाँ दिएँ ।

भएको के रहेछ भने उहाँका लोग्नेले तलब नपाएको चार महिना भैसकेछ । चार महिनासम्म आफन्तसँग सर सापटी गर्दै घरभाडा र अरु खर्च टार्दै आएका रहेछन् । ‘हिजो एकाउन्टेनले तलब दिन्छु भनेको थियो रे, विज्ञापनको भुक्तानी आएन भनेर तलब दिएनछ अफिसले बहिनी । एक पोका दुध किन्न १० रुपैयाँ पनि नभएर म तपाईलाई दुःख दिन आएकी,’ दिदीले पीडा सुनाउनुभयो । ‘यो पत्रकारको स्वास्नी भएर बाँच्नुभन्दा त मर्न काल पनि आएन बहिनी । यो सानो छोरो नभएको भए म आत्महत्या गरिसक्थेँ,’ दिदीको यो भनाईले मेरा आँखाबाट आँशु झरे ।

मैले दिदीका कुरा सुनेपछि १० रुपैयाँको नोट फिर्ता लिएर एकसयको नोट उनको हातमा राखिदिएँ । त्यसयता धेरै समाचार पढे मैले पत्रकारले तलब नपाएका । जबजब त्यस्ता समाचार पढ्थे मेरो आँखामा ती दिदीको अनुहार आइहाल्थ्यो । थाहा छैन ती दिदीको अवस्था के छ अहिले ? लाग्छ, अधिकांश पत्रकारका अवस्था यस्तै पो हो कि ? अनि यो पृष्ठभूमिमा पत्रकार अवसर पाउनासाथ विदेश पलायन नभएर के भोको पेटमा पटुका बाँधेर काम गरोस् त ? कमसेकम अमेरिका आइसकेपछि शारिरीक काम गरेर भएपनि सजिलैसँग परिवार पाल्न त सक्छन् तिनले ।

म त भन्छु- सबै पत्रकारले डिभी भरुन् । तिनलाई डिभी परिदेओस् । कमसेकम गरिबीबाट मुक्ति त पाउँथे तिनले । तिनका पत्नीले तनाव त भोग्नुपर्ने थिएन । अनि अमेरिका आएर तिनले श्रम बुझ्ने अवसर पाउनेथिए । - हिमालयखबर बाट साभार : 



Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers