ScotNepal: पुष्पकमल भ्रष्टाचारी हुन् भन्ने प्रमाण अरु के चाहियो?
Loading...
पुष्पकमल भ्रष्टाचारी हुन् भन्ने प्रमाण अरु के चाहियो?

-गुरु भट्टराई
भारतीय नाकाबन्दी र दादागिरी बिरुद्ध स्वाभीमान, स्वाधीन, सार्बभौमिकताको लडाईं लड्दै गरेको र हिन्दुस्तानी निर्भरताबाट मुलुकलाई सधैं पार लगाउन महत्वपूर्ण यात्रा थालनी गरेको ओली सरकार भारतीय ईसारा र डिजाइनमा संबिधानसभा र संसद समेत छोडेर हिंडेका मधेशी जमिन्दारहरुलाई माके–नेकासँग टाँसिदिएर ढाल्ने काम भएपछि लाग्छ यो मुलुकमा सरकार होइन बिदेशी एजेन्टहरुको क्याबिनेट बनेको छ । प्रधानमन्त्री र मन्त्री नियुक्त हुनु र सपथ खानुअघिदेखि नै उनीहरु मुलुकप्रति भद्दा मजाक गर्दै छिमेकी हिदुस्तानको भजन किर्तनमा लीन छन् ।

नेपाली जनताका हितमा काम गर्ने प्रतिनिधि ठानिएका, यो मुलुकको राज्य सत्ताको नेतृत्व गर्ने भन्ने ठानिएकाहरुबाट नेपाल र नेपालीको स्वतन्त्र अस्तित्व, राष्ट्रिय स्वाभीमान र आत्मसम्मान बिदेशिका पाउमा चढाउने खालका दृश्यहरु देख्दा नेपालीका मन बार बार चर्किएका छन्, चुँडिएका छन्, फाटेका छन् । भारतीय नाकाबन्दीको एक बर्षगाँठ पुगेको छ । हिजो त्यही नाकाबन्दी बिरुद्ध साइकल चढेर मुलुकको स्वाभीमान जोगाउछौं भन्ने पात्र आज प्रधानमन्त्रीको कुर्सीमा बसेर हिन्दुस्तान सामु कान समातेर उठबस गरेको दृश्य नेपाली जनताले टुलुटुलु हेर्नु पर्ने दुर्भाग्य मुलुकले बेहोरिरहेको छ । प्रचन्ड भन्ने पात्रले मात्र कान समातेर बिदेशीका पाउमा लम्पसार परेको भए साह्रै गुनासो गरिरहनुको औचित्य हुँदैनथ्यो । तर मुलुकको प्रधानमन्त्रीको रुपमा, नेपाली जनताको प्रतिनिधित्व गरेको ठानिने उच्च पदमा आसीन मान्छे बिदेशी भूमिका पुगेर ‘अब मेरो सिङ जुरो पलायो, बुद्धीबङगारो पनि आयो, हिजो म अलिक काँचो ठेट्नो थिएँ, आज परिपक्व भएको छु, विगतमा मैले गल्ती गरें, अब यस्तो गल्ती कहिल्यै हुँदैन प्रभु !’ भनेर बिदेशीका पाउमा धनुष्टंकार मुद्रामा लम्पसार परेको देख्दा साँच्चै नेपाली मन छिया छिया बन्ने रहेछ । यो नेपाल र नेपालीको निम्ति दुर्भाग्यको बिषय हो ।

नेपालमा ओलीले चीनतिरबाट रेल जोड्ने कुरा जिब्रोबाट फुत्काउने बितिक्कै काठमाडौंमा भोलिपल्ट कागजका रेल कुदाउने प्रबृत्तिका मान्छेले यो मुलुक कस्तो बनाउनु पर्छ भनेर चिन्तन गर्दा हुन् ? बिचित्र छ ।

ओली सरकारको अपराध के थियो म जान्दिनँ, तर रामराज्य थियो भन्ने त म पनि ठान्दिनँ । सधैंको बिकृति बिसंगतिले थलिएको नेपाल हिन्दुस्तानको ६–६ महिनाको नाकाबन्दी ब्यहोर्दै थियो । भूकम्पले मुलुकको एक तिहाइ भन्दा बढी भाग क्षतविक्षत बनेको पृष्ठभूमि छंदै थियो । लामो विबाद बहसपछि जारी गरिएको संबिधान कार्यन्वयनका लागि गर्नु पर्ने काममा पहाड तेर्सिएका थिए । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बारबार कि त असान्दर्भिक कि त आँफैले हिजो गल्ती गरेका सवाल तेस्र्याएर सरकारलाई असहयोग गर्दै थियो, मुलुक बन्धक बनाउने प्रयास गर्दै थियो ।


यस्तो पृष्ठभूमिमा ओली सरकार छिमेकी हिन्दुस्तानको नाजायज चरम असन्तुष्टी, नेपालको आन्तरिक मामलामा सिधा हस्तक्षेप गर्ने चाहना बिरुद्ध लड्दै मुलुकको स्वाभीमान र सार्वभौमिकताको रक्षा गर्दै विकास र उन्नतीका आशाहरु जगाउन सफल भएको थियो । यद्यपी उल्लेख्य परिणाम नै खोज्ने ढंगमा ५–७ महिनाको समय पर्याप्त होइन र थिएन । तर ओलीका विकासबादी चिन्तनलाई प्रहसनको रुपमा प्रस्तुत गर्ने, राष्ट्रिय स्वाभीमान र आत्मसम्मान प्रतिको लडाईंलाई खोक्रो राष्ट्रबाद भनेर उडाउने अनेक प्रयत्न भए । ओलीले अभिब्यक्त गरेका विकासका धेरै सवाल तत्काल वा मध्यकालमा पनि गर्न नसकिने खालका थिए होलान्, तर मुलुकको नेतृत्व गर्ने नेताले मेरो मुलुक कहाँ पुग्नु पर्छ भनेर आजै त्यस बिषयमा चिन्तन गर्ने र त्यस दिशामा गोरेटो कोर्ने काम गर्दैन भने त्यो मुलुकको नेता कसरी हुन्छ ? विकास र उन्नतिका सवालमा महत्वाकांक्षी धारणा नबोक्ने नेतृत्व भएको मुलुकले कहिलै उन्नती गर्न सक्दैन भन्ने कुरा दुनियाँमा प्रमाणित भएको बिषय हो । जहाँसम्म राजनीतिक पार्टीले निर्वाचनमा जनता सामु वाचा गर्ने घोषणा पत्रका बिषय वा अन्य समयमा गरेका प्रतिवद्धताका सवाल छन्, अध्ययनले के देखाएको छ भने राजनीतिक दलले जनतासामु घोषणा गरेका प्रतिवद्धता लागू गर्ने सवालमा जापान पहिलो मुलुक हो, जसले प्रतिबद्धताको लगभग एक तिहाइ पूरा गर्छ । अन्य मुलुकको कुरा गर्ने हो भने ती त्यस भन्दा तल तल छन् ।

नेपाल यस मामलामा कहाँ होला अनुमान गर्नु पनि ब्यर्थ छ । यसका एक वा दुई पाटा मात्र छैनन्, धेरै कुरा सुधार्नु पर्ने छ । अर्थात राजनीतिक दल वा नेता स्वभावैले महत्वकांक्षी हुनु पर्दछ जसले जनतालाई सधैं सकारात्मक आशा जगाइ रहन्छ । यसको अर्थ आशा मात्र जगाउने, कुरा मात्र गरिरहने र त्यस दिशामा पाइला नचाल्ने भन्ने बुझ्नु कदापी हुँदैन । तर नेपालमा ओलीले चीनतिरबाट रेल जोड्ने कुरा जिब्रोबाट फुत्काउने बितिक्कै काठमाडौंमा भोलिपल्ट कागजका रेल कुदाउने तमाशा गरेर मजाक गरिंदै थियो । ओलीले बिदेशीका जहाजमा हैन, आफ्नै जहाज किनेर समुन्द्रिक पारवहन किन नगर्ने भन्दा डाँडामा पानी जहाज कुदाउने भन्दै मजाक गरिए । अब ती प्रबृत्तिले यो मुलुक कस्तो बनाउनु पर्छ, कति विकास गर्नु पर्छ भनेर चिन्तन गर्दा हुन् ? बिचित्र लाग्छ ।

प्रचण्ड भन्ने पात्रले मात्र कान समातेर बिदेशीका पाउमा लम्पसार परेको भए साह्रै्र गुनासो गरिरहनुको औचित्य हुँदैनथ्यो । तर, मुलुकको प्रधानमन्त्री बिदेशी भूमिका पुगेर ‘अब मेरो सिङ जुरो पलायो, बुद्धीबङगारो पनि आयो, हिजो म अलिक काँचो ठेट्नो थिएँ, आज परिपक्व भएको छु, विगतमा मैले गल्ती गरँे, अब यस्तो गल्ती कहिल्यै हुँदैन प्रभु !’ भन्छ । यो कस्तो दृश्य हो ?

प्रचण्ड नामको स्वार्थपिण्ड र सिंगो माओवादी कुन मनोदशाले बिदेशी स्वार्थको प्रयोगको वस्तु बनेको छ भन्ने कुरा यस बेला धेरै व्याख्या गरिरहनु पर्दैन । तिनका जिम्मेबार मन्त्री, नेताहरुका अभिब्यक्तिमा बिहान देखि बेलुकासम्म निरन्तर प्रकट भएकै छन् । यो मुलुकको प्रधानमन्त्री जसले कानुनको पालना गर्ने र पालना गराउने मुख्य जिम्मेबारी बहन गर्नु पर्ने हो, उही ब्यक्ति भ्रस्टाचार हेर्ने संबैधानिक निकायसँग आफू र आफ्नो दल भ्रस्टाचारमा आरोपित भएको कुरा नखोतल्न सहमति भैसकेको भनेर पार्टी बैठकमा ब्रिफिङ गर्छ । भ्रष्टाचार गरेको छैन, गरेको छ भने छानविन गरेर प्रमाणित गर भन्ने चुनौती दिन सक्दैन बरु छानविन नगर, छानविन गरे पनि जोगाउनेगरी अनुसन्धान गर भनेको छु भन्छ । मनुष्य जुनी लिएर जन्मेको र मानसिक अवस्था ठीक भएको मान्छेले पुष्पकमल दाहालले भनेको यति कुराबाट बुझ्दैन र पुष्पकमल भ्रष्टाचारको आहालमा डुबेको छ भन्ने ? कानूनको व्याख्या गर्ने सर्बोच्च निकायले हेर्दै गरेको मुद्दामा अदालतसँग मुद्दा अघि नबढाउने सहमति भएको भनेर प्रधानमन्त्रीले स्पष्टिकरण दिन्छ भने यो भन्दा बढी जङ्गली राजको स्वरुप यो मुलुकमा अरु के हेर्न बाँकी छ ? कानुन, संबिधान, बिधिको औचित्य के हो ?

‘मैले हेग नजाने सेटिङ भारतसँग मिलाएको छु, भ्रस्टाचारमा नपर्ने सेटिङ लोकमानसँग मिलाएको छु, लोकमानको मुद्दा नहेर्ने सेटिङ अदालतसँग मिलाएको छु, हाम्रा सबै अपराध चोख्याउने सेटिङ काग्रेससँग मिलाएको छु। अब यो भन्दा बढी हाम्रो पक्षमा बातावरण कती बनाउनु ? अहिले हाम्रो पक्षमा राम्रो खालको बातावरण बन्दै गैराखेको छ, तपाईंहरु ढुक्क हुनुस्’ प्रधानमन्त्रीको पदमा आसीन पुष्पकमल दाहालले पार्टी बैठकमा गरेको ब्रिफिङको सार यही हो ।

आफ्नो स्वार्थ पूरा गर्न यति धेरै सेटिङ मिलाउने दाहालले युद्धमा सामेल गराएर घरवार बिहीन बनाएका कार्यकर्ता भने रोल्पा रुकुममा घरका भित्तामा लेखिएका क्रान्तिका नारा सुम्सुम्याउन विवश छन् । उनीहरुको हकको सीमा क्रान्तिको त्यही भित्तामा लेखिएको नारा सुम्सुम्याउनु हो । गणतन्त्र ल्याउने आन्दोलनको बिरुद्धमा महाराजको मुख्य खेताला बनेका लोकमानहरु उनीहरुका ‘क्रान्तिनायक’ पुष्पकमलका प्रिय छन् । उहिले दाहाललाई ‘जनयुद्ध’ गर्न बन्दूक बोक्ने युवा चाहिएको थियो, अहिले धनयुद्ध पार लगाउने कुशल लोकमान चाहिएको छ। ‘परिस्थिति बदलियो, यो क्रम भङ्गतामा निरन्तरता नै हो । क्रान्तिको रुप बदलिएको हो, गहिरिएर हेरे सार यही निस्कन्छ’ सायद पुष्पकमलले कार्यकर्तालाई यही भन्छन् ।

निरिह नेपाली जनताबाट कर दोहन गरेर नेतृत्वमा बस्नेलाई लुटाउन मात्र संबिधान कानुन चाहिएको हो? प्रचन्ड र शेरबहादुरहरुले च्यातिएको लगौटीको तुर्केटो झै पनि नमान्ने, पालना गर्नु नपर्ने कानुन र संबिधानमा के कुरा ठीक छन्, के ठीक छैनन् भनेर बहस गर्नुको औचित्य के हो ? यो मुलुकको सर्बोच्च पदमा बस्ने ब्यक्ति वा निकायले संबिधान र कानुनको खिल्ली उडाउँछ भने त्यो संबिधान र कानुनमा फलाना फलाना अधिकार सुनिश्चित भएनन् भनेर तिनै प्रबृत्तिले जनता उचाल्नुको अर्थ के हो ?

पुष्पकमललाई सत्ता र शक्तिमा पुर्याउन चालिने हरेक कदम जायज हुन्, क्रान्तिकारी हुन्, त्यसको निम्ति महाराजाको चाकरी गर्नु परे पनि यी तयार भएका थिए । हिदुस्तान वा अन्य कुनै साम्राज्यबादीका प्रयोग गर्ने वस्तु बन्नु परे पनि ती सबै जायज, समयको माग, बदलिंदो परिवेशको आवश्यकता बनिदिन्छन् ।

माओवादीको त गर्वाधान नै जनतालाई दुरुपयोग गर्नको निम्ति थियो भनेर फेरि नदोहोर्याउँ । शेरबहादुरलाई बाबुरामले बुझाएको ४० बुँदे माग पत्रमा गणतन्त्रका बिषय थिएनन् । गरिव र अचेत नागरिकको वली चढाउन रोल्पाका भित्तामा के लेखिए भन्ने कुराको अर्थ हुँदैन । ६२–६३ को आन्दोलनअघि राजासँग सहकार्य गरेर सत्ता कब्जा गर्ने प्रयत्न माओवादीले धेरै पटक गर्यो । राजाले यिनका कुरा पत्याइदिएनन् । अनि ६४ सालमा यी ठूला गणतन्त्रबादी भए । माओवादीले दिल्लीले तय गरेको १२ बुँदेको जग खडा भएपछि ६२ भदौमा दिल्लीकै इसारामा गणतन्त्रको औपचारिक निर्णय गरेको थियो ।

माओवादीका झुम्राहरुलाई थाहा नभए पनि यिनका ठूला नेता यस बिषयमा प्रष्ट छन्, बाहिर भन्नु हुँदैन त्यो बेग्लै कुरा हो । संबिधान निर्माण भएपछि बन्ने सरकार हिन्दुस्तानले माओवादी नेतृत्वमा निर्माण गराउने छनकै देखाएन । अनि पुष्पकमल पुरै राष्ट्रबादी भैहाले । हिन्दुस्तानको एसम्यान हैनौं भनेर टुंडिखेलमा भारतीय नेताकै सामु भन्दिए । तर समयले ९ महिना पनि काटेन, ओली सरकार हटाउने एक सुत्रीय एजेन्डा बनाएर मौका कुर्दै गरेको हिन्दुस्तानले अनेक अपराधले थिचेर घरीघरी झसङ्ग झसङ्ग झस्किने पुष्पकमल र माओवादी प्रयोगको सुत्र तयार गर्यो । हिन्दुस्तानले माओवादी नेतृत्वमा सरकार कसरी बनाउने भन्ने सुत्र तयार गर्ने बितिक्कै पुष्पकमल हिन्दुस्तानसँग कान समातेर उठबस गर्न थाले । अर्थात् यिनलाई सत्ता र शक्तिमा पुर्याउन चालिने हरेक कदम जायज हुन्, क्रान्तिकारी हुन्, त्यसको निम्ति महाराजाको चाकरी गर्नु परे पनि यी तयार भएका थिए, हिदुस्तान वा अन्य कुनै साम्राज्यबादीका प्रयोग गर्ने वस्तु बन्नु परे पनि ती सबै जायज, समयको माग, बदलिंदो परिवेशको आवश्यकता बनिदिन्छन् । यीसँग न मुलुक बनाउने चिन्तन छ, न कानुन संबिधानप्रति विश्वास र भरोसा छ । न मुलुक र जनताप्रति जिम्मेवारीबोध छ ।

आफूले चुनेर सिंहदरवार पुर्याएको प्रधानमन्त्रीले आफ्नो भ्रस्टाचार छानबिन प्रक्रिया रोक्ने सहमति भएको छ भन्दा तमासा हेर्ने शेरबहादुरहरुलाई स्वतन्त्र न्यायपालिका, लोकतन्त्रको पक्षपोषक र पहरेदार मान्दिनु पर्ने ? सामान्य मान्छेले पचाउन नसक्ने यस्तो दृश्य विचारको कांग्रेस हुँ भन्ने विश्वप्रकाश शर्माहरु कसरी हेरिरहेका होलान् ?

नेपाली कांग्रेस, जसले दुनियाँकै लोकतान्त्रिक शक्ति आफूलाई मात्र ठान्छ, जो आफू स्वतन्त्र न्यायको सिद्धान्तमा प्रतिबद्ध भएको भन्छ र जसले आफूलाई मुलुकको विकासको कुरा गर्दा गाउँका गरिव वस्तीका झोपडी सम्झेर नीति बनाउँ भन्ने बीपीको सिद्धान्तको अनुयायी ठान्छ, उ आज शेरबहादुर नेतृत्वसम्म आइपुग्दा एकदर्जन घोषित भ्रस्टाचारीहरुको हालीमुहाली भएको पार्टीमा रुपान्तरण भएको छ । उ आज नेपालको विकासको ‘बि’ मात्र उच्चारण गर्दा गरिवका झोपडी हैन दिल्ली दरवारको चाहना सम्झेर मात्र उच्चारण गर्नु पर्छ भन्ने ठान्छ । हिन्दुस्तानको चाकरी र गुलामी नगरी नेपाल बाँच्न सक्दैन भन्ने मनोबिज्ञान जनतामा विकास गर्न चाहन्छ । प्रधानमन्त्री पुष्पकमल खुलेआम हामीले गरेको भ्रस्टाचार छानबिन प्रक्रिया अघी नबढाउने सहमति भएको भन्ने, अदालतमा बिचराधीन लोकमानको मुद्दा अदालतले छोपछाप पार्ने सहमति भएको छ भन्ने अनि त्यस्ता पबृत्तिलाई प्रधानमन्त्रीको कुर्सीमा राखेर तमासा हेर्ने शेरबहादुरहरुलाई स्वतन्त्र न्यायपालिका, लोकतन्त्रको पक्षपोषक र पहरेदार मान्दिनु पर्ने ? सामान्य मान्छेले पचाउन नसक्ने यस्तो दृश्य विचारको कांग्रेस हुँ भन्ने विश्वप्रकाश शर्माहरु कसरी हेरिरहेका होलान् ?

मुलुकले संबिधान कार्यन्वयन गरेर देश र जनतालाई एउटा बाटोमा डोर्याउने स्थितिमा पुर्यायउनु पर्ने छ । त्यसका निम्ति छोटो समयमा गर्नु पर्ने कामका चाङ् कहाली लाग्दा छन् । तर सरकार बिदेशीका चाहनामा संबिधान निर्माण जस्तो बिबादास्पद पोको खोलेर सडकमा छरपस्ट पार्दैछ । संबिधान सर्बसम्वत हुन सक्ने मुलुकमा आन्दोलन कहिल्यै हुँदो हो ? क्रान्तिको आवश्यकता हुँदो हो ? माकेनेका जनतालाई एस्तो भ्रम छर्दैछन् र भन्दैछन्– हामी यस्तो एउटा खोर बनाउँछौ जहाँं बाघ र बाख्रा दुबै सुरक्षित र खुसी रहन सक्छन् । अनि यिनका कुरा दुनियाँले पत्याइदिनु पर्ने, कस्तो बिडम्वना ? यो कहाँ पुग्ने बाटो हो सहज अनुमान लगाउन सकिन्छ । संबिधान कार्यन्वयनमा लगेर, मुलुकलाई स्वभाविक लिकमा हिंडाएपछि पनि यदि संबिधानमा त्यस्तो केही परिवर्तन गर्नु पर्ने भए तत्काल गर्न सकिन्छ । तर सरकार त्यस दिशामा होइन, भएको संबिधानलाई लिकबाट झारेर त्यसले स्थापित गरेका जनताका हक र अधिकार समेत अपहरण गरेर मुलुकलाई अराजकताको बाटोमा धकेल्न उद्यत छ, यो कस्तो र कस्को अधिकारको लडाईं हो ? नेपाली जनताले बुझ्न सकेका छैनन् ।

मैले धेरै पटक लेखेको छु, हामीले हाम्रो मुलुकलाई जवसम्म स्वतन्त्र निर्णय गर्ने हैसियतमा पुर्याउदैनौं, बिदेशीका साम्राज्यबादी रणनीतिक प्रयोगको थलोको रुपमा मुलुकलाई जहिलेसम्म स्वीकार गर्छांै, तवसम्म नेपाल र नेपाली जनताको उन्नति प्रगति र समृद्धिको कल्पना गर्नु दिवास्वप्न मात्र हुनेछ । यी कर्मका निम्ति प्रयोग भएका देशी बिदेशी शक्ति, प्रबृत्ति र चरित्रलाई जवसम्म जनताले परास्त गर्दैनन्, नेपालको भविस्य झन् झन् कहालीलाग्दो स्थितिमा पुग्नेछ । अब हामी साँच्चै मुलुकको दर्दनाक अवस्थाप्रति बेखबर भएर रहने स्थिति छैन ।
- साभार : चक्रपथ
Loading...
Recent Updates

,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers