ScotNepal: उकालोमा धस्सियो बस: १९ को मृत्यु, २० घाइते
Loading...
उकालोमा धस्सियो बस: १९ को मृत्यु, २० घाइते

हरिहरसिंह राठौर, धादिङ

आश्विन ११, २०७३- -घाइतेमध्ये ९ गम्भीर
-रुट परमिटै थिएन
-बसको छत र सिटमा टनाटन यात्रु
-अधिकांश भूकम्पले क्षतिग्रस्त घर पुनर्निर्माणका लागि अनुदान लिन आएकाहरू
मार्पाकको लपाङफेदीमा मंगलबार बस दुर्घटना हुँदा पाँच महिलासहित १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ गम्भीर र ११ जना सामान्य घाइते भएका छन् ।
खचाखच यात्रु बोकेर सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदी जाँदै गरेको ना४ख ३३१८ नम्बरको समीक्षा यातायातको बस बिहान साढे ११ बजे मार्पाक–६ स्थित उकालोबाट खसेको हो । पहिरोले बनाएको ढिस्को पार गरेपछि सडक धस्सिएर बस तीन सय मिटर तल आँखुखोलातर्फ खसेको डीएसपी दीपेन्द्र पञ्जियारले बताए ।


प्रहरी निरीक्षक भीमप्रसाद भट्टराईका अनुसार दुर्घटनामा परी बसचालक गोरखा तान्द्राङ–९ का गंगावीर विश्वकर्मा, मार्पाक–५ का कमला पौडेल, पवनबहादुर स्माली मगर, दिलकुमारी अधिकारी, दार्खा–९ का रामचन्द्र सापकोटा, सत्यदेवी–२ का रंगसिंह तामाङ, मिदीजंग तामाङ, रौता तामाङ, ३ का लीलाबहादुर गुरुङ, चीरमाया तामाङ, रावन तामाङ, रि–८ का मुना तामाङ, मानबहादुर तामाङ, २ का टेकबहादुर तामाङ, चन्द्रमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । गुम्दी–८ का इन्द्ररुद्रबहादुर घले, मार्पाक–५ का पदम थापा र ठेगाना नखुलेका नरबहादुर थापाको पनि मृत्यु भएको छ । धनकुमारी सापकोटाको भने उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ । मृतक धनकुमारी र रामचन्द्र आमा–छोरा हुन् । घाइतेलाई सेनाको र निजी हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पुर्‍याइएको छ । ‘हामीकहाँ ल्याइएका घाइतेहरूको उपचार भइरहेको छ,’ राजधानीस्थित त्रिवि शिक्षण अस्पतालका इमर्जेन्सी विभाग प्रमुख प्रा.डा. प्रतापनारायण प्रसादले भने । बसको टिकट काउन्टरले दिएको चलानीमा कुनै पनि यात्रुको नाम ठेगाना लेखिएको छैन । एउटै व्यक्तिले धेरै टिकट खरिद गर्ने भएकाले टिकटमा नाम नलेखिएको बस सञ्चालकले बताएका छन् ।
सदरमुकामबाट किन्ताङफेदी जान टिकट काटेका ३५ जना बोकेको बसमा बाटोमा अरू यात्री थपिएका थिए । संयुक्त बस यातायात व्यवसायी समितिका अनुसार उक्त बसमा भूकम्पले क्षतिग्रस्त घर पुनर्निर्माणका लागि पहिलो किस्ताको अनुदान लिन सदरमुकाम आएका सत्यदेवी र रि गाविसका भूकम्पपीडितको संख्या बढी थियो । बसको छत र सिटमा टनाटन यात्रु भएको प्रत्यक्षदर्शी दुर्गाबहादुर कुमालले बताए । दुर्घटनास्थल सदरमुकामबाट २३ किलोमिटर उत्तरमा पर्छ । उक्त सडकमा बस सञ्चालनका लागि कसैले पनि रुट परमिट पाएका छैनन् । पहिरोले अवरुद्ध सडक स्थानीयवासीले सम्याएपछि जबर्जस्ती यातायात सञ्चालन हुँदै आएको थियो ।
दुर्घटनालगत्तै उद्धार र उपचारका लागि चिकित्सकको टोली लिएर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शरदकुमार खत्री र प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियारको टोली मिनीट्रक लिएर अपराहन ५ बजे मात्र घटनास्थल पुगेको थियो । नजिकैको प्रहरी टोली भने करिब एक घन्टामा घटनास्थल पुगेको थियो । ‘पहिरो आएर ढिस्को परेको स्थान पारे गरेपछि सडक धस्सिएर बस खसेछ,’ डीएसपी पञ्जियारले भने, ‘वर्षात्ले सडक नै क्षतिग्रस्त छ, ठूला खाल्डा मात्रै छन् ।’ प्रहरी उपरीक्षक शरदकुमार खत्रीका अनुसार घटनामा मृत्यु भएका चन्द्रमान तामाङको गोजीमा ८४ हजार रुपैयाँ र अन्य मृतकको झोला र गोजीमा ३० देखि ५० हजारसम्म फेला परेको थियो । वर्षात्ले बिग्रेको उक्त सडक मर्मतसम्भार भएको छैन । सडक २०४७ देखि सञ्चालनमा आएको हो । बाहिरका ठेकेदारसँग स्थानीयले चन्दा माग्ने र ठेकेदारले काम नगर्ने प्रवृत्तिका कारण उक्त सडक ३३ वर्षमा ३० किमि मात्रै निर्माण भएको छ । यो सडक खण्डमा यति ठूलो दुर्घटना पहिलो पटक हो । यसअघि २०६७ सालमा मार्पाकमा ४ जना र २०६९ मा साँगकोषमा ३ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । सदरमुकामदेखि किन्ताङफेदीसम्मको सडक चालु आर्थिक वर्षमा स्तरोन्नति गर्न २४ करोडमा ठेक्का लागेको छ ।
रुट परमिट नदिइएको सडकमा दुर्घटना भएकाले बिमा र उपचारलगायत विषयमा छलफल गर्न बुधबारका लागि यातायात व्यवसायीसहितको सर्वपक्षीय बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदी जानकारी बताए ।
प्रकाशित: आश्विन ११, २०७३

कान्तिपुर





Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers