ScotNepal: पत्रकार रेश्मा
Loading...
पत्रकार रेश्मा


२२ जेठ २०७३

रातभर निन्द्राले साथ दिएन । निदाउन खोजे पनि मन र मष्तिष्कमा उडिरहेका विचारका वादलहरु रोकिने अवस्थामा थिएनन् । म त्यस्तो साथीको एकदमै आत्मिय साथी थिएँ जो सेक्सलाई शारीरिक आवश्यकता मात्र सम्झन्छे । मेरो विचारमा, सेक्स माया व्यक्त गर्ने आत्मीय सम्बन्ध मात्र हो, जीवनमा एक महिलाले एकपुरुष र एकपुरुषले एक महिलासँग मात्र राख्ने सम्बन्ध । के रेश्माले मलाई अत्यन्तै पुरानो सोच भएको मान्छे सम्झन्छे ?

“कन्या अर्थात छोरी दान दिने वस्तु होइनन् । गाई, बाच्छा, फर्निचर, भाडाकुँडासँग मान्छेलाई तुलना गर्न मिल्छ ?” एक युवतीले सम्पादक सामु तर्क राखिन् । यसले उनी पत्रकार भएको संकेत गथ्याे ।

“संस्कारलाई नमान्दा कागको वथानमा बकुल्ला बनिन्छ पत्रकार महोदय” सम्पादक हरिप्रसाद उप्रेती आफ्नो घुम्ने मेचमा हल्लिदै ती युवतीलाई सम्झाउने प्रयास गरे । अब उनी पत्रकार नै भएको पक्का भयो ।

“संस्कार मान्छेले नै चलाइल्याएको मान्यता वा परम्परा त हो सर, समयअनुसार हामीले नै परिमार्जन गर्दै लानु पर्यो नि ? संस्कारको नाममा कहिलेसम्म कुसंस्कारलाई स्वीकार्ने ?” ती युवतीले आफ्नो स्वरलाई अझ दृढ बनाएर सम्पादकसँग भनिन् ।

“कुरा त ठिकै हो तर…” सम्पादकसँग तर्कको कमि रहेको स्पष्ट देखिन्थ्यो ।

“पाले पुन्य, मारे पाप” भनि दान दिएपछि, दान पाएको वस्तुलाई मान्छेले आफ्नो ईच्छाअनुसार माया गरेर राख्न, फाल्न वा वास्ता नगर्न पाउँछ । के महिलाहरुको अस्तित्व पनि दान पाएका वस्तुसरह मात्र हो ?”

कन्यादानको विषयमा ‘नव आवाज’ मासिक पत्रिकाको कार्यालयमा सम्पादक र युवती यसरी आफ्ना तर्कहरु राखिरहेका थिए ।

सम्पादक हरीप्रसाद उप्रेती मेरा साथी हुन् । ट्राभल एजेन्सीको विज्ञापन गर्ने सिलसिलामा म त्यहाँ जाने गर्छु । आज पहिलो पटक देखेकी ती युवतीले मलाई पहिलो भेटमै प्रभावित पारिन् ।

“संस्कार, संस्कृतिलाई बचाएर राख्नु पनि हाम्रो जिम्मेवारी हो । के विवाहको पद्धतिबाट नै कन्यादानलाई हटाउनु पर्छ भन्ने मान्यता राख्नु हुन्छ तपाईँ ?” मैले पत्रकार युवतीलाई प्रश्न गरेँ ।

मेरो प्रश्नलाई गम्भीर रुपमा लिइन् क्यार उनी सोचमग्न देखिइन् । आँखामा गाजल निकै गाढासँग लगाएकी, प्राकृतिकरुपमै निकै कर्ली कपाललाई त्यसै छोडेकी, कालो जिन्समा सेतो टिसर्ट लगाएकी मैले उनलाई नियाल्न भ्याएँ । उनी निक्कै आकर्षक देखिन्थिन् ।

“हो म विवाहको पद्धतिमा साँस्कृतिक क्रान्ति चाहन्छु । कन्यादानलाई विवाहको पद्धतिबाट मात्र होइन यो शब्दलाई शब्दकोषबाट नै हटाउनु पर्छ भन्ने मेरो मान्यता हो ।” उनले आफ्नो तर्क राखिन् । म छक्क पर्दै उनका कुरा सुनेँ ।
“यो त हिन्दु धर्मको संस्कार हो, यसलाई बचाएर पो राख्नु पर्छ त ?”मैले आफ्नो मान्यता राखेँ । सम्पादकले पनि मलाई समर्थन गरेझैँ गरी टाउको हल्लाए ।

“जब छोरी दान गर्ने वस्तु नै होइनन् भने कन्यादान भन्ने शब्द राखेर हामी आफैँ किन लज्जित हुने ? प्रत्येक छोरीले कन्यादानको विरोध गर्दै आफ्नो विवाहमा कन्यादानको प्रक्रियालाई हटाउनु पर्छ” । उनको तर्क थियो ।
रेश्माजी, कन्यादान बारे एउटा लेख लेख्नुहोस्, खोजमूलक लेख । महिला अधिकारकर्मीहरुका विचारहरु पनि लिनुहोस् । सम्पादकले उत्साहित गर्दै उनलाई भन्दा उनको नाम रेश्मा रहेछ भन्ने थाहा भयो ।

ओहो सर पाँच पो बजेछ । हातमा भएको आइफोनमा आँखा अड्याएर उनले भनिन् ।

तपाईँ निस्किनु भए हुन्छ । सम्पादकले भित्ताको घडी तिर आँखा घुमाउँदै रेश्मालाई नियाल्दै भन्यो ।

रेश्माले निक्कै गह्रौँ गरी कालो ब्याग पछाडि भिरी, त्यसमा ल्यापटप र वा त्यस्तै केही गह्रौं सामाग्री थिए ।

हवस् त । ऊ बाहिरिन्छे ।

जे होस् केटी निक्कै तगडा छे, प्रत्येक विषयमा स्पष्ट विचार राख्छे । लेखन, प्रस्तुति पनि राम्रो छ । रेश्मा निस्किना साथ सम्पादक हरिप्रसादले भने ।
केही समय पश्चात म पनि निस्किएँ । पत्रिकाको अफिससँगै जोडिएको रोडको छेउमा रेश्मा उभिएकी रहिछन् । पक्कै गाडी पर्खिरहेकी होलिन्, मैले सोचेँ । मैले मेरो बाइक उनको अगाडि लगेर रोकेँ ।

कता जाँदैहुनुहुन्छ म छोडिदिन सक्छु । मैले हेलमेटको अगाडिको सिसा खोल्दै भनेँ ।

केही नबोली उनी मेरो बाइक पछाडी बसिन् ।
एक बेजोड ट्यालेण्टेड र सुन्दरी मेरो बाइकमा मलाई नै छोएर बसेकी छे । म मख्ख थिएँ ।

मलाई तपाईँका तर्कहरुले सताइरहेका छन् । मैले भनेँ ।

हजुर…? ।

तपाईँका कन्यादानसँग सम्वन्धित तर्कहरु मलाई मन पर्यो । मैले भनेँ ।
सबैलाई सामान्य लाग्ने कुराको त के महत्व नै हुन्छ र, हाहाहा…। उनको खित्का मेरो कानमा गुञ्जियो ।

कति मिठो हाँसो । यसरी हाँस्दा कति सुन्दर देखिई होली । मनमा कल्पना गरेँ ।
उनको लामो हाँसो फेरि सुनियो ।

म मेरो ट्राभल एजेन्सी कार्यालय जाँदैछु, तपाईँलाई कहाँ छोडिदिउँ ?
म क्षेत्रपाटी जाने हो । तर आरएनएसी मै छोडिदिनुहोला । त्यहाँ एक जनालाई भेट्नु छ । उनले भनिन् ।
मलाई सहयोग गर्नु भएकोमा धन्यवाद ।

बाइकबाट उत्रिएपछि भनिन् र हात हल्लाउँदै हिडिन् । पहिलो भेटमपै कुनै केटीबाट म यति विघ्न प्रभावित पहिलो पटक हुँदै थिएँ ।

रेश्मा मलाई मन परेकै हो त ? मैले आफैंलाई प्रश्न गरें । उसको साथी बन्न सकुँला ? आफ्नो मनसँग मेरो दोश्रो प्रश्न थियो । यो प्रश्नसँगै मेरो मन अनौठोसँग प्रफुल्लित पनि भयो ।

उसले मलाई साथीको रुपमा स्वीकार्ली ? मेरो मनमा पानीका छाल जसरी यस्ता अनेकौं प्रश्नहरु आउँदै गए ।

एकदिन पत्रिकाको वार्षिक उत्सवमा रेश्मासँग दिनभर सँगै रहने अवसर प्राप्त भयो । ऊ त्यस दिन झनै सुन्दर देखिएकी थिई ।

छोटो नीलो कोट र सेतो जिन्समा सेतै क्लोज सुज । सेतो एयर रिङ्ग । कालो कर्ली कपाललाई सेतो सानो रवरले बाँधेको । रातो लिपिस्टिक र कालो गाजल, निक्कै ठूला आँखा । मेरो नजर रेश्माबाट हट्नै चाहेन ।

“यहाँ पत्रकारिता मात्र गर्छु भनेर हुन्न, जस्तै ट्यालेन्ट भएपनि अलि स्मार्ट देखिएन भने मान्छेले हेप्छन् ।”

छेउमा उभिएकी एक युवतीलाई सम्झाउदै थिई ऊ ।

उहाँ चाहिँ को हो रेश्मा जी ? मैले युवतीतिर हेरेर सोधेँ ।
उनी हाम्रो पत्रिकाकी नयाँ स्टाफ, पत्रकारिता विषय पढ्दैछिन् आरआर क्याम्पसमा ।

कार्यक्रमको समापन पश्चात म अफिस जाने सोचमा थिएँ ।

के तपाई मलाई न्युरोड छोडिदिन सक्नु हुन्छ ? रेश्माले सोधिन् ।

म ठमेल जाँदैछु, अवश्य सक्छु । मैले मख्ख पर्दै जवाफ दिएँ ।

दाइजो नल्याएको आरोप लगाउँदै एक मधेशी महिलालाई शारीरिक यातना दिएको रहेछ, पिडितलाई भेट्न जाँदैछु । बाइकमा चढ्दै उनले भनिन् ।
काठमाडौं जतिको ठाउँमा पनि यस्तो समाचार सुन्न पर्छ है । म आरएनएसीबाट अगाडि बढ्दै गर्दा मैले हेल्मेटबाट आफ्नो आवाजलाई रेश्मासम्म पुर्याउन थोरै टाउको घुमाएर भनेँ ।

ठाउँ जहाँ भए पनि मान्छेको खुट्टा जहाँ उभिएपनि सोँच उही भएपछि के गर्ने ? दाइजो दिने लिने पनि त संस्कार नै त हो । के यसलाई पनि बचाएर राख्नुपर्छ भन्नुहुन्छ तपाईँ ? जसका कारण हजारौँ महिलाहरुलाई मट्टितेल खन्याएर जिउदै जलाएर मारिएको छ । उसले भनी ।

होइन रेश्मा जी नराम्रा संस्कारलाई त्याग्ने र राम्रा संकारलाई बचाएर लाने पो भनेको मैले त ।

हनुमान ढोका अगाडि बाइक पार्किङ्ग गरेर हामी हिड्दै असन तिर अगाडि बढ्यौँ ।

साँच्चै रेश्माजी तपाईँ र मेरो विचार असाध्यै मिल्ने रहेछ । मैले मुसुमुसु हाँसेर भनेँ ।

तपाईँलाई थाह छ ? हिजोमात्र झापाको अर्जुनधारामा एक दलित महिलालाई मन्दिर भित्र पस्न नदिएपछि उनले प्रसाशन सामु हार गुहार गरिन् । त्यसो गरेको आरोपमा उनलाई गाउँले सबै मिलेर कुटपिट नै गरे ।

ओहो यस्ता घटना कति छिटो थाह पाउनु हुन्छ है रेश्मा जी, साँच्चै तपाईँ महिलालाई अलिकति पनि अन्याय भएको देख्न सक्नु हुन्न । इन्द्रचोकबाट अगाडि बढ्दै गर्दा मैले भनेँ ।

“दलितका नाममा यहाँ थुप्रै दलाली छन् । दलितको नाम गरी डलर पचाउने समाजसेवी होइनन् किनकि सबै दलित गरिव, असहाय छैनन् र सबै अन्य जातिहरु सम्पन्न छैनन् । समाजमा हेपिएका, थिचिएका, पछाडि पारिएका, गरिव, असहाय, दुःखी सबै ददित हुन्, तिनीहरु चाहे बाहुन, क्षेत्री, सार्की, नेवार, मगर, सतार या जुनसुकै जात थरको होस् । तिनीहरुका समस्यालाई हेर्नु र सहयोग गर्नु सच्चा समाजसेवा हो ।

रेश्मा आफ्ना तर्क राख्दै थिई ।

….। म केही बोलिन ।

“हिजो एक दलित अधिकारकर्मी महिलासँग त्यस घटनाबारेको विचार लिन गएकी थिएँ यहीँ नयाँ बानेश्वरमा । अचम्मको कुरा जसको मैले अन्तवार्ता लिएँ उ नै पो अर्की श्रीमती भएको थाहा हुँदा हुँदै आएकी रहिछ, सौता भएर । नारीवादी रे । आफैले एउटी नारीलाई पीडा दिइरहेकी छे” ।

म छक्क परेँ ओहो समाजसेवी पनि यस्ता हुन्छन् र ?

यस्तै छ यहाँको चलन जसको शक्ति उसको भक्ति । पैसा भए पछि नाम कमाउन गाह्रो छैन ।

अब अलिकति अगाडि हातको इसाराले अगाडि देखाउछे ।

रेश्मा जी धेरै पछि यसरी हिड्न पाउँदा मलाई रमाइलो लाग्यो ।

उसोभए अब रेश्मा जी होइन रेश्मा भन, म तिम्रो साथी हो किन जी, जी लगाउछौ ?

हस् रेश्मा । मैले निकै आज्ञाकारी भएर भनेँ । तर पहिलो पटक जी नलगाइ बोल्दा अफ्ट्यारो महसुस भयो ।

फर्किदा मैले रेश्मालाई उसको घरको छेउमै पुर्याईदिएँ ।

साँझ रेश्माले प्राय फोन गर्न थाली ।

खाना खायौ ?

सुत्यौ ?

विहानै ओछ्यानमै म्यासेज गर्थी । उठ्यौ ?

छैन ओछ्यानमै छु ।

अल्छे, छिटो उठ । सात बजिसक्यो ।

रेश्माले फोन नगरेको दिन म आफै गर्थेँ ।

आज किन फोन गरिनौँ ?

ओए अल्छे तिमीले गर्दा के हुन्छ हँ ? लोभी ।

रेश्मा र मेरो मित्रता को डोरी मजाले कसिन थालेको थियो ।

यौनका विषयमा लेख्दैमा मलाई नै गलत नजरले बुझ्नु मान्छेको वुझाईको कमजोरी सिवाय केही होइन ।

उसले यौनकर्मी महिला, पुरुष, तेस्रो लिङ्गीहरुसँग भेट्ने कार्यमा मलाई साथमा लिएर जाँदा बाटोमा भनी ।

पत्रकारले जुनसुकै विषयमा लेख्नु पर्छ । मान्छेले आफ्नो सोच्ने क्षमता अनुसार बुझ्छ । तिमी चिन्ता नगर । मैले भनेँ ।

मेरो घर यहाँ नजिकै त हो, एकछिन निस्किएर जाउ ? फर्किने क्रममा उसले प्रस्ताव राखी ।

घरमा कोको हुनुहुन्छ ? गेटमा पुग्नासाथ मैले सोधेँ ।
बिहान बेलुका म हुन्छु अरुबेला कोही न कोही । उसले गेट खोल्दै भनी ।

अनि अरु आफन्तजन खै त ? मैले आश्चर्यचकित भएर सोधेँ ? यतिका दिनसम्म मैले रेश्माको परिवारको बारेमा नसोधेकोमा आफैदेखि रिस उठ्यो ।
म एक्लो सन्तान । बा–आमा सिन्धुपाल्चोक गाउँतिर हुनुहुन्छ, काठमाडौँभन्दा गाउँ प्यारो भन्नुहुन्छ । व्यागबाट साँचो निकालेर ताल्चा खोल्दै उसले भनिन् ।

“म तिमी जस्तो इमान्दार अनि विश्वासिलो साथीको खोजीमा थिएँ । तर तिमी तिम्रो अफिसको काममा बढी व्यस्त हुन्छौ । तर पनि मलाई कहिलेकाहिँ साथ दिएकोमा धन्यवाद । ” उसले हार्दिकताका साथ मलाई वैठक कोठाको पुरानो हस्तकलाबाट बनेको कुर्सीमा बस्न हातले इसारा गर्दै भनी । उसको मुखबाट म प्रतिको आभारले म निक्कै खुशी भएँ ।

“तिमीलाई केही समस्या भए मलाई एउटा साथी सम्झेर खुलस्त भन” मैले भनेँ ।

म उसको वैठक कोठालाई नियाल्दै थिएँ । भुईँमा ओछ्याइएको परालको सुकुलमा आँखा अडिए । टेलिभिजनको टेवल छेउमा भएको माटाको फुलदानी त्यसमा राखिएको धान, गहुँ अनि जौँका सुकेका गासहरु, भित्तामा कलाकारले आर्ट गरेको ठूलो फोटो । जसमा नेवारी भेसकी महिला र पुरुषले माटाका भाँडा कुद्दै गरेका । सबै ऐतिहासिक जस्ता देखिने समानहरु देख्दा मलाई लाग्यो एउटा सानो संग्राहलयमा पसेको छु ।

“एकैछिन है म चिया बनाएर ल्याउछु ।” ऊ किचन तिर गई ।

“ल चिया बनाएर ल्याएँ । माटाका ग्लासमा चिया देखेर म छक्क परेँ ” मैले चियालाई काठको राम्रो बुट्टा कुदिको टेवलमा राख्दै गरेकी रेश्मालाई हेरेर भनेँ ।
“हाहाहा… मलाई हाम्रा ऐतिहासिक पहिचान दिने बस्तुहरु अति मन पर्छ जुन हाम्रा चिनारी हुन् ” । चिया हालेको माटाको ग्लासलाई हातमा थमाइराखेर उसले भनी ।

म भित्तामा काठले कुदिएको फोटो फ्रेममा मुसुक्क मुस्कुराईरहेकी रेश्मालाई हेर्दै थिएँ ।

“हेलो मिस्टर, मेरो फोटो धेरै नहेर त । आँखा लाग्ला फेरि हाहाहा… ”

“ कोठै गुञ्जिने गरी हाँस्नु पर्छ है तिमीलाई । साँच्चै रेश्मा तिमीलाई पाउने केटा भाग्यमानी हुनेछ । तिमीजस्तो समभदार केटी सबैको भाग्यमा कहाँ जुर्छ र ? ” म निकै भावुक भएँ ।

“तिमीजस्तो कुरा बुझ्ने मान्छे पाउने केटी पनि त भाग्यमानी नै हो । बरु चाडै असल जीवनसाथी खोजेर विवाह गर । ” उ मुसुक्क हाँसी ।

त्यस साँझ उसको सल्लाहले मलाई निकै प्रभावित पार्यो ।

“तिमीबाट म धेरै कुरा सिक्न चाहन्छु रेश्मा, व्यवसाय गर्दा गर्दै दिमाग पैसा कमाउन मात्र व्यस्त भएछ, सानैदेखि साहित्यमा रुचि थियो अव भने म साहित्य सिर्जनामा पनि टाइम खर्चन चाहन्छु”।

“मैले जानेको कुरा तिमीसँग साट्ने छु, अनि तिमीले जानेको मलाई सिकाउ, डन्ट वरी, यू आर सो स्वीट” मेरो कुर्सी छेउको सानो पलङ्गमा ढल्किएकी रेश्माले कर्के नजरले मलाई हेरेर भनी ।

“किन विवाह नगरेकी तिमीले ?” उसलाई हिम्मत गरेर सोधेँ ।

“तिमीजस्तो समझदार केटो नभेटेर हाहाहा…” । गहुँ गोरी उसको गालामा डिम्पल प्रस्ट देखिएको थियो हल्का मुस्कुराउँदा ।

“नेवार्नी बिहे गर्यो भनेर रिसाउलान् नि आमा बाबा हाहाहा…”

“जति पनि छन् बाहुनी चिन्ता नगर तर म जतिको पाउन गाह्रो छ हाहाहा…”
उसको वाक्यले मलाई उसप्रति अझ आत्मियताको महसुस हुदै थियो तर मेरो प्रश्नलाई मजाक मै उडाइ की भन्ने चिन्ता पनि थियो उत्तिकै ।

“भनेजस्तो जीवन साथी नभेटेर नै हो मैले चाहिँ अहिलेसम्म विवाह नगरेको । विवाह गरिसकेपछि त सबै गुण भएको मान्छे चाहियो नि । पछि पछुताउनुभन्दा वेलैमा वुद्धि पु¥याउनु राम्रो । विचार, आर्थिक अवस्था, शैक्षिकस्तर र शारीरिक सन्तुष्टि सबै मिल्नु पर्छ नत्र जीवन वर्वाद हुन्छ ।” चियाको कप टेवलमा राख्दै उसले भनी ।

अरुकुरा त सबै ठीकै भनेकी थिई “शारीरिक सन्तुष्टि मिल्नु पर्छ” भन्ने कुराले चाहिँ मेरो मनमा भुइँचालो ल्याईदियो । यो त विवाहपश्चातको कुरा हो भन्ने लाग्थ्यो मलाई । तर सोध्ने हिम्मत जुटाइन । अझ घनिष्ट भएपछि सोधौँला भनि आफ्नो मनलाई मनाएँ ।

उसको घर मेरो अफिसबाट धेरैमा १५ मिनेटमा पुगिन्थ्यो । एकदिन अफिस पुग्दा ढोका वन्द थियो । स्टाफलाई फोन गरेँ बाटामा आउदा आउदै सानो बाइक दुर्घटनामा परेकाले २ घण्टा पछि मात्र आइपुग्छु भन्यो । अर्को चाबी घरमा थियो । के गरी समय बिताउने दुविधामा थिएँ । एकछिनको दुविधा पश्चात रेश्माको घरतिर लागेँ ।

निक्कै वेर घन्टी बजाएँ । वल्ल उसले ढोका खोली । भित्र पश्नासाथ कुनै ब्रान्डेड रक्सीको गन्ध मेरो नाकभित्र पस्यो । उसको वेडरुममा कोही अपरिचित व्यक्ति (पुरुष ?)सुतिरहेको थियो । रेश्मामा कुनै अफ्ठ्यारोपनको महसुस थिएन कि मैले उसलाई घरमा कोही एउटा पुरुषसँग एक्लै देखेँ ? म निक्कै दुःखी भएँ ।
केही छिनको औपचारिक गफ पछि म फर्किहालेँ । दिनभर मन खिन्न भयो ।

“रेश्मा विहान तिम्रो वेडमा सुतिरहेको मान्छे को हो ?” दिउसो अफिसको काम सकेर खाजा खाने क्रममा म्यासेन्जरमा उसलाई सोधेँ ।

“ए त्यो मेरो व्वाइ फेण्ड हो, हिजो मात्र फ्रान्सबाट आएको, अव केही दिन पछि घर जान्छ पोखरा” । उसले म्यासेजको तुरुन्त रिप्लाई पठाई ।
म अचम्मित थिएँ ।

“हिजोसम्म म जस्तो समझदार केटा नभेटेर विवाह नगरेको भन्थी, स्त्रीको मन बुझि नसक्नु छ , अनि बुझिनसक्नु दुनिँया ।” भुत्भुताएँ मनमनै, अनि म्यासेज टाइप गरी पठाइ दिएँ ।

“तिमीले भन्न खोजेको के ? अहिलेको दुनियाँमा तिमीले खोजेको जस्ती केटी पाउन गाह्रो छ । ”

“हाहाहा…म जस्तो केटा पाउन पनि त गाह्रो छ नि रेश्मा ? ”

“ठीक भन्यौँ मलाई तिम्रो हरेक बानी मन पर्छ ।”

त्यसपछि ऊ हराई । फोन अफ गरेको कुरा उसलाई फोन गर्दा मात्र थाह पाएँ ।
बारम्बार फोन गरिरहेँ । तर, मोबाइल खुलेको थिएन ।

के रेश्मा त्यही भुसतिघ्रे, ओछ्यानमा पल्टिरहेको केटासँग उसैको घर पोखरा गई ? कि कहाँ गई ? किन फोन पनि अफ गरी ? मनमा अनेक प्रश्न उब्जिदै हुर्कन नपाई मर्दै थिए ।

रेश्माको जन्मदिनको नोटिफिकेसन फेसवुकले बिहानै जानकारी गराइसकेको थियो ।

“रेश्मा तिमी कहाँ छौ ?’ मोबाइल अफ थियो । त्यसैले म्यासेज पठाएँ ।
करिब १ घण्टा पछि उसले रिप्लाइ गरी ।

“कहाँ हुनु र घरमा यार । ”

बिहान अफिस पुगेर केही अत्यावश्क मेलको रिप्लाई पठाइसक्नासाथ रेश्मालाई फोन गरेँ । फेरि पनि अफ नै छ मोबाइल । मन थाम्न सकिन र रेश्माको घरतिर लागेँ । बाटोमा एउटा फोटोको फे्रम किने जन्मदिनको उपहार उसलाई दिन ।
पहिलाको झैँ मैले घन्टी बजाइरहेँ । बल्ल बल्ल ढोका खोली उसले । मलाई संका लागि सकेको थियो । उसको पहिलाको रितेश भन्ने व्वाइफे्रण्ड भित्र होला भनेर तर वाश्तविकता अर्कै थियो । भित्र अर्को कोही पुरुष थियो । जो रेश्मालाई आफ्नी श्रीमतीलाई झैँ अह्राउदै थियो ।

“रेश्मा मलाई एउटा टुथ ब्रस ल्याइदे है”

“ए लल” । उ पनि आज्ञाकारी पत्नीले झैँ उत्तर दिदै थिई ।
धेरै बसेर उनीहरुलाई वाधा पु¥याउनु उपयुक्त ठानिन, त्यसैले हिडिहालेँ ।
जन्मदिनको उपहार हातमा पर्दा उ निकै खुशी देखिएकी थिई । दिनभर सम्झिरहेँ उसको त्यो हँसिलो मुहार ।

“तिम्रो कोठामा बिहान मैले देखेको त्यो केटा चाहिँ को हो ?” साँझ फेसबुक अनलाइनमा रेश्मालाई देख्ना साथ प्रश्न गरेँ ।

“ए त्यो ? त्यो मेरो व्वाइफे्रण्ड नै हो” उसले इनबक्स म्यासेज गरी ।

“दुई व्वाइफे्रण्ड ? ओहो किन यस्तो” । मैले फेरि अर्को प्रश्न टाइप गरी सेन्ड गरेँ ।

“अस्तिको काम नलाग्ने मान्छे रैछ यार, त्यस्ताको संगत गरेर कहाँ हुन्छ”

“नजिक हुनु अगाडि नै राम्ररी बुझ्नु पथ्र्यो नि”

“नजिक नभई सबै बानी, व्यवहार कहाँ थाह हुन्छ र डियर”

“धेरै केटाहरुसँग संगत गर्ने बानी पर्या छ कि के हो ? हा हा हा…” ठट्टा गरेँ झैँ म्यासेज इन्बक्स गरेँ मैले ।

“म थोरै बिजी भएँ भोलि भेटमा कुरा गरौँला , सि यु टुमरो डार्लिङ” ऊ हराई त्यस पछि ।

अविवाहीत केटी उसलाई धेरै छोरा मान्छेले प्रयोग गरिरहेका छन् । ऊ किन प्रयोग भइरहेकी छे ? किन विवाह नगरी दुई चार दिनको खेलौना मात्र बनाउँछन् पुरुषहरु उसलाई । त्यतिकी सुन्दर अनि बेजोड ट्यालेन्ट, धेरैैले बोल्ड भन्ने गरेकी केटी आखिर किन अन्याय सहेर बसेकी छे ? मलाई सही नसक्नु हुन्थ्यो, उसको बारेमा सोच्दा ।

“विहे त गाउँको सिम्पल केटीसँग गर्ने हो ,रेश्मा त मेरो टाइम पास हो”

उसको कुन्नी कुन नम्बरको व्वाइफे्रण्ड हो रेश्माको घरको गेटबाट निस्किदै गर्दा अर्को (मैले नचिनेको) मान्छेसँग भन्दै थियो । यति भनिसक्दा मलाई देख्यो, तर नदेखेझैँ ग-यो उसले । रेश्मा बारेको नकरात्मक टिप्पणीले मेरो दिमागको पारो तातिरह्यो केही क्षण ।

“अव चाहिँ म रेश्मालाई कसैको प्रयोग हुने साधन वन्न दिने छैन । यदि कुनै पुरुषबाट ऊ पीडित छे भने उसको साथ दिने छु’ मैले कम्मर कसेँ ।
उसँग बसेर राम्ररी कुरा गर्छु । उसको दुःखमा साथ दिनु मेरो पनि कर्तव्य हो । एउटा साथी हुनुको सार्थकता हो । यही सम्झेँ ।

उसको घरमा छिर्दा ऊ नुहाउन बाथरुम पसेकी थिई ।

रेश्मा…रेश्मा… निक्कै ठूलो स्वरले कराएपछि ‘बाथरुममा छु, बस्दै गर’ उसले बाथरुम भित्रैबाट भनी ।

म यतैबाट अफिस जाँदै थिएँ त्यही भएर निस्किएको अहिले गएँ भरे कुरा गर्छु । बाथरुम छेउबाट उसले सुन्ने गरी भनेँ र निस्किएँ । रेश्माले नुहाइसकुनन्जेल पर्खिरहनु उचित लागेन ।

“ रेश्मा तिमी कहिले विवाह गर्ने ? ” राति ओछ्यानमा पल्टिए पछि मैले म्यासेन्जरबाट फोन गरी सोधेँ ।

“मेरा अहिलेसम्मका व्वाईफे्रण्ड विवाहका लागि उपयुक्त छैनन् । म चाहन्छु मेरो लोग्नेले मलाई एक असल जीवन साथीको रुपमा स्वीकारोस् र माया गरोस् । मेरो रुप देखेर अनि एउटा प्रयोग गरिने वस्तुको रुपमा होइन ।”

“तिम्रो बानी देखेर आजकल मलाई तिमीसँग घृणा जाग्न थाल्या छ, एउटा राम्रो मान्छे खोजेर विवाह गर” मैले म्यासेज गरेँ ।

“म त्यही गर्न चाहन्छु तर मैले भने जस्तो मान्छे भेट्या छैन” उसले म्यासेज गरी ।

जे सम्झियोस्, म मेरो ठाउँमा सही छु । प्रश्न र उत्तरहरुको दोहोरी यसरी नै मेरो मनमा खेल्दै गए ।

निकै दिन भएको थियो रेश्मासँग भेट नभएको ।

आमा गाउँमा विरामी परेकाले केही समयदेखि यतै छु । नव वर्षको विहानीमा ओच्छ्यानमै थिएँ । फेसबुकमा म्यासेज गरी उसले । अनि फेरि लेखी नववर्षको शुभकामना ।

मैले सोचेँ सच्चा मित्र त्यो हो जसले मित्रको नराम्रो पक्ष देखाइदिन्छ र राम्रो होस् भन्ने मात्र चाहना राख्छ, हो म त्यही चाहन्थेँ । म चाहेर पनि उसको बाटो हिँड्न सक्दिन थेँ । म हिँड्ने बाटो उसको बाटोभन्दा हजारौँ माइल पछाडि थियो अनि मेरो सोच पनि ।

रेश्माको साथी हुन म पनि रेश्मा जस्तै नै हुन पर्छ भन्ने छैन । उसलाई ठीक लागेका कार्य आफूले पनि गर्नु पर्छ भन्ने छैन । उसले रोजिरहेको गलत बाटो देखाइदिएर सही बाटो रोज्न सिकाउनु पर्छ सच्चा मित्रले । यही सम्झेँ ।

“रेश्मा तिमी एउटा राम्रो जीवन साथी खोज, जसले तिमीलाई एकदमै माया गर्ने छ, बेहुली बनाएर जीवनभर साथ दिनेछ” । मैले सोचेँ अव म उसको हातमा मेरो हात राख्ने छु र भन्ने छु ।

“रेश्मा तिमीलाई पापी लोग्ने मान्छेहरुले खेलौना बनाइरहेका छन् , अव राम्रो मान्छे हेरेर जीवनसाथी बनाऊ, विवाह गर, तिम्रो उमेर छिपिदैछ ” । साँझ रेश्मालाई फोनमा भनेँ ।

“तिमी कुन जमानामा छौ निश्चल ? एउटा कुरा तिमी के बुझ भने म कसैको खेलौना भएकी छैन ।”

म ट्वाल्ल पर्दै थिएँ ।

“ मैले मेरो ईच्छाअनुसार उनीहरुलाई खेलौना बनाइरहेकी छु । प्रयोग गरिरहेकी छु ”

“तिमी के भन्दै छौ ? तिमी कति पीडामा हौली, तिमीलाई धेरै पुरुषहरुले प्रयोग गरिरहेका छन् भनेर म चिन्तित थिएँ ।”

“पीडित त्यहाँ हुन्छ मान्छे, जहाँ उसको ईच्छा विपरित कुनै कार्य हुन्छ ।”
ऊ रिसाएर बोलिरहेकी थिई ।

“यो सब तिमी चाहन्थ्यौ ? मैले सोच्या थिएँ तिमी बाध्य छौँ ?” मैले पनि चर्कै स्वरमा प्रतिप्रश्न गरेँ ।

“म पनि एक जवान केटी हुँ ,शारीरिक सम्वन्धको ईच्छा मलाई पनि हुन्छ, हो त्यही ईच्छा पूर्तिको लागि मात्र मैले लोग्ने मान्छेलाई प्रयोग गरिरहेकी छु । तिनीहरुमा एउटा लोग्नेमा हुने गुण नपाएसम्म म प्रयोग मात्र गर्ने छु, मेरो शारीरिक ईच्छा पूरा गर्ने साधन को रुपमा ।”

“केटा मान्छेहरु पनि प्रयोग हुन्छन् र ?” यो प्रश्न मनमा उब्जियो तर मैले भन्न सकिन या चाहिन ।
…………………………………………………
जोमसोमको पैदल यात्रामा ठ्याक्कै ८ वर्ष अगाडिको उसको वास्तविक कथा पुरानो मित्र निश्चलले सुनायो ।

अनि अहिले रेश्मा कहाँ छिन् ? अहिले पनि कुरा हुन्छ तिम्रो ? मैले उत्सुकतापूर्वक सोधेँ ।

काठमाडौंमा नै छिन्, दिन रात कुरा हुन्छ उनीसँग । तर अहिले पत्रकारिता छोडेकी छिन्, उपन्यास लेख्दैछिन् नारीवादमा आधारित ।

अनि अरु केही काम गर्दिनन् अहिले ?

मेरो एक छोरो र छोरीकी आमा भएर केटाकेटी हुर्काउन मै व्यस्त बढी व्यस्त छिन् ।

हँ …तिमीले विभिन्न पुरुषहरुसँगको सम्बन्ध बारे जानकार हुँदाहुँदै पनि रेश्मालाई स्वीकारेउ ? तिमी त महान् रैछौ यार । उसलाई धाप मार्दै उकालो चढ्ने क्रममा मैले भनेँ ।

रेश्माको कुनै पनि अन्य पुरुषसँग अनैतिक सम्बन्ध थिएन । जब रेश्माले संस्कार र परम्पराहरुमा सांस्कृतिक क्रान्ति हुनुपर्छ भन्थी मेरो मनमा विभिन्न भ्रमहरु पैदा हुन्थे । उसले भन्यो । म उकालो चढ्ने क्रममा अलिकति अगाडि बढिसकेको थिएँ, यो सुनेर अडिएँ ।

के परपुरुषहरुसँग तिमीले रेश्मालाई उसकैघरको ओछ्यानमा देखेको, के त्यो पनि भ्रम थियो ? अगाडि नबढी उसलाई सोधेँ ।

एकदिन उसको घरमा पुग्दा अर्को कोही भुसतिघ्रेलाई देखेँ, अर्को दिन अर्कोलाई । अनि एकदिन बाटोमा दुई पुरुषहरुले रेश्माबारे नकारात्मक टिप्पणी गरेको सुनेँ । यी सब मेरा भ्रम मात्र थिए ।

अनि रेश्मासँग फोन र म्यासेन्जरमा भएको कुराकानी ?

त्यसमा पनि केहीकेही चाहिँ मेरा भ्रम मात्र थिए । रेश्मा त सच्चा, सालिन र इमान्दार युवती थिई, त्यही भएर त मैले ऊसँग विवाह गरेँ ।

तिमीलाई त्यो कुन रोग लागेको रहेछ ? के तिमीले डा.को सल्लाह पनि लियौ ? उकालोमा श्वास बढिरहेको थियो । स्वाँस्वाँ गर्दै मैले सोधेँ ।

हाहाहा…सबैभन्दा ठूलो त प्रेम रोग लागेको थियो, जसले सहिलाई गलत र गलतलाई सही पनि देख्दो रहेछ ।

हाहाहा… दुबै हाँस्यौँ ।
……………….
निश्चलको अनौठो कथा सुनेपछि नयाँ कथावस्तु खोजिरहेको मैले कथा लेख्ने निधो गरेँ ।

- आठैप्रहर बाट साभार : 

क्रान्ति पराजुलीका अन्य कथाहरु
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers