ScotNepal: सिक्किम विलयपछि नेपाली नेताहरु यसरी पछुताए
Loading...
सिक्किम विलयपछि नेपाली नेताहरु यसरी पछुताए

काठमाडौं,पाकिस्तान टुक्र्याएर देशभरिबाट वाहवाही बटुलेपछि इन्दिरा गान्धी सिक्किमलाई भारतमा गाभेर अाफ्नाे राष्ट्रिय हित अझ सुरक्षित गर्ने अभियानमा लागिन् । तिब्बत र भारतको बीचमा पर्ने यो भूखण्ड कुनै समय स्वाधीन, भए पनि यस बेला विश्वमा प्रचलित मान्यता अनुरूपको ‘स्वतन्त्र राष्ट्र’ थिएन र वैधानिक रूपमा “भारत संरक्षित राज्य” थियो ।

भारत गणतन्त्र हुँदा पनि त्यहाँ राजतन्त्र थियो । राजा (चोग्याल) तिब्बती मूलका थिए । उनको पारिवारिक र भावनात्मक सम्बन्ध तिब्बतसँग बढी थियो । त्यहाँका कतिपय गुम्बाहरू आफूलाई तिब्बतको पोताला दरबारद्वारा संरक्षित ठान्दथे । तर, जनसंख्या नेपालीको बढी थियो । आर्थिक गतिविधि, शिक्षा र विकासको काममा नेपालीको प्रभावशाली भूमिका थियो ।

नेपालीहरू स्वभावतः तिब्बतभन्दा भारतप्रति ज्यादा सद्भावना राख्दथे । भारत स्वतन्त्र भएपछि पहिले ब्रिटिसहरूले गरिआएको अभिभावकत्वको जिम्मेदारी भारतले पायो । भारतले सिक्किमलाई ‘विशेष दर्जा’ दिँदै त्यहाँ राजनीतिक सल्लाहकार नियुक्त गर्यो, परराष्ट्र, सुरक्षा र सञ्चार सम्बन्धमा भारतको अधिकार हुने सन्धि भयो । त्यसपछि शासनप्रणालीमा जनसहभागिता बढाउनु र लोकतन्त्रीकरण गर्दै जान राजालाई दबाब दिइयो । यसो गर्दा नेपालीहरू बढी लाभान्वित हुन्थे ।

झिंगालाई बन्दुक

भारत कालान्तरमा आफ्नो देशको लागि खतरा बन्न सक्ने आशंका शासकहरूले त्यसअघि नै गरेका थिए । त्यसैले उनीहरू भित्रभित्रै नेपाल, भुटान र सिक्किम सम्मिलित ‘हिमाली संघ’ बनाउने चाहना राख्दथे । यो यथार्थबाट भारत अनभिज्ञ थिएन । भारतमा लोकतन्त्रको उदयपछि सिक्किमी जनताले पनि आफ्नो अधिकारप्रति चासो लिन थाले । पार्टी खोले । सत्तामा सहभागिता मागे ।

यसरी सिक्किममा राजा र जनताबीच द्वन्द्व चर्किरहेको अवस्थामा (१९६०) तिब्बतलाई चीनले कब्जा गर्यो । चीन यसरी सिक्किमको सीमासम्म आएकोमा भारत झस्कियो र सीमामा सुरक्षा चौकीहरू थप्नुका साथै गान्तोकमा पनि सैन्य बल बढायो । परिणामस्वरूप भारतले सिक्किम खाने चर्चा हुन थालेपछि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले भने, “यदि सिक्किम जस्तो सानो देशलाई हामीले बल प्रयोगद्वारा अधीनमा ग¥यौं भने त्यो एउटा झिंगालाई बन्दुकले उडाइ दिनुजस्तै हुनेछ ।”

त्यसताका नेहरू ‘भारत–चीन भाइ–भाइ’को नारा लगाइरहेका थिए । दुई देशबीचको सम्बन्ध ज्यादा खराब थिएन ।

१९६२ को युद्धपश्चात् चीनसँग शत्रुवत् सम्बन्ध रहेपछि भारत सिक्किम–सन्दर्भमा पनि ज्यादा गम्भीर भयो । चीनले सीमावर्ती क्षेमा सैन्य गतिविधि बढाइरहेको तथा चोग्याल भारतको रिसले चीनसित निकट हुन थालेका समाचार आए । अर्कोतिर लोकतन्त्रवादीहिरू राजाविरुद्ध संगठित भई संघर्ष अघि बढाए । यस क्रममा उनीहरूले भारतसँग सहयोग मागे । भारतबाट बल पनि पाए ।

यस सिलसिलामा एउटा दलका नेताहरूले त दिल्लीमा बैठक गरी ‘चोग्यालको गुलाम हुनुभन्दा सिक्किमलाई भारतमा गाभ्नु राम्रो हुने’ निर्णय गर्दै यसका लागि अग्रसर हुन भारत सरकारलाई अनुरोध गरे । तर, आम नागरिक र लोकतन्त्रवादी नेताहरू व्यवस्थामात्र परिवर्तन चाहन्थे, विलय होइन । पछि ‘देशबेचुवा’ भनी बदनाम भएका काजी लेन्द्रुप दोर्जी, रामचन्द्र पौडेल, चरबहादुृर खतिवडा आदि पनि यही पक्षमा थिए ।

चोग्याललाई तह लगाउन भारतीय प्रशासकसँग मिल्नुबाहेक विकल्प उनीहरूले देखेनन् र भारतीय प्रशासनले उनीहरूलाई चारो हाल्दै आफ्नो जालमा पारिसकेका थिए । त्यसपछि भारतीय सशस्त्र प्रहरी (सीआईपी) ठूलो संख्यामा तैनाथमात्र गरिएन, राजाको नियन्त्रणमा रहेको सिक्किमका प्रहरीहरूलाई अस्तित्वविहीन बनाइयो । पूरा सिक्किममा सीआरपीले अघोषित कब्जा जमायो ।

अंग्रेजीको नबुझ्दा

सीआरपीले सुनियोजितरूपा राजनीतिक प्रकरणमा पनि हस्तक्षेप गर्ने र राजावादीहरूलाई आतंकित पार्ने काम गर्यो । परिवेशमा भारतले मध्यस्थता गर्दै गराएको सम्झौता अनुरूप भएको विधानसभाको चुनावमा अत्यधिक संख्यामा लोकतन्त्रवादीहरू विजयी भए ।

राजाविरोधी नेताहरू भारतको दबाबमा सिक्किममा दिगो शान्ति, विकास र जनअधिकारका लागि” एउटा विधेयक व्यवस्थापिकाबाट पास गर्न राजी भए । भारतले तयार पारेको उक्त प्रस्ताव अंग्रेजीमा लेखिएको थियो, जब कि विधानसभाका ३२ सदस्यमध्ये २० जना अंग्रेजी भाषा पटक्कै नबुझ्ने थिए । विधेयकको प्रतिलिपिसमेत सदस्यहरूलाई नदिई बैठकमा भारतद्वारा नियुक्त मुख्य कार्यकारी अधिकृत बीएस दासले सर्रर पढेर सुनाए । त्यसलगत्तै विधेयक निर्विरोध पारित भएको घोषणा गरियो । जनताले विधानसभा सदस्यहरूसमेतले पछि मात्र थाहा पाए । देशको प्रशासन सञ्चालनको काम भारतीय प्रशासकलाई सुम्पिएछ र सिक्किमलाई भारतमा विलय गर्ने कि नगर्ने भनी चाँडै जनमतसंग्रह गर्ने निर्णय गरेछ । त्यो निर्णय कार्यान्वयन गर्ने जिम्मेवारीसमेत भारतीय प्रशासनले लिएको थियो ।

आतंकको छायाँमा जनमत

तदनुरूप केही समयमै १४ अप्रिल १९७५ मा सीआरपीको आतंकको छायाँमा जनमत संग्रह भयो । जसको परिणाम मतदानभन्दा पहिले नै स्पष्ट थियो । ९३ प्रतिशत मत विलयको पक्षमा रहेको घोषणा भयो । त्यसको एक महिनापछि संविधान संशोधन गरी १६ मईमा भारतमा विधिवत् भारतीय संघमा समावेश गरियो ।

यसरी स्वतन्त्र अस्तित्वको लागि छट्पटाइरहेको, लामो इतिहास बोकेको, एउटा देश राजा र जनताबीचको द्वन्द्वले गर्दा हाम्रो आँखासामु बिलाएर गयो । राजाले जनतालाई समयमै अधिकार सम्पन्न बनाई राष्ट्रिय एकता कायम नगर्नाले राजतन्त्रमात्र समाप्त भएन, देशकै अस्तित्व लोप भयो । त्यस्तै, राजनीतिक दलहरूले परिस्थितिको मूल्यांकन र परिणामको आँकलन नगरी आँखा चिम्लेर संघर्ष चर्काउँदा कस्तो नतिजा आउन सक्छ भन्ने कठोर शिक्षा दिने घटना थियो त्यो ।

आफ्नो मुलुकलाई यसरी इन्दिरा गान्धीले आफ्नो साडीको फुर्को बनाएपछि लोकतन्त्रकामी नेपाली भोटे, लेप्चा सबै झस्किए । तर, उनीहरूसँग पश्चातापको सुस्केरा फाल्नुबाहेक कुनै विकल्प बाँकी थिएन ।

वीपी कोइराला र सिक्किम विलय

विलयको लगत्तै भारत सरकारले सिक्किम विधानसभाका अधिकांश सदस्यहरूलाई भारतले गरेको प्रगतिको अनुभूति गराउन विभिन्न क्षेत्रको भ्रमण गरायो । यस क्रममा उनीहरूको इच्छाअनुसार बनारस, सारनाथ भ्रमणको पनि कार्यक्रम थियो । त्यो टोलीमा आएका सदस्यहरूमध्ये नरबहादुर खतिवडा पनि थिए । राजाविरोधी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका उनी त्यसबेला जल्दोबल्दो युवा नेता थिए । उनी बीपी कोइरालाबाट निक्कै प्रभावित रहेछन् । एकपल्ट बीपीलाई भेटिसकेका पनि रहेछन् ।

बनारसको कार्यक्रम बनाउँदा उनले भ्रमण दलको संयोजक भारतीय अधिकारीलाई आफ्नो टोलीको भेट बीपीसँग गराउन आग्रह गरेछन् । ती अधिकृतले ‘कोइराला सारनाथमै बस्नुहुन्छ, सारनाथ घुमिसकेपछि समय उब्रिएछ र उहाँले समय दिनुभएछ भने कोसिस गरौंला’ भनेछन् । तर सारनाथको लागि छुट्याइएको समय त्यहाँको बौद्धस्तूपा घुमाउनमै समाप्त पार्न लागिएको र बीपीसँग सम्पर्क पनि नगरिएको संकेत पाएपछि खतिवडाले ‘म ट्वाइलेट गएर पाँच मिनेटमा आउँछु’ भनी सुटुक्क कोइरालाको निवासस्थान पुगेछन् ।

खतिवडासँगको कुराकानी बताउँदै बीपीले भन्नुभयो– “हेर्नुस्, हामीलाई माननीय सदस्यज्यू भन्छन् बोलीमा सम्मान गर्छन्, तर व्यवहार कैदीको जस्तो गरेका छन् । उनीहरूकै खट्नमा हिँड्नुपर्छ । हाम्रो सबै स्वतन्त्रता खोसेका छन् । देशै खोसे, अरू स्वतन्त्रताको के कुरा गर्नु ?”

“स्वतन्त्रता र अधिकारको लागि चोग्यालसँग लडाइँगर्दा आखिर देशै गुमाउनु पर्यो । भारतले ठूलो धोका दियो । हाम्रो देशै खाइदेला भन्ने लागेको भए हामी हरदयाल, बीएसलाल दास र अरू भारतद्वारा सिक्किममा नियुक्त प्रशासकलाई लखेटेर पठाइदिने थियौं । समयमै भारतको चाल बुझ्न सकिएन, हामीलाई ठूलो पछुतो छ । इतिहासले पनि हामीलाई माफ नगर्न सक्छ । मलाई आत्मग्लानी भइरहेको छ । मनको कुरा भन्ने मान्छे पनि कोही छैन । म त जता हेर्यो उतै ‘र’ को मान्छे मात्र देख्छु । जो देखे पनि यो पनि ‘र’ कै मान्छे होला जस्तो लाग्छ । विश्वास गर्ने कोही छैन । त्यसैले मनको पीडा भन्न, उकुसमुकुस पोख्न, भागेर तपाई कहाँ आएको हुँ । म यहाँ आएर तपाईंलाई भेटेको कुरा म गोप्य राख्छु, उनीहरूलाई भन्दिनँ” खतिवडाको कुरा उहाँले सुनाउनुभयो । उनी त्यहाँ २० मिनट जति बसेछन् ।

“दिएको कफी पनि हतारहतारमा बीपीले हाँस्दै भन्नुभयो, फुफु गरेर मुख पोल्दा पोल्दै खाएर दौडिएर जानु अघि भने– तपाईं हाम्रो आदर्श हो, प्रेरणा हो । तपाईंले हाम्रो अभिभावकको भूमिका निभाउनुपर्दछ । म फेरिफेरि भेट्न आउँछु । हजुरसँग धेरै कुरा सिक्नु छ । सुन्नु छ । तर मेरो एउटा अनुरोध छ, भारतीयहरूको कुरा नपत्याउनु होला, यिनले हजुरलाई पनि धोका दिनेछन् । भारत त ब्वासो पो रहेछ । सिक्किम त खाए भने मौका परे नेपाल झन् किन छोड्थे । हजुरहरू होसियार हुनु होला, म यही भन्न आएको हुँ ।

भारतले सिक्किमलाई ‘नियन्त्रणमा राख्ने, विलय गरिनहाल्ने’ नीति परित्याग गरी अन्ततः कपटपूर्वक आफूमा गाँभ्नुको मुख्य कारक तत्व थियो– उसको सुरक्षा चासो । आफ्नो करेसाबारीमा ‘शत्रु’ ले आँखा गाडेपछि धैर्य टुटे झैं त्यहाँ चीनको प्रभाव र गतिविधि बढ्न थालेको आभास पाउनासाथ उसले रणनीति फेरेको थियो ।

नेपालमा पनि राजा महेन्द्रले भारतविरोधी भावनालाई प्रोत्साहन गर्ने, भारतीयहरूलाई अपमान गर्ने, लोकतन्त्रवादीहरूलाई भारतीय एजेन्ट भनी बदनाम गराउने तथा तिनको प्रभाव र गतिविधि निम्त्याउने एवं चीन समर्थक मानिने राजनीतिक कार्यकर्ताहरूलाई प्राथमिकता दिने नीति अपनाएको देख्दा भारतले कुनै पनि क्षण नराम्रोसँग झम्टिने आशंका उत्पन्न भइरहेको थियो ।

झण्डै सिक्किम बन्यो अफगानस्तान

पं. नेहरूजस्तो उदारवादी नेताले समेत हिमालयसम्म आफूहरूको सुरक्षा–चासो हुने दाबी गरेको तथा बीपी कोइरालाले त्यसको प्रतिवाद गरेपश्चात् उनले आफ्नो भनाइ सच्याएको इतिहास सम्झिनेहरू बढी सचेत हुनु स्वाभाविक थियो । जुन बेला सिक्किममा राजा र लोकतन्त्रवादीबीच भित्रभित्रै द्वन्द्व चलिरहेकै अवस्थामा १९७३ मा हाम्रै नजिकको अर्को अधिराज्य अफगानिस्तानमा त्यहाँको निरंकुश राजतन्त्रविरुद्ध राजाकै ज्वाइँ दाउद खानले सेनाका सहयोगले सत्ता पल्टाइदिए । राजा जहिर शाह विस्थापित भए । राजतन्त्र मासियो ।

तर, दाउदको शासन पनि धेरै टिक्न सकेन । छिमेकी महाशक्ति सोभियत संघ रुसको सहयोगमा बलियो हुँदै गएको एउटा जत्थाले उनलाई अपदस्थ गर्यो । विस्तारै त्यहाँ द्वन्द्व चर्किएर यस्तो अराजकतापूर्व र अस्थिर अवस्था उत्पन्न भयो कि सरकारले परिस्थिति नियन्त्रण गर्न औपचारिक रूपमै रसियन सेना हुल्नु प¥यो । रसियन सेना पसेपछि अफगानिस्तान गृहयुद्धमा फस्यो । रसियन सेनालाई फिर्ता पठाउन अफगानी जनताले धेरै ठूलो संघर्ष र बलिदान गर्नुपर्यो ।

रसियन सेनाले कब्जा गरेपछि त्यसको प्रतिकारमा उत्रेका कतिपय समूह आतंकवादतिर लागे । लामो समयदेखि अफगानिस्तान हिंसा आतंकवादको पीडा व्यहोर्नु परिरहेको छ । समृद्धिको दिशामा अघि बढेको एउटा सुन्दर मुलुक यसरी खण्डहरमा परिणत भयो ।

इन्दिराको आपतकाल

ओखलढुंगा–सोलुमा भएको पराजयको घाउ पुरिन नपाउँदै २०३२ असार ११ गते इन्दिरा गान्धीले भारतमा “आपतकाल” लागु गरिन् । त्यो कदम झन्नैझन्नै राजा महेन्द्रले २०१७ पुस १ गते चालेको कदम जस्तै थियो । लोकतन्त्रलाई समाप्त र पार्टीहरूमाथि विधिवत् प्रतिबन्ध लगाइन् । नागरिक पनि सिंगो मुलुकलाई बन्दी बनाइन् । जयप्रकाश नारायण, चन्द्रशेखर, जर्जफर्नाडिज, अटलविहारी बाजपेयी, मोरारजी देसाईसहित प्रमुख विपक्षी नेताहरूलाई रातारात पक्राउ गरियो ।

पार्टीका भ्रातृसंस्थाहरू प्रतिबन्धित भए । राजनीतिक सभा, जुलुस गर्न निषेध गरियो, मिडियामा सेन्सरसिप लागू भयो, वाक्, प्रकाशन, स्वतन्त्रता हरण गरियो । देशमा ‘मण्डलेतन्त्र’ लागू भयो । सञ्जय गान्धीको नेतृत्वमा ‘भूमिगत गिरोह’ को बिगविबी चल्यो । विश्वको सबैभन्दा ठूलो लोकतन्त्रलाई अधिनायकवादको ग्रहणले ग्रस्त पा¥यो । सर्वत्र अँध्यारै अँध्यारो । कुनै पनि कुनाबाट अलिकति पनि उज्यालो आइरहेको थिएन ।

केही समयअघि भएको लोकसभाको निर्वाचनमा इन्दिरा गान्धीलाई जिताउन सरकारी अधिकारीको प्रयोग भएको तथा चुनाव निष्पक्ष नै भएको दाबी गर्दै पराजित प्रत्यासी समाजवादी नेता राजनारायणले दिएको रिटमा इलाहावाद उच्च न्यायालयका न्यायाधीश जगमोहन लालले आफ्नो निर्वाचन बदर गर्दै ६ वर्षसम्म चुनाव लड्न नपाउने आदेश जारी गरेपश्चात् पदत्याग गर्नुपर्ने दबाब र अवस्था आएपछि प्रधानमन्त्री श्रीमती गान्धीले ‘इमर्जेन्सी’ घोषणा गर्दै त्यो दुस्साहसिक र अधिनायकवादी कदम चालेकी थिइन् ।

जेपी र समाजवादी नेताहरूसँग बीपीको विशेष सम्बन्ध भएकाले सरकारले निहुँ पायो भने हामीमाथि पनि कारबाही गर्न असम्भव नभएकाले बीपी झन् संयमित हुनुपर्ने अवस्था उत्पन्न भयो । हामीप्रति सद्भावना राख्न सहयोग गर्ने कोही मानिस बाँकी थिएनन् । कोही थुनिए, कोही भूमिगत भए ।

सिक्किम विलयपछि रामचन्द्रको पश्चाताप

गान्तोक गएको बेला मैले सिक्किमका नाम सुनेका पुराना नयाँ सबै नेता र बुद्धिजीवीहरूलाई भेटेर त्यहाँको इतिहास एवं वर्तमान दशा–दिशा बुझ्ने प्रयत्न गरें । विलयको बेला सत्तामा रहेकाहरूलाई जनताले ‘देश बेचुवा’ को कालो टीका लगाएर राजनीतिक मैदानबाट धपाइसकेका रहेछन् । राजतन्त्रको उन्मूलन लगत्तै रानी होप कुक, जो विवाहपूर्व अमेरिकी नागरिक थिइन्, चोग्याल नामग्याललाई छोडेर माइती देश गइन् । चोग्याल विस्थापित भए । विलय बेलाका मुख्यमन्त्री काजी ल्हेन्दुप दोर्जी अर्को चुनावमा पराजित भएपश्चात स्थायी रूपमै पश्चातापको आँसु झार्दै सिक्किम छोडेर स्थायी रूपमा कालिङपोङमा बसिरहेका थिए ।

पछि, मंगलधाम मन्दिर उद्घाटनको अवसरमा कालिङपोङ गएको बेला उत्सकुतावश मैले काजीलाई भेटेर लामो अन्तरर्वार्ता लिएको थिएँ । विद्वान राजनीतिज्ञ मानिने रामचन्द्र पौडेल राजनीति छोडेर जोगीजस्तो भएका थिए । कुनै समय अत्यन्त प्रभावकारी राजनीतिक भाषण गर्ने उनी नैतिक शिक्षाको प्रचारप्रसार र गीता प्रवचनमा लागेका थिए । भरत कोइराला र स्थानीय पत्रकार शिव प्रधानका सहयोगले उनीसँग भेट भयो । मैले प्रकाशित गरिआएको ‘साप्ताहिक विमर्श’ का उनी नियमितजस्तै पाठक रहेछन् । त्यसबेला ‘विमर्श’ सिक्किम, दार्जिलिङ, सिलिगुडी र गुवाहाटीमा पनि बिक्री–वितरण हुन्थ्यो । त्यस भेगका थुप्रै मानिस स्थायी ग्राहक थिए ।

शिव प्रधानले मलाई त्यसबेला पौडेल बसेको साधारण लजको एउटा सामान्य कोठामा पु¥याउँदा उनी खाटबाट जुरुक्क उठे, नमस्कार गरे, कमिज–सुरुवालमाथि लगाएको नेपाली ढाकाको टोपी मिलाएर भने– ‘म आरपी पौडेल । सबैले गलत बुझेका अथवा बुझाइएको मान्छे । हामीजस्ता इमानदार र सोझा मानिसले राजनीति गर्ने समय होइन रहेछ यो । त्यसैले मैले राजनीतिबाट सन्न्यास लिएँ । अहिले राजनीतिक मैदानमा जोजो खेलाडी देख्नुहुन्छ, ती सबै छद्मभेषी हुन्, ब्ल्याकमेलर हुन्, भ्रष्टाचारी हुन्, दिल्लीका दलाल हुन् । कसैको पनि कुनै सिद्धान्त छैन । प्रजातन्त्र नाममा अधिकनायकवाद छ । देशमा लोकतन्त्र छ, तर सिक्किममा छैन । सत्य कोही बोल्न सक्दैन । सत्यको मुख थुनिएको छ, वाक्पटु फटाहाहरूको राज्य छ । नैतिकता के हो भन्ने कसैलाई थाहा छैन । सदाचार, शुद्ध आचारण, त्याग, अनुशासन र इमानदारीको कुरा गर्नेलाई बहुला बनाइन्छ । कोहीकोही त मलाई पनि ‘बहुला’ भनी प्रचार गर्छन् ।’

करिब एक घन्टाको बसाइमा उनले यस्तैयस्तै कुरा गरे । राजनीतिक प्रश्नमा पनि दार्शनिक जवाफ दिए । र, के स्पष्ट गर्न खोजे भने यथार्थमा उनी पनि सिक्किमलाई त्यसरी भारतमा विलय गर्ने पक्षमा थिएनन् ।

“हामीलाई चोप्यालका एजेन्टले झुटा प्रचार गरेर ‘देश बेचुवा’ भन्ने आरोप लगाए । तर आफ्नो मातृभूमि कसैले बेच्छ ? दिल्लीसँग मैले आजसम्म एक पैसा पनि खाएको भए आमाको रगत बराबर हो । म नर्कमा परिजाउँ । तर गाँठी कुरा जनतालाई कसले बताउने ? जनता शिक्षित छैनन्, ठूलो स्वरले जो कराउँछ त्यसकै कुरा पत्याउँछ । ठूलो स्वरले बोल्ने ढ्वाङ त सरकारसँग मात्र छ । रुसले भनेअनुसार शक्ति ‘गोर्खेलौरी’ पाइन्छ, अनि के गरून् । पहिले सीआरपीको आतंक थियो अहिले संग्राम छ । जसको शक्ति उसैको भक्ति । देश बेच्नेलाई त यमराजले पनि माफ गर्दैन नि । यदि मैले देशविरुद्ध सौदा गरेको भए अहिले यो पृथ्वीमा जीवित रहन्थेँ । तपाईंसँग यसरी भेट्ने मौका पाउँथें ?”

घरमा आगो लगाएपछि…

बीपीले ‘जल्दोबल्दो, अहिलेको र तेज’ भनी टिप्पणी गर्नुभएका, चोग्याल शासनविरुद्धको आन्दोलनका अर्का चर्चित हस्ती, नरबहादुर खतिवडा पनि सिक्किमको घरमा ताल्चा लगाई मुम्बई गएर वकालत पेसामा संलग्न भएका थिए । विलयपछि उनले आफूहरूले सिक्किमलाई भारतमा विलय नभई निरंकुश राजतन्त्र अन्त्य गरी लोकतन्त्र ल्याउने तथा भारतीय नागरिकले पाए सरहका अधिकार जनतालाई दिलाउने हेतुले आन्दोलन गरेको तर हाम्रो राजनीतिक र कानुनी अज्ञानता एवं भारतको कपटपूर्ण राजनीतिक चालबाजीले गर्दा यस्तो परिणाम भोग्नु परेको स्पष्ट गरेका छन् ।

मैले विलय–विरोधीको रूपमा परिचय बनाएका र आन्दोलनकारीले ‘चोग्यालका समर्थक’ भनी प्रचार गरिएका नरबहादुर भण्डारी, खडानन्द उप्रेती, तुलसीराम शर्मा ‘कश्यप’ पवन चामलिङ, दिलकुमारी भण्डारीलगायत थुप्रैलाई भेटें । सहयोगी भरत कोइरालाको त्यस भेगका चर्चित नेताहरूसँग पहिलेदेखि सम्पर्क रहेकाले पनि यो भेट सहजै सम्भव भएको थियो । त्यसबेला भण्डारी मुख्यमन्त्री थिए भने उप्रेती शिक्षा, चामलिङ उद्योग जनसंख्या तथा प्रचारप्रसार मन्त्री थिए । तुलसीराम विधानसभाको अध्यक्ष थिए र दिलकुमारी सांसद । दिल खोलेर, आत्मीयतापूर्वक कुरा गरे । तर अधिकांश कुराको पछाडि “अफ दि रेकर्ड है’ छाप्नको लागि होइन है’ भने । त्यस्ता कुरा छाप्ने, लेख्ने इच्छा बडो मुस्किलले रोकें ।

तर, उनीहरूले टेपमै रेकर्ड गराएका कुराले पनि सिक्किमे नेताहरूको मनमा त्यो विलय वा भारतको रणनीतिप्रतिको कस्तो आक्रोश रहेछ भन्ने प्रष्ट देखिन्थ्यो । सर्वाधिक लोकप्रिय र प्रभावशाली युवा नेताको रूपमा चर्चित नेता पवन चामलिङ जो त्यसबेला मुख्य मन्त्री भण्डारीको दाहिने हात मानिन्थे, उनलाई उनकै निवासस्थानमा लिएको अन्तरर्वार्ताको क्रममा मैले सोधेको थिएँ– ‘तपाईंहरू विलयको विरुद्ध रहे पनि, विलयका कारणले सिक्किम र यहाँका जनतालाई फाइदा त भएछ नि । विकास भएछ । शिक्षा, स्वास्थ्य, रोजगारी, व्यापार–व्यवसायका सुविधा र अवसर प्राप्त भएछन् । थुप्र्रै सम्भावनाका ढोका खुलेछन् । यसलाई उपलब्धि मान्नु हुन्न ?’

यस प्रश्नमा मन्त्री चामलिङले बडो सटिक र साहसिक जवाफ दिएका थिए । उनले केही गम्भीर हुँदै संक्षिप्त उत्तर दिए– “घर नै आगो लगाई सकेपछि खरानीको दुःख हुन्छ र विरहीजी ? निधारमा देश बेचुवाको कलंक लागिसकेपछि त्यस्ता सुविधा–असुविधाको के महत्व हुन्छ र ? आस्था र अस्तित्वभन्दा महत्वपूर्ण कुरा केही हुँदैन ।”

साभार बिकाशटाइम्स (बरिष्ठ पत्रकार हरिहर बिरहीको पुस्तकमा )
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers