ScotNepal: म त मधेसभन्दा पहाड र हिमाल पीडित देख्छु
Loading...
म त मधेसभन्दा पहाड र हिमाल पीडित देख्छु


- अश्विनी कोइराला
आश्विन ८, २०७२-
सन्तोष साह, अध्यक्ष, टुडेज युथ एसिया
मधेस राजनीतिको केन्द्रबिन्दुमध्ये एक सर्लाही बरथहवाका सन्तोष साह स्थानीय सरकारी विद्यालयमा पढ्थें । पढाइ राम्रो भएका कारण उनले खुला प्रतिस्पर्धामा काठमाडौंको बूढानीलकण्ठ स्कुलको छात्रवृत्तिमा आफ्नो नाम निकाले । ९७६ बी नम्बर भनेर चिनिने यी युवाले उच्च शिक्षाका लागि अमेरिकाको छात्रवृत्ति समेत प्राप्त गरे । उनले युनिभर्सिटी अफ सेन्डिएगो क्यालिफोर्नियामा उनले द्वन्द्व, राजनीति र न्यायसम्बन्धी अध्ययन गरे । अमेरिकामै राम्रो नाम र दाम कमाउने सम्भावना बढिरहेका बेला अचानक न्युयोर्कको ट्विन टावरमा अल कायदाले आक्रमण गर्‍यो । त्यो दिन उनको त्यही टावरको १३ औं तल्लामा अवस्थित एउटा अफिस जाने कार्यक्रम थियो । संयोगले उनी त्यहाँ जान पाएनन् । केही बेरअघिसम्म लाखौं डलरका मालिकहरू ज्यान जोगाउन ट्विन टावरबाट हाम फालेको दृश्यले उनलाई अमेरिका बस्नु बेकार लाग्यो । केही समयपछि उनी नेपाल फर्किए । त्यसयता उनी नेपालमै युवाहरूलाई समेटेर अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम सञ्चालन गरिरहेका छन् । पत्रकारिता, अन्तर्राष्ट्रिय सम्बन्ध र युवा पलायन रोक्ने काममा खटिरहेका सन्तोष केही फरक खालका लाग्छन् । अहिले उनी टुडेज युथ एसियाको अध्यक्षका रूपमा कार्यरत छन् । यो संस्थाले एसियाका युवाहरूलाई विभिन्न किसिमका सहयोग जुटाइदिने एवं योजनाहरू बनाइदिने काम गर्छ ।

तपाईंलाई यस पटकको संविधान चित्त बुझ्यो ?
नेपाली जनताको वर्षौंदेखिको चाहना पूरा भएको छ । अन्तरिम संविधानले जुन–जुन कुराको ग्यारेन्टी गरेको थियो, त्यसैको सेरोफेरोमा नयाँ संविधान बनेको छ । अन्तरिम संविधानमा लेखिएकै कुरालाई व्यवस्थित गर्न हामीले अर्बौं रुपैयाँ खर्च गर्‍यौं, देश र जनताको आठ वर्ष खेर फाल्यौं । यति ढिला नहुनुपथ्र्यो, विदेशीहरूको विभिन्न ‘इन्ट्रेस्ट’ र काठमाडौंका केही एलिट वर्गको स्वार्थ रक्षा गर्न जानाजान ढिला गराइयो । यति हुँदाहुँदै पनि मलाई संविधान चित्त बुझेको छ । विदेशी निकायले तिम्रो संविधान बनोस्, अनि सहयोग गर्छु भन्ने जुन बहाना थियो, अब त्यो सकिएको छ । अब विदेशी लगानी बढ्छ । व्यवसायीहरूको भोलि के हुन्छ, लगानी बढाउँm कि नबढाउँm भन्ने चिन्ता अब समाप्त भएको छ । विकास निर्माणका कामहरू विभिन्न बहानामा रोकिएका थिए, अब त्यो सुचारु हुन्छ । म त के देख्छु भने भारतमा लगानी गर्ने योजना बनाएका अमेरिकी कम्पनीहरूले पनि नेपालमै लगानी गर्छन् । अब नेताभन्दा यहाँका व्यवसायी तथा अर्थविद्हरूको भूमिका बढी छ । मेरो नजरबाट हेर्दा संविधान बनेर धेरै राम्रो भएको छ ।

मधेसमा आगो सल्किएको छ, त्यसैले यो संविधान कार्यान्वयन होला ?
संविधानका विषयमा जुन असन्तुष्टि छ, यो विस्तारै सेलाएर जान्छ । मेरो विचारमा एक वा दुई महिनाभित्रै तपाईं यो आन्दोलन मत्थर भएको देख्न सक्नुहुनेछ । यो मैले त्यसै भनिरहेको छैन । खास कारण के भने यो आन्दोलन केही नेताविशेषको भाग कति सुरक्षित राख्ने भन्ने विषयसँग बढी सम्बन्धित छ । जनताको कुरा त बहाना मात्र हो । अब आन्दोलनका लागि बजेट पनि आउने छैन, किनभने संविधान बनिसक्यो । त्यसका लागि विदेशबाट दोहोर्‍याएर बजेट आउँदैन । अर्को कुरा, प्रतिनिधिसभामा पनि ४० प्रतिशत सिट समानुपातिक छ । अब तुरुन्तै निर्वाचनको घोषणा हुन्छ । निर्वाचनमा जानै पर्‍यो । निर्वाचन नजिते पनि सभासद् हुने सम्भावना छ, पहिले जस्तै । जनतालाई पनि सधैं आन्दोलनमा कुद्ने फुर्सद हुँदैन भने जनतालाई पनि निर्वाचन लाग्छ । यी सबै वस्तुस्थिति हेर्दा यो आन्दोलन बढीमा एक–दुई महिनासम्म चल्न सक्छ ।
तपाईं मधेसी युवा भएर पनि यस्तो कुरा गर्नुहुन्छ ?
हामी पढेलेखेका युवाले जे सत्य हो त्यही भनिदिनुपर्छ । जनताको नाममा राजनीति गर्नेले धेरै धोका दिइसके । यो सत्य कुरा मधेसी जनताले बुझिरहेका छन् । काठमाडौंका धेरै मानिस भ्रममा छन् । किनभने अन्तर्वार्ता वा विचार तिनै व्यक्तिको आइरहेको छ, जो सत्ताको राजनीति गरिरहेका छन् वा पुरानो वर्चस्व फर्काउन चाहन्छन् अथवा ती व्यक्तिहरू, जसले कुनै न कुनै रूपमा आइएनजीओ वा एनजिओमार्फत वाहिरी पैसामा चलखेल गरिरहेका छन् । त्यसमाथि काठमाडौंको एउटा एलिट वर्ग देशमा सधैं द्वन्द्व भैरहोस् भन्ने चाहन्छ । उनीहरूले पनि त्यस्तै स्वार्थी व्यक्तिहरूलाई साथ दिएका कारण आन्दोलन चर्कन्छ । ल तपाईं भन्नुस् त आमजनताको आवाज कुन मिडियामा आएको छ ? उनीहरूको चाहना के हो भनेर कसले सोधेको छ ? कुन मधेसी आन्दोलन गर्न चाहन्छ, को आन्दोलनको नाममा मर्न चाहन्छ ?
कतिपय नेता मधेस नै विभाजन हुन सक्छ भनेर धम्की दिइरहेका छन्, संघठन पनि गरिरहेका छन्, के भन्नुहुन्छ ?
डा. सी.के. राउतजस्ता व्यक्ति मधेसी युवाको फ्रस्टेसनको एउटा नमुना हुन् । केही मधेसी युवामा काठमाडौंले हामीलाई हेरेन भन्ने जुन आवेग छ, राउतजस्ता व्यक्तिको माध्यमबाट पोख्न चाहन्छन् । यस्ता चर्का कुरा बाहिर आए पनि ग्राउन्ड रियालिटी अर्कै छ । कुन मधेसी नेपालबाट छुट्टिन चाहन्छ ? तपाईं हेर्नुस्, हरेक मधेसी नेपाली बोल्दा गौरव गर्छ । यदि कुनै क्षेत्र छुट्टिन चाहने हो भने ५० औं लाख मानिस एकसाथ सडकमा ओर्लिए भने कसले रोक्न सक्छ ? त्यस्तो हुन मधेसी जनताले नै दिँदैनन् । किनभने मधेसीहरू नेपाली हुनुमा गौरव गर्छन् । बरु यो कुरा काठमाडौंले बुझ्न सकेको छैन ।
भनेपछि संविधान ठिक छ ?
सबै ठीक छ भन्ने पक्षमा पनि छैन । मैले यति मात्रै भनिरहेको छु, यो संविधानले धेरै कुरा दिएको छ । जसलाई प्रचुर सदुपयोग गर्न सकिन्छ । जहाँसम्म मधेसी मात्र ठगिए भन्ने कुरा छ त्यो झुटो हो । खासमा काठमाडौंले मधेसलाई जसरी ठगेको छ, पहाड र हिमाललाई पनि उसैगरी ठगेको छ । म पहाडका धेरै जिल्ला धुमेको छु, त्यहाँ पानी लिन अझै पनि दुई घन्टा हिँड्नुपर्ने अवस्था छ । मैले कुनै पनि दुर्गम गाउँमा पीच रोड देखेको छैन । पीचरोडको के कुरा, बाटोसम्म पुगेको छैन । यातायातको व्यवस्था नभएर अन्न, फलफूल, तरकारी आदि बिक्री नभएर कुहिएको छ । यसरी हेर्दा मधेस भन्दा हिमाल र पहाड पीडित छ । म मसेधी युवा हुँ तर त्यसो भन्दैमा मैले आफ्नो फाइदाको कुरा मात्र गर्न मिल्दैन । सत्य कुरा गर्नुपर्छ ।
चित्त नबुझेका कुरा के–के छ ?
एक–दुई कुरा चित्त बुझेको छैन । जस्तो संविधानको भाषा कुनै राजनीतिक दलको दस्तावेज जस्तो भएको छ । देशको मूल कानुन भनेको सयौं वर्षसम्म कायम रहन्छ । इतिहासमा हजारौं वर्षसम्म रहन्छ । भोलिको पुस्ता यो संविधान पढेर पक्कै हाँस्नेछ । पारित भएका कुरालाई कानुनको विद्यार्थीलाई राम्रोसँग लेख्न नदिएर हिजोको द्वन्द्व झल्कने भाषा राखिएको छ । भारतमा सन् १९४८ मा संविधान बन्दा देश टुक्रिएको थियो, विभिन्न राज्यका नागरिकको आवाज समेट्न सकिएको थिएन । यहाँ जस्तै सिमानाको विवाद थियो तर ती कुरा संविधानमा परेनन् । यद्यपि आज पनि त्यो संविधान जीवन्त छ । कुनै समस्या भए आपसमा सम्झौता गरेर मिलाउन सकिन्छ, तर पनि संविधानमा संविधानको जस्तो भाषा हुनुपर्छ न कि कुनै राजनीतिक दलको घोषणापत्र जस्तो । अर्को कुरा यो संविधानले मधेसीलाई पहाडी जनताबाट अलग गरेको छ । मेरो विचारमा उत्तर–दक्षिणको प्रदेश बनाउनुपथ्र्यो । यसले गर्दा उत्तरको मीठो तरकारी मधेसमा खान पाइन्थ्यो । मधेसको चामल पहाड जान्थ्यो । जलविद्युत्को सदुपयोग हुन्थ्यो । यो सबै काठमाडौंको एलिट बर्गले गर्न नदिएको हो ।
तपाईं मधेसी नेता र काठमाडौंको एलिट बर्गलाई बारम्बर लक्षित गर्दै हुनुहुन्छ । यसको कुनै प्रमाण छ ?
जत्ति पनि छ । उदाहरणका लागि २००७ सालमा राजा त्रिभुवनले आफैं देशलाई संघीय मोडलमा लाने, गणतन्त्रमा जाने र आफू साधारण जनता भएर बस्ने मनस्थिति बनाएका थिए । भारतले सोच्यो, गणतन्त्रमा जानेबित्तिकै धेरै जनालाई आफ्नो वशमा राख्नुपर्छ । राजसंस्था भयो भने एउटैलाई कजाएर आफ्नो काम लिन सकिन्छ । त्यसैले त्यतिबेला संविधानसभा पनि बनेन र राजतन्त्र पनि कायमै रह्यो । राजा महेन्द्रले यो कुरा बुझेका थिए । उनले विज्ञ टोलीलाई देशलाई संघीय मोडलमा लान के गर्नुपर्छ भनेर सुझाव मागे । विज्ञ टोलीले गाउँ र जिल्लालाई बढी स्वायत्तता दिनुपर्छ भनेर सुझाव पेस गर्‍यो तर एलिट वर्गले त्यसमा आफ्नो भाग खोसिने प्रस्ट देख्यो । पाँच विकास क्षेत्र बनाइएपछि किन उत्तर दक्षिण मार्ग बनाइएन ? त्यतिबेला प्रत्येक क्षेत्रमा हिमालदेखि तराईसम्म ठाडो रोड बनाएको भए पहाडको पनि विकास हुन्थ्यो र मधेस पनि एकैपल्ट माथि उठ्थ्यो । आजका दिनसम्म सप्तरी र दोलखा नजिकै छन् तर त्यहाँ काठमाडौं भएर पुग्नुपर्छ । ६० किलोमिटरको यात्रालाई ६ सय किलोमिटर लामो बनाइएको छ । किन ? किनभने काठमाडौं सधैं सेन्टरमा रहन चाहन्छ । यहाँका एलिट बर्ग कुनै पहाड आफै बनोस्, मधेस आफै विकसित होस् भन्ने चाहँदैन । आज तिनै एलिटका सन्तान आइएनजिओका परामर्शदाता, जागिरे वा उच्चतम तहमा छन् । उनीहरू पनि यो चाहँदैनन् । यसमा हाम्रा नेताले पनि साथ दिएका छन् । किनभने यसैमा उनीहरूको पनि स्वार्थ छ । यी कुरा घाम जत्तिकै छर्लङ्ग छन् । अझ रमाइलो कुरा के छ थाहा छ ?
छैन, भन्नुस् न ।
मधेस आन्दोलन हुँदा धेरै पहाडे मूलका मानिसले तराईका घर जग्गा बेचे । धेरै पहाडेलाई मधेसीहरूले अन्याय गरे भन्ने लाग्न सक्छ तर त्यो जग्गा तिनै एलिट वर्गसँग सम्बन्ध भएका मधेसीहरूले नै किने । ती जग्गा प्लटिङ भए । त्यसको फाइदा त्यसैगरी विभाजन भयो । मधेसको राजनीति हेर्दा जनताको अधिकारका लागि देखिए पनि यो आम्दानी, पावर र इगोसँग सम्बन्धित छ । ध्यान दिएर अध्ययन गर्दा यस्ता अनेकौं साँठगाँठका चित्र देखिन्छन् ।
तपाईंले कुनै पनि मधेसीले यसअघि नगरेको कुरा गर्नुभयो, यसको कारण के होला ?
म अमेरिकाबाट फर्किएपछि लाग्यो, आफैं केही गर्नुपर्छ, देश बनाउनुपर्छ । विदेशमा बस्दा म त नेपाली हुँ नि । हामीले देश बनाउने हो । देश बनेपछि हामी सबै बन्छौं । कुनै पनि मधेसीले यस्तो कुरा गरेनन् भन्ने होइन । जनता के चाहन्छन् भन्ने कुरा कुनै पनि राष्ट्रिय मिडियाले चासो नराखेकाले त्यस्तो लागेको हो । मेरो भाषा आम जनताको भाषा हो । तपाईं ग्राउन्डमा गएर यी कुरा बुझ्न सक्नुहुन्छ ।
प्रकाशित: आश्विन ८, २०७२
- साभार : कान्तिपुर साप्ताहिक बाट
Loading...
Recent Updates

, ,
Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers