ScotNepal: सायद देशको राजनीतिको असर होला हाम्रो कलाकारिता, गीत, संगीत, साहित्य हर क्षेत्रमा वेथिति झांगिदै गएको छ अहिले !
Loading...
सायद देशको राजनीतिको असर होला हाम्रो कलाकारिता, गीत, संगीत, साहित्य हर क्षेत्रमा वेथिति झांगिदै गएको छ अहिले !

:  लोक दोहोरी गायक रामप्रसाद खनाल 

- अध्यक्ष, अन्तरराष्ट्रिय कलाकार मँच अमेरिका तथा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी  

गीत, संगीत तथा साहित्य क्षेत्रमा केही गर्न चाहन्छु ः  रामप्रसाद खनाल लोक दोहोरी गायक
रामप्रसाद खनाल नेपाली लोक दोहोरी गीतका पुराना तथा चर्चित गायक हुन् । खनालले लोक दोहोरी गीतलाई स्थापित  गर्नको लागी २०५३ सालमा नेपाल टेलिभिजनबाट सोहीअनुसारको लोक दोहोरी गीतको कार्यक्रम प्रसारण गरेर यसलाई आन्दोलन कै रुपमा पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म पुर्याएँ । २०५३ सालदेखि २०६४ सम्म आइपुग्दा लोकदोहोरी गीतले नयाँ जुनी पायो । देशभर लोकदोहोरीको माहोल बनाए । लोकदोहोरी बिना न कुनै महोत्सव सम्पन्न भए न कुनै प्रदर्शनी कार्यक्रम ।  खनाल लोक दोहोरी गायक मात्र नभएर साहीत्यकार तथा पत्रकार पनि हुन् । उनका कविता तथा गजलका गरी १६ वटा कृतिहरु प्रकाशित भईसकेका छन् भने करिब ७०० वटा कविता तथा गजलहरु लेखिसकेका छन् ।  एक हजार दुई सय भन्दा बढी गीत गाइसकेका र चालिस भन्दा बढी एलबम प्रकाशित गरिसकेका खनाल राष्ट्रिय एबम अन्तरराष्ट्रिय पुरस्कार, मान सम्मान पाइसकेका ब्यक्ती हुन । अमेरिकाले अतिरिक्त प्रतिभावान् कलाकार, पत्रकार, साहित्यकार का रुपमा एक्स्ट्रा अर्डिनरी एबिलिटी ग्रिनकार्ड प्रदान गरेका खनाल लाई नेपाल सरकार ले पनि बिशिस्थ श्रेणीका लोक दोहोरी गायक उपाधी पहिलेनै प्रदान गरिसकेको छ ।   खनालको गीत, संगित, कला तथा साहित्य क्षेत्रको वारेमा नेपालयका लागी मनोहरि पौडेलले गरेको कुराकानीका अशंहरुः
तपाईं कहिलेदेखि गीत, संगीत, कलाकारीता क्षेत्रमा लाग्नुभयो ?
म सानैदेखि यो क्षेत्रमा लागेको हुँ । दुई कक्षामा पढ्दादेखिका सबै क्षण सम्झिन्छु । गीत, संगीत, साहित्य, कला मेरा बाल्य अवस्था देखिका अभिन्न अंग हुन् ।
हालसम्म के कति गीत गाउनुभएको छ, कति कृतिहरु प्रकाशित गर्नुभएको छ ?
मैले हालसम्म ४० वटा एल्बम, सिडी, भिसिडी, डिभिडी प्रकाशित गरेको छु जुन बजारमा उपलब्ध छन् । हालसम्म करिब १२ सय लोक, आधुनिक, दोहोरी, राष्ट्रिय गीत लेखेको, गाएको छु । मेरा थुप्रै गीत रेडियो नेपाल, नेपाल टेलिभिजनमा रेर्कडेड छन् ।
तपाईं कविता, गजल पनि लेख्नुहुन्छ, साहित्यिमा राम्रो दख्खल पनि छ, त्यो क्षेत्रमा कसरी लाग्नु भयो, केके गर्नुभयो ?
हो म गीत मात्र होइन, कविता, गजल पनि लेख्छु । हालसम्म मेरा १३ वटा गीत संगीतसँग सम्बन्धित पुस्तक प्रकाशित छन् भने २ वटा आफ्नै जिन्दगीका उतार चढाबबारे र एक सय कविताको संग्रह ‘देश हराएको मान्छे’ सहित १६ वटा पुस्तक प्रकाशित छन् । करिब ७०० कविता, गजल लेखिसकेको छु ।12644889_10207406583176021_1369905682162103980_n
गीत, संगीत, कला, साहित्य क्षेत्रमा लाग्ने प्रेरणा कोबाट पाउनुभयो ?
सानोमा मलाई स्कुल पढाउने गुरुहरुले ‘बाबु तैंले यो क्षेत्रमा केही गर्न सक्छस्’ भन्नुहुन्थ्यो । तर प्रेरणा भनेर ठ्याक्कै त्यस्तो छ छैन । मलाई लाग्छ आफू भित्रैबाट आएको भावनाले मलाई यो क्षेत्रमा डो¥याएको हो । यद्यमी मेरा हाइस्कुलका गुरु नारद गौतमले सानोमा मलाई मलजल गर्नुभएको कुरा म स्मरण गर्न चाहन्छु । त्यसलाई मैले व्यवस्थित गर्दै लगें ।
तपाईं गीत, संगीत, कला, साहित्य र पत्रकारिता क्षेत्रमा पनि पहिलेदेखि नै त्यत्तिकै सक्रिय हुनुहुन्छ, कुन क्षेत्रमा बढी रमाउनुहुन्छ ?
गीत, संगीत, कला, साहित्य र पत्रकारिता हर क्षेत्र मेरा प्रिय र रमाउने क्षेत्र हुन् । गीत, संगीत, साहित्य, कलाको कुरा गर्दा सानैदेखि र १६ वर्षको उमेरदेखि पत्रकारिता पेशा अंगाल्दै आएको छु । यी सबै मेरा अभिन्न अंग बनेका छन् । म कुनैलाई पनि छाड्न सक्दिन् ।
पछिल्लोपटक नेपालमा लोकदोहोरीको क्षेत्रमा कायापलट नै गरिदिनुभयो, कसरी गनुभयो त्यस्तो बताइदिनुस् न ?
हिन्दी गीत, संगीत, अंग्रेजी, पप, रयापले आक्रान्त भएको देखिपछि केही त गर्नै पर्छ भन्ने भावनाले म बि.स. २०५३ सालदेखि लोक दोहोरीलाई देशव्यापी बनाउने, नेपाल टेलिभिजनबाट सोहीअनुसार प्रसारण गरेर यसलाई आन्दोलन कै रुपमा पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म पुगें, पु¥याएँ । २०५३ सालदेखि २०६४ सम्म आइपुग्दा लोकदोहोरीले नयाँ जुनी पायो । देशभर लोकदोहोरीको माहोल बन्यो । लोकदोहोरी बिना न कुनै महोत्सव सम्पन्न भए न कुनै प्रदर्शनी कार्यक्रम । लोक दोहोरीको बाढी आयो । त्यसका लागि मैले कति खुन पसिना बगाएँ, केके गरें त्यो मेरा दर्शक श्रोताले मुल्यांकन गर्ने कुरा हो । म आफैं के भनौं र !dsc06231-sized
हालसम्म के कति पुरस्कार, सम्मान पाउनुभएको छ, यी क्षेत्रमा काम गर्दा ?
२५ वर्ष लगातार पत्रकारिता गर्दा मैले प्रख्यात त्रिशक्ति पट्ट राष्ट्रिय पुरस्कार पाएको छु भने बाल अवस्थादेखि ३०÷३५ वर्षसम्म गीत, संगीत, कला, साहित्यको क्षेत्रमा काम गरे वापत गोरखा दक्षिण बाहु राष्ट्रिय पुरस्कार पाएको छु । त्यस्तै अमेरिकाबाट वर्ष पुरुष सन् २००४ अन्तराष्ट्रिय पुरस्कार पाएको छु । यस बाहेक संयुक्त राष्ट्रसंघ, तत्कालिन श्री ५ को सरकार, विभिन्न मन्त्रालयबाट नेपालका विभिन्न स्थापित÷प्रतिष्ठित निकाय संस्थाहरुबाट करिब २ सय ५० अभिनन्दन, सम्मान र पुरस्कार प्राप्त गरेको छु । जनताबाट त्यत्तिकै सम्मान पाएँ । मैले पाएको मान सम्मान सबैको फेहरिस्त मेरो व्यक्तिगत वेव साइट रामप्रसाद खनाल डटकममा गएर हेर्न सक्नुहुन्छ । त्यसमा मेरा प्रकाशित पुस्तकहरु पढ्न र विभिन्न भिडियो पनि देख्न सक्नुहुन्छ ।
यस्तो बहुप्रतिभाशाली मान्छे अमेरिका किन बस्नुभयो ? देश किन छाड्नु भयो ?
२०६४ सालमा नेपालमा म जब आतंककारीहरुबाट अपहरणमा परें, निकै मानसिक यातना भोग्नुप¥यो । त्यसपछि मलाई लाग्यो नेपाल साच्चै शतिले श्राप गरेको देश रहेछ । अनि मरे त मरि गइयो बाँचेर केही गर्नुपर्छ भनेर अमेरिका बसाईं सुरु गरेको हुँ । म रहरले होइन, परिस्थितिले, बाध्यताले अमेरिका बस्न थालेको हुँ । किनकि २०५२ फागुन १ देखि नेपालमा सुरु भएको हत्या, हिंसाको एक प्रकारको विजय भयो त्यसले मलाई अमेरिका बस्न प्रेरित गर्यो ।
अहिले के गर्दे हुनुहुन्छ अमेरिकामा ?
म अमेरिकामा बसेपनि गीत, संगीत, कला, साहित्य, पत्रकारितालाई नितरन्तरता दिइरहेको छु । अमेरिका बस्न थालेकै वर्षदेखि अन्तराष्ट्रिय कलाकार मञ्चको संस्थापक अध्यक्षका रुपमा संसारभर यसको सञ्जाल बनाएर गीत, संगीत, कला, साहित्यको लागि काम गरिरहेको छु । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसीको अध्यक्षको रुपमा पनि काम गर्दै नेपाली भाषा र साहित्यका लागि आफू सक्दो योगदान दिइरहेको छु । यसका अलावा म बाँच्नका लागि, जीवन यापनका लागि विभिन्न बिजनेस संचालन गर्नै आइरहेको छु । स्टोर, ग्यास स्टेशन, रियल स्टेट जस्ता बिजनेसमा पनि संलग्न छु । के गर्ने खानु पर्यो, बाँच्नु पनि त पर्यो नि ।405090_4486352030140_325158850_n
तपाईंं अमेरिका बसेपछि अमेरिकामा पनि सांस्कृतिक माहौल पैदा गर्नुभयो भन्छन नि नेपालीहरु ?
म १४ पटक अमेरिका भ्रमण गरेर नेपाल फर्केको मान्छे, पन्ध्रौं पटकमा अमेरिका बसें, अमेरिका पनि बाध्यताले बसियो मैले माथि नै भनिसकें, म अमेरिका बसे पनि शरणार्थी भएर बसेको होइन न त डिभी परेर बसेको हुँ । अमेरिकी सरकारले अतिरिक्त क्षमतावान गायक, संगीतकार, पत्रकापरका रुपमा एक्ट्रा अडिनरी एबिलिटी इवि वान अन्तर्गत अत्यन्त सम्मानित क्याटेगोरीको ग्रीन कार्ड दिएर बसेको हुँ । यसरी बसे पश्चात मैले यहाँ तीजका बेला तीज महोत्सव, दशैं तिहारका बेला होस् वा अन्य समयमा सांस्कृतिक कार्यक्रमहरु, तिहारमा देउसी भैलो जस्ता सांस्कृतिक जगेर्ना मुलक कार्यक्रम गर्दै आएको छु । म आएपछि नै सुरु भएको हो तीज महोत्सव, म आएपछि सुरु भएको देउसी भैलो, सांस्कृतिक माहोल, त्यो सबैका अगाडि त त्यो नेपाली समुदायले मुल्यांकन गर्ने विषय हो ।
तपाईं नेपाल फर्किने बारे के छ नि योजना ?
अमेरिका बसेपछि आजको भोलि छाड्ने कुरा संभव हुँदो रहेनछ । फेरि म त दुई छोराछोरीको बाउ पनि भएकोले छोराछोरी, परिवारजन प्रतिको दायित्व पनि निर्वाह गर्नु पर्ने भएकोले बढीमा त्यसका लागि म ५ वर्ष अमेरिका बस्छु त्यसपछि म नेपाल फर्केर नेपाल मै केही गर्नु छ । मेरो शरीर मात्र अमेरिकामा हो । मन मुटु सब नेपालमै छ अहिले पनि । म नेपाल नै जान्छु । नेपालमै केही गर्छु । त्यहीं नै मर्छु, मेरो मृत्यु पश्चात पनि म पशुपति आर्यघाट मै विसर्जन हुन चाहन्छु ।
राजनीति प्रति निकै वितृष्णा देखिन्छ नि तपाईंको किन होला ?
नेपालको राजनीति हेर्नुस् त, राजादेखि कांग्रेस, एमाले, राप्रपा, माओवादी, खाओवादी, मधेसवादी सबैको चालचलन, सत्ता संचालन विधि, लुटतन्त्र, सब देख्दा म कसरी हर्षित हुन सक्छु र ? कहाँ नेर सन्तोष गर्ने, खुशी हुने ठाउँ छ र ? कसको नै आस छ र ? त्यसैले मलाई नेपाली फोहोरी राजनीति प्रति घृणा छ । म राजनीतिबाट अलग छु । धेरै टाढा छु । वाक्क दिक्क छु । नेपालमा त्यस्तै छ, यहाँ अमेरिकामा हेर्नुस् न । ठ्याक्कै त्यही कपि । कसरी चित्त बुझोस् ?
५ वर्ष पछि नेपाल फर्कने भन्दै हुनुहुन्छ । नेपाल फर्केर राजनीति गर्ने विचार छ कि छैन ?
म नेपाल फर्केर पनि राजनीति गर्ने छैन । त्यहाँ पनि म गीत, संगीत कला, साहित्य, लोक संस्कृतिका लागि काम गर्ने छु । राष्ट्रको सच्चा सपुत भएर काम गर्ने छु ।199018_1882192087769_6008244_n-400x268
देशको वर्तमान अवस्था देख्खा कस्तो लाग्छ ?
छाति पिटीपिटी रुन मन लाग्छ, डाँको छोडेर चिच्याउन मन लाग्छ । हेर्नुस् त कस्तो देश कस्तो बनाए ? पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्य एकिकरण गरेर बनाएको नेपाल आज फेरि जातजाति, भाषााभाषी, क्षेत्रगत, पूर्व–पश्चिम, उत्तर–दक्षिण, तेरो–मेरोमा परिणत भएको छ । दाजुभाइ, दिदीबहिनी आ–आफैैं लड्दैछन् । देश अफगानस्तान, इराक, सोमालिया, हाइटी, कंगो, बुरुन्डी, सियरालियोन जस्तै असफल राष्ट्र बनाइदैछ । धर्म बेचे, संस्कृति बेचे, एउटा राजा फालेर सयौं राजा जन्माएर, विदेशी इशारा अन्माए । एउटा सच्चा सपुत जन्मेको रहेनछ देशमा । सबै खानका काल रहेछन्, कुर्चीको भोका रहेछन् । मेरो देश देश जस्तो छैन अहिले, लुछिएको छ, चिथोरिएको छ, आफ्नै आमाको बलात्कारमा जुटेका छन् कपुतहरु । देशको अवस्था लथालिंग भतागुंग छ, यस्तो देख्दा अत्यत्य दुःख लाग्छ ।
गीत, संगीत, कलाकारिता क्षेत्रमा पनि वेथिति देख्दा कस्तो लाग्छ ?
सायद देशको राजनीतिको असर होला हाम्रो कलाकारिता, गीत, संगीत, साहित्य हर क्षेत्रमा वेथिति झांगिदै गएको छ अहिले । नग्न, छाडा, देख्नै नहुने, सुन्नै नसकिने, विकृतिका पराकाष्ठाहरुले झांगिदै जान थालेको छ हाम्रो यो क्षेत्र पनि । अब त परिवार सँगै बसेसर टिभी हेर्न, वेभसाइट खोल्न, कार्यक्रममा जानै नहुने दिन आउन लागे । छाडापनले सीमा नाध्न थालेको छ । बेलगाम हुन आत्तुर छन् कलाकारहरु । दर्शक श्रोता पनि सिठ्ठी फुक्न र हाहा र हुहु मै मस्त छन् । आफ्नो कला, संस्कृति, रीति रिवाजमाथि धावा बोल्न थालिएको छ । यो अत्यन्त दुर्भाग्यपूर्ण छ । हामी कलाकारले तुरुन्त सच्चिनुको विकल्प छैन । दर्शक श्रोताले पनि फिल्टर गर्न थाल्नु प¥यो । आवाज उठाइदिनु प¥यो । यस्ता कुरालाईप प्रश्रय दिनु भएन ।qwrstr
नेपालमा पाएजस्तै सम्मान अमेरिकामा पनि पाउनुभएको छ ?
आफू जन्मे हुर्केको, स्थापित भएको ठाउँमा जस्तो मानसम्मान त यहाँ खोजेर पाउन गाह्रो हुन्छ । अमेरिकामा यसै त हामी नेपाली थोरै छौं । तर पनि अमेरिकामा भएका नेपालीहरुले पनि हामीलाई माया, विश्वास गर्नुहुन्छ । त्यसैमा म सन्तुष्ट छु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
मेरा भावनाहरु जनमानसमा पुर्याइदिने तपाईंलाई हार्दिक धन्यवाद । म राजनीतिबाट पूर्ण अलग छु, राजनीतिमा नमुछिदिनुहोला । गीत, संगीत, कला, साहित्य कै क्षेत्रमा मैले केही गर्न चाहन्छु । साथ दिनुहोला । नेपाली फोहोरी राजनीति र कलाकारिताका क्षेत्रमा देखिएका विकृतिलाई कसैले प्रवासमा पनि प्रश्रय नदिनुहोला । हामी जहाँ भए पनि सबैभन्दा पहिला नेपाली हौं भन्ने कुरा नभुलिदिनुहोला । हाम्रो धर्म, संस्कार, मान, मर्यादा, अनुशासन, सीमा सबैले मनन गर्नुहोला । सबैसँग मेरो यहि आग्रह छ । अन्त्यमा अन्तर्राष्ट्रिय कलाकार मञ्च र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी अमेरिकाको अध्यक्षको तर्फबाट नेपालयलाई यो अन्तर्वार्ताका लागि धन्यवाद र आभार प्रकट गर्न चाहन्छु ।
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers