ScotNepal: म दोस्रो बिहे गर्न चाहन्छु
Loading...
म दोस्रो बिहे गर्न चाहन्छु


सरिता अर्याल – म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती, हाम्रा दुई छोराछोरी— सानो सुखी परिवार । काठमाडौँमा एउटा पुस्तेनी घर थियो । हाम्रो भागमा तीन कोठा लाग्यो । हामीलाई बस्न तीन कोठा नै हामीलाई प्रर्याप्त थियो । घर भाडा तिर्नु नपर्नेभएकाले हामी दुई बूढाबूढीको कमाइले हामीलाई छेलोखेलो थियो । एक दिन श्रीमान्ले केके सुनेर आउनुभयो, अनायस नै राती इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त मेरा श्रीमान्ले सँधैँजसो केही न केही इजरायलका बारेमा नयाँ कुरा ल्याएर मलाई दिनहुँ जसो सुनाउने गर्न थाल्नुभयो । एक दिन मैले झर्को मान्दै भने — हामीलाई के काम इजरायलको गफ । न जाने गाउँको बाटै नसोध्नू ।

किन र तिमी पनि जाऊ न इजरायल !  अब त केटाकेटी पनि ठूला हुँदै गए, भोलि उनीहरूको उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ तन्किने होइन, बरु म यहाँ केटाकेटी स्याहारेर बस्छु, तिमी जाऊ इजरायल र हाम्रो पनि आर्थिक हैसियत अलि उकासौँ । किन नजाने गाउँको बाटै नसोध्नू भन्छ्यौ ? हामीले कहिले आफ्नो घर बनाउने ? सधैँ यही तीन कोठामा जिन्दगी बिताउने ? भोलिका दिनमा छोराछोरीको बिहे पनि त गर्नुपर्छ । सोच न !

श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाव बढाउन थाल्नुभयो । आखिरमा हार खाएर मैले हुन्छ भन्नुप¥यो । विद्यालयमा राजीनामा दिन लगाएर त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर मेरा श्रीमान्ले मलाई इजरायल जाने सबै व्यवस्था मिलाई दिनुभयो । सही र गलत बाटो छुट्याउन नसक्ने उमेरमा पुगेका छोराछोरी, जुन बेला अभिभावकको बढी आवश्यकता हुन्छ, त्यो बेलामा ती नाबालक छोराछोरी सासूससुराको जिम्मा लगाई म हिँडेँ इजरायल ।

इजरायल आएपछि पनि मेरो दिनहुँ   फोनमार्फत कुरा हुन्थ्यो परिवारसित । कहिल्यै श्रीमान् र छोराछोरीबाट टाढा नभएकी म एक्कासी सात समुन्द्र पारि पुगेकी थिएँ । मनलाई सम्झाउन सारै गाह्रो भइरहेको थियो । मलाई इजरायलमा एड्जस्ट हुन ज्यादै गाह्रो भयो । नेपालमा नोकर राखेर बसेकी म यहाँ एक बिरामीको दिसासमेत धोइदिनुपर्ने नोकर्नी भएकी थिएँ । नाम मात्र अङ्ग्रेजी केयर गिभर पाएर के भयो र ? आखिर त्यहाँ म घरकी नोकर्नी नै थिएँ शुरुशुरुमा त कति रोएँ, कराएँ नेपाल सम्झेर तर के गर्नु सबै भताभुङ्ग बनाएर म त्यता पसेकी थिएँ । फर्केर फेरि के गर्ने ?
श्रीमान्मा मैले धेरै पैसा कमाउने र त्यो पैसाले केके गर्ने भन्ने योजनाहरू म त्यहाँ पुगेको एक हप्ता पनि नबित्दै शुरु भैसकेको थियो । मेरो तलब आएकै दिनदेखि म सबै पैसा श्रीमान्लाई पठाइदिन्थेँ । मलाई खान बस्न पैसा खर्च नहुने एक दिन पाउने बिदामा पनि काम गरिदिए अतिरिक्त आम्दानी हुने हुनाले मलाई फोन गर्न अथवा सानो तिनो खर्च गर्न त्यही पैसाले पुगिहाल्थ्यो । महिना शुरु हुन पाउँदैन थियो कि श्रीमान्को लिस्ट आइहाल्दथ्यो । म कहिलेकाहीँ भन्ने गर्दथेँ जुन उद्देश्य लिएर म त्यहाँ पुगेकी, त्यो त पूरा गरौँ । यसरी फाल्तु खर्च किन गर्ने ?
तिमी तीनचार वर्ष बसिहाल्छ्यौ, हाम्रा योजनाहरू पूरा गर्न पैसा त भइहाल्छ नि, ….।

मैले अब पैसा पठाउँदा श्रीमानलाई भन्न थालिसकेकी थिएँ— पैसा बचत गर्नु ल भनेर । एक दिन श्रीमान्ले फोनमार्फत् मलाई भन्नुभयो— साथीहरूले मिलेर एउटा १० + २ सम्म पढाई हुने  स्कूल चलाउने रे । हामीलाई पनि पैसा हाल्न भनेका छन्, तिमी त्यहाँबाट ऋण गरेर भए पनि मलाई १० लाख पठाइ देऊ न । स्कूलमा लगानी गरेपछि त आम्दानीको राम्रो स्रोत भइहाल्दछ नि, अनि त दुःखका दिन सकिन्छन् कि । मलाई पनि कुरा राम्रै लाग्यो, साथीहरूसित सापट लिएर श्रीमान्लाई आठ लाख पठाइदिएँ । म उता ओभरटाइम गरीगरी साथीहरूको पैसा तिर्दै थिएँ । यता श्रीमान्को भनाइअनुसार स्कूल राम्रैसित चलिरहेको थियो । मलाई साथीहरूको कर्जा तिर्न दस महिना लाग्यो । ११ महिनाको तलव थापेको पनि थिइनँ, श्रीमान्को फोन आयो— स्कूलको क्यन्टिनमा आफँै लगानी ग¥यो भने त अझ बढी आम्दानी हुन्छ, फेरि यताउता गरेर एकमुुष्ट पैसा पठाइ देऊ न । सबैभन्दा नजिकको सम्बन्ध भएको श्रीमान्माथि मैले कसरी शङ्का गर्ने ? मैले होला भनेर फेरि ऋण गरेर छ लाख पठाइदिएँ ।

फोनबाट कुरा गर्दा छोराछोरी सासूससुरा सब खुसी नै भएको मैले महसुस गरेकी थिएँ । स्कूल खोलेर राम्रो भएको सबैबाट सुन्दै आएकीले म पनि खुसी नै थिएँ । जे होस् अब त नेपाल फर्किएपछि त आफ्नै स्कूल ।

त्यो दिन फागुपूर्णिमा थियो, छोराले फोनमा र रुँदै भन्यो मामू बुबाले बर्बाद गर्नुभो । के भयो किन रोएको के गर्नु भो बुबाले— मैले आतालिँदै सोधेँ ? फोनमा छोरीको पनि आवाज आयो । मामू बुबाले त अर्को बिहे गर्नुभएको रहेछ । आज रक्सी खाएर एउटा सानो बच्चालाई लिएर आउनुभएको थियो । हजुरबुबा हजुरआमालाई हजुरहरूको नाति भनेर भन्नुभयो । हामीलाई तिमीहरूको भाइ हो भन्नुभयो । हजुरआमाले रिसाउँदै हकारेपछि— बुबाले भन्नुभयो बिहे गरेको नै २ वर्ष भैसक्यो । मामूले थाहा नपाउनुहोस् भनेर नै  बुबाले  इजरायल पठाउनुभएको रे ।

म छाँगाबाट खसेँ । विगतका सबै दिनहरू आँखाअगाडि नाच्न थाले । ओहो, आज आएर सम्झँदै छु, त्यो समयमा तिमीमा एकाएक आएको परिवर्तन नियाल्दै छु । कसरी मलाई इजरायल पठायौ ? कसरी सबै पैसा लियौ ।

मैले सासूसित कुरा गरेँ सासूले पनि हो भन्नुभयो । त्यस पछि त झनै चिन्तित भएँ, छोराछोरी कति रोए होलान् । श्रीमान्लाई फोन गर्छु, फोन स्वीचअफ छ । बल्ल चार दिनपछि राती श्रीमान्को फोन उठ्यो तर महिलाले फोन उठाइन् । मैले तपाईंं को भनेर सोधेँ । उनले भनिन्— म दिनेशको श्रीमती । मैले दिनेशको श्रीमती त म पो हुँ तिमी को हौ दिनेश खोइ ? भन्नासाथ फोन काटिदिइन् । घरमा छोराछोरी मात्र थिए । सासूससुरासित पहिल्यै छुट्टिइसकेकाले केटाकेटी आफैँ पकाउँदै खाँदै गर्दा रहेछन् ।

म इजरायलबाट तुरुन्त आउन सक्ने अवस्थामा पनि थिइनँ । मेरो टाउकामा कर्जा थियो  । नेपाल आएर के गर्ने ? मैले माइतीमा फोनगरेर भाइसित रोएँ । भाइलाई स्कूलमा लगानी के कति छ बुझ  भनेपछि उसले के कसरी बुझ्यो मैले पठाएको पैसा त स्कूलमै लगानी त भएको रहेछ तर शेयर होल्डर त कान्छी श्रीमती पो भएकी रहिछ । क्यान्टिन पनि उसैले पो चलाएकी रहिछे । उसले एउटा डान्स रेष्टुरेन्टमा नाच्ने केटी पो ल्याएको रहेछ । मेरो पैसाले कान्छीको नाममा शेयर किनिदिएछ । अनपढलाई फेरि नाच्न त पठाउनु भएन भनेर होला क्यान्टिन खोलिदिएको । जे होस् म र मेरो छोराछोरी त बर्बाद भएका थियौँ । छोराछोरीलाई सम्झाएँ । पढाइमा मन लगाऊ भनेर तर उनीहरूको पढाइ के भयो होला ? मैले जतिसक्दो चाँडो कर्जा तिरेर नेपाल फर्किने विचार भाइलाई भनेँ । भाइले भन्यो— दिदी हामी भान्जाभान्जीलाई हामीकहाँ ल्याएर राख्छौँ, तिमी भोलिको दिनलाई पनि केही व्यवस्था गरेर मात्र फर्क ।

दिन बित्दै गए । कर्जा पनि तिरियो, म घर फर्कन्छु भन्दै थिएँ कि छोराले फोनमा भन्यो— तिमीहरू मामाघर गएर बस, म र सानीआमा यहाँ बस्छौ भनेर बुबालेभन्नुभयो, हामीले मानेनौँ। अब त्यो घर पनि गयो भने त बस्ने बास पनि  हुँदैन भनेर मैले छोराछोरीलाई मामाघर पनि नजाओ, कोठा नछोड भनेँ । यसैबीचमा छोरीले एस. एल. सी. पास गरिन् । मलाई ज्यादा पीर छोराको थियो, कुलतमा लाग्ने पो हो कि भन्ने । मेरो त सब बर्बाद भैसकेको थियो । मलाई आफूलाई सम्हाल्न गाह्रो भैरहेको थियो । विवाह गरेको दिनदेखि अहिलसम्म मेरा श्रीमान्ले मलाई गरेको माया, मसित सरसल्लाह, भावी योजना सबै मेरा सामु सिनेमाझैँ नाचिरहेका थिए ।

म इजरायल आएको चार वर्ष भयो, छोराछोरी दुवै कलेजमा पढ्दैछन् । घरमा बाबु र सानीआमालाई आउन दिएनन् ।छोरीको फोन आयो, उनले भनिन्— मामू आएर मेरो विवाह गरिदिनू न । आपूmसँगै पढ्ने पोखरा घर भएको केटासित उनी विवाह गर्ने रे । म दशैँमा घर आएर नवमीको दिन छोरीको विवाह गरिदिएँ । बाबु आए, कान्छी श्रीमतीलाई त ल्याएका थिएनन् तर छोरो साथै थियो । हाम्रो बोलचाल पनि भएन । छोरी घर गई, छोरो पनि इन्डिया पढ्न जान्छु भन्दैछ, भोलि उसको पनि विवाह होला । त्यसपछि मेरो साथमा को त ? छोराछोरी, श्रीमान् सब पर ।

एक मन भन्छ  समय अनुसार चल्नुपर्ने मान्छेको नियती हो । जब मान्छेलाई सत्यबोध हुन्छ, उसलाई कुनै कुराले दुखाउँदैन, मलाई पनि त्यस्तै भइरहेको छ ।  जिन्दगी एकपल्ट मिल्छ, एउटा असल व्यक्तिसित विवाह गरूँ कि ! जब श्रीमान्को जरुरत बढी पर्छ त्यो बेला मलाई श्रीमान्ले धोका दिएको थियो भने मैले उसको नाम लिएर किन बस्ने ? तर समस्या केटालाई केटी फकाउन सजिलो हुन्छ होला र त दोस्रो विवाह सजिलै गर्छन् तर म कसलाई भनूँ, मसित विवाह गर्छौ भनेर । के भन्ने ? एक जना सासूलाई नयाँ श्रीमान् चाहियो ? मलाई धोका दिने श्रीमान्लाई देखाउनलाई भए पनि म अर्को विवाह गर्न चाहन्छु । तर कोसित … । आजको इमेजखबरमा प्रकाशित छ |
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers