ScotNepal: सपना
Loading...
सपना


१८ असार २०७३

मेरो सेतो कुर्ता लपक्कै जिउमा टाँसिएको थियो । म भिजेको सलले घाँटी र छातीमा छोप्ने प्रयास गर्छु । मेरो छाति उसको ढाडमा टाँसिएको छ । म नचाहेर पनि उसको ढाडमा लपक्क टाँसिएकी छु, अगाडिबाट चिसो हावाले हानिरहेको छ, म काँप्दै छु। पानीको कुटाई चर्किदैछ, झन-झन बढी।

“मैले लगातार १ हप्ता भयो तिमीलाई सपनामा देखेको, साँच्चै तिमी हर रात मेरो सपनामा आउछ्यौ । सपना म तिमीलाई अति नै माया गर्छु” ।

उसले मेरा दुबै हात च्याप्प समातेको छ । कसिलो समाईले साँच्चै कसिलो सम्बन्ध म सामू प्रमाणित गर्न खोज्दैछ प्रोफेसर राहुलजंग कार्की ।

“…”

म चुपचाप आँखासम्म झिमिक्क नपारी उसका कुरा ध्यानपूर्वक सुनिरहेकी छु । म उसका कुरालाई विश्वास गर्दैछु मनमनै ।

पानी पर्नलाई वादल मडारिदै छ आकाशमा । वरिपरि हरियाली छ । शान्ति क्याफेमा प्रोफेसर राहुलजंग कार्की रातो टिसर्ट र निलो जिन्स पाइन्टमा सधैँको औपचारिक पोशाकमा भन्दा फरक देखिएको छ । फरक त उ पोशाकमा भन्दा व्यहारमा बढी देखिएको छ आज । ऊ मलाई नै हेरिरहेको छ, एकोहोरो ।

प्रोफेसर यसरी तिमी र म एकान्तमा भेट्नु गलत हो । म असहज महशुस गर्दै उसले कसेका हातहरु छुटाउन खोज्छु ।
ऊ अझ दरिलोसँग हातहरुलाई कस्छ ।

ट्यार…ट्यार्र…ट्यार…ट्यार्र

अचानक घडीले सधैँ झैँ घण्टी बजायो अनि म ब्युँझिएँ ।

“उफ कस्तो सपना” सुन्ने मान्छे कोही छैन तर पनि मुखबाट आवाज निस्कियो ।

बिहानको ५ बजेको वोधको सञ्चार भयो आफैभित्र ।दैनिकीको सुरुवात भयो । भर्खरै देखेको सपनाको झल्को आयो । फेरि पनि प्रोफेसरलाई सपनामा देखेकोेमा दिक्क लाग्यो ।

“बारम्बार किन प्रोफेसर राहुलजंग कार्कीलाई सपनामा देख्छु म ?”
आफैसँग प्रश्न गरेँ ।

“…” निरुत्तरित हुन्छु ।

ओछ्यानमा मोबाइल छ । राति ११ बजे आफ्नै औंलाले अफ गरेको वाइफाइलाई अन गरेँ ।
“रियल्ली मिसिङ्ग यु माइ डियर, आइ लभ यु”

राति म सुतिसकेपछि श्रीमानले मस्कोबाट फेसबुक म्यासेन्जरमा छोडेको म्यासेज झुल्कियो । केही समय अगाडिको सपनालाई मेरो स्नायु प्रणालीले फेरि रिलझैँ घुमाइदियो ।

“ओ हो , मैले घरीघरी सपनामा प्रोफेसर राहुलजंग कार्कीलाई किन देखिरहेकी छु ? माया गर्ने श्रीमानले यो सपनाबारे थाहा पाए के भन्लान्? हे भगवान् …धन्न यो सपना बारे म स्वयंलाई मात्र थाहा हुन्छ नत्र त मेरो घरपरिवार र साथीसङ्गीले मलाई के सोच्ने थिए होला ।”

हतार-हतार गरी स्कुटीमा हुँइकिदा सम्झिएँ, बीबीएलाई नयाँ शीर्षकबारे पढाउनु छ । पूर्वतयारीको फुर्सद कहिले नपाएकोमा आफैसँग गुनासो गर्दै क्याम्पसभित्र छिरेँ ।

“गुडमर्निङ्ग म्याम…हाउ आर यु टुडे ? प्रोफेसर राहुलजंग कार्की ङिच्च दाँत देखाउदै औपचारिक सम्वोधन गर्छन् । ” निलो चेक सर्टमा कालो टाई र कालो पेन्ट । कालो सानो साइड ब्याग भिरेको ।जुत्ता काला छालाका टलक्कै टल्किएका । आँखामा चस्मा । सधैँ झँै उनको औपचारिक भेस आज पनि आकर्षक लाग्यो मलाई ।

“गुडमर्निङ्ग प्रोफेसर, आइ एम फाइन ।”

प्रत्युत्तरमा ङिच्च दाँत देखाएरै मैले भनेँ ।

ओहो मेरो सपनाबारे यिनलाई थाहा भए ? उफ…सपनाबारे त मात्र मलाई थाहा छ । वास्तविकता मैले नसुनाएसम्म कसरी अरुलाई थाहा हुन्छ ? सोचेँ, फेरि मन ढुक्क भयो ।

म बीबीएको ‘ए’ सेक्सनमा छिर्दै गर्दा प्रोफेसर राहुलजंग कार्की बीबीएको ‘बि’ सेक्सनमा छिर्दै थिए ।

………………….

कलेजबाट घर फर्किदा एकदमै ठूलो पानी पर्दै थियो । बाटाभरी सम्झिएँ अबदेखि सधैं सपनीमा आफ्नै श्रीमानलाई देख्न पाए कस्तो हुन्थ्यो होला ?

घर पुगी कफी पिउँदैछु ।

“हाउ आर यु डियर ?” श्रीमानको म्यासेज थियो भाइवरमा ।

“म ठीक छु तिमी?” मैले म्यासेज गरेँ ।

“मैले हिजो राति सपनीमा तिमीलाई देखेको थिएँ, आजकल म तिमीलाई एकदमै बढी देख्छु सपनीमा ” । उनले म्यासेज गरे ।

“मैले हिजो राति सपनीमा प्रोफेसर राहुलजंग कार्कीलाई देखेकी थिएँ म हिजोआज उसैलाई मात्र देख्छु सपनामा, मलाई यो के भएको?” टाइप गरेँ अनि डिलिट पनि तुरुन्तै, पठाउन सकिन ।

असारको महिना, म प्रोफेसर राहुलजंग कार्कीको बाइक पछाडि छु । अचानक बेजोडले पानी दर्किएको छ । प्रोफेसरले रेनकोट विर्सिएको जानकारी गरायो । मेरो सेतो कुर्ता र उसको सेतो सर्ट पानीले भिजेर निथु्रक्कै मात्र भएको थिएन। उसको सेतो सर्टबाट भित्रको सेन्डो देखिन्थ्यो । मेरो सेतो कुर्ता लपक्कै जिउमा टाँसिएको थियो । म भिजेको सलले घाँटी र छातीमा छोप्ने प्रयास गर्छु । मेरो छाति उसको ढाडमा टाँसिएको छ । म नचाहेर पनि उसको ढाडमा लपक्क टाँसिएकी छु, अगाडिबाट चिसो हावाले हानिरहेको छ, म काँप्दैछु। पानीको कुटाई चर्किदै छ, झन-झन बढी।

“मेरो कारणले दुःख भयो तपाईँलाई ?” उसको काननेर मुख लगेर भनेँ ।

हेलमेटले गर्दा अलि सारो बोल्दा मात्र सुन्यो उसले ।

“तपाईलाई घरसम्म पुर्याउने जिम्मेवारी जो पाएको छु, त्यो त पुरा गर्नुपर्यो नि । अँ साँची तपाईको हात कहिले ठिक होला ? हिजोआज जसलाई पनि नसाको समस्या देख्छु ।”

“डाक्टरले २ महिना लाग्छ निको हुन भनेको छ । दुईमहिना स्कुटी पनि नकुदाउनु भनेको छ ।”
“चिन्ता नगर्नु तपाईँको हात ठीक नहुन्जेल म छँदैछु ।”

उसले बोलेको कुरा सुन्न म अझ नजिकिएँ ।

मेरो घरमा पुग्दा हामी दुई निथु्रक्कै भिज्यौँ ।

“तपाईलाई चिसो लाग्ला कपडाबाट पानी चुहिरहेको छ, चाँडो कपडा फेर्नुहोला, आफ्नो ख्याल राख्नु होला ।” उसले बाइक फर्काउदै भन्यो ।

“प्रोफेसर कफी पिएर जानुहोस् ?” ऊ बस्दैन भन्ने थाह पाउँदा-पाउँदै मैले औपचारिकता निभाएँ ।

हैन, फेरि कुनै दिन पिउँला । उसले बाइक स्टार्ट गर्नै लाग्यो ।

ट्यार…ट्यार्र…ट्यार… – घडीको घण्टीले फेरि ब्युँझायो सदा झैँ ।

“उफ…कस्तो सपना ? मलाई प्रोफेसरले यसरी किन सताउँछ सपनामा ?”

“आखिर मान्छेले के कारणले देख्छ सपनामा घरी-घरी एउटै मान्छेलाई ?”

“के म प्रोफेसरलाई मन पराउँछु ? माया गर्छु ? श्रीमान् हुँदाहुँदै पर-पुरुषलाई सपनामा देख्ने अधिकार कसले दियो मलाई ? के म मातिएकी छाडा आइमाई हुँ ?” आदि प्रश्नहरु मनमा खेलिरहे ।

“के सम्वन्ध छ सपना र विपनाको उफ…मलाई मेरो श्रीमानभन्दा प्यारो कोही लाग्दैन तर… ?”
अनेक जिज्ञाशा मनमा आए ।

“म आफ्नै श्रीमानसँग कुरा गर्दागर्दै, उसको कल्पनामा हराउँदा-हराउँदै निदाउँछु तर बिहान उठ्ने बेला जहिले प्रोफेसरलाई सपनामा देख्छु, मलाई यस विषयले अत्यन्तै तनाव दिएको छ, म चाहान्न कि पर-पुरुषलाई सपनामा देखौँ । लौन म के गरुँ ?”

एकदमै नजिककी साथी प्रोफेसर नरीलाई सुनाएँ, जो मनोविज्ञान विषय पढाउथिन् डिग्रीको कक्षालाई । चस्मा माथिबाट आँखाहरु मतिर अड्याएर उनले मेरो कुरा ध्यान दिएर सुनिन् ।

“यदि तिमीलाई सपनाले मानसिक तनाव दिएको छ र तिमी सपनाबारे जान्न चाहन्छेउ भने सपनासम्वन्धी पि.एच.डी गर्नुभएको एकजना प्रोफेसरकोमा जाऊ । त्यहाँबाट तिमीले धेरै कुरा बुझ्न सक्छेउ” ।

..म छक्क परेँ ।

“नाम नम्बर नोट गर अनि भन मैले नम्बर दिएको भनेर ।”

“डा. साप सपना के हो ? कसरी, के कारणले देखिन्छ ? सपनामा देखिएको कुराहरुबिपनामा कति परिणत हुन्छन्? सपना र बिपनाको कुनै तारतम्य, नाता छ कि छैन ?”

प्रा. डा. शक्ति भट्टराईलाई नबिराई एकैपटक चार प्रश्न सोधेँ मैले, उनकै घरको वगैचामा बिहानी चियाको चुस्कीसँगै ।

“सपना मानिस निदाएको बेला देखिन्छ । मानिस निदाएको बेला उसको मस्तिष्कले सोचे कल्पना गरेको कुरा नै सपना हो । त्यसो हुँदा सपना मानव मस्तिष्कबाट उत्पन्न हुने उपज हो । सपनाले मानिसको जीवनमा भरे घट्ने राम्रा या नराम्रा घटनाहरूको जानकारी, सूचना या खबर लिएर आएको हुँदैन र अदृश्य शक्तिले सूचक बनाएर पठाएको पनि हुँदैन ।
“ …” ध्यानपूर्वक सुनेँ ।

अपवादबाहेक सपनाले भविष्यमा आउने बिपनासँग कुनै साइनो, सम्बन्ध राख्दैन । सपना यथार्थ होइन र साकार पनि हुँदैन । ”

“डा. साप मान्छेले सपना के कारण कसरी देख्छ ? यसको प्रक्रिया कस्तो हुन्छ ?”

“सपना मानिस निदाएको बेला उसका बाहिरी अङ्गहरू खासगरी आँखा, कान, नाक आदि निष्क्रिय भएको कारण बाहिर नियमित रूपमा घट्ने विभिन्न घटनाहरू हेरेर, सुनेर, छोएर, चाखेर, सुँघेर त्यसको अवस्था र वास्तविकता मस्तिष्कसँग सञ्चार गर्ने क्रम टुटेको हुन्छ ।

“ …”

त्यसबेला पनि मुटु, फोक्सो, कलेजो, मृगौला आदिले नियमित काम गरिरहन्छन् । त्यो अवस्थामा मुख या नाकबाट सञ्चार भएको मन्द गतिको अक्सिजनको सहायतामा मस्तिष्क कामविहीन भएर छाडा र अनियन्त्रित अवस्थामा मनोमानी र स्वेच्छाचारी तरिकाले बहकिएर कल्पना गरेको कुरा नै सपना हो ।”

“डा. साप मान्छेले कस्तो अवस्थामा सपना देख्छ ?”

मस्तिष्कको एकापट्टिको भाग चिन्तन र विश्लेषण गर्ने र अर्कोपट्टिको भाग नगर्ने हुन्छ । विश्लेषण गर्ने भाग निदाएको र नगर्ने भाग अर्धजागो हुन्छ । त्यही बेला चिन्तन, विश्लेषण नगर्ने भागले गञ्जागोल पाराले गरेको कल्पना नै सपना हो तर पनि उसले केही न केही सोचिरहन्छ चिन्तन गर्ने मस्तिष्कको भागले ।

“…”

सुनिरहेँ।

“ मस्तिष्क काम नभएको बेला सपना उत्पादन गर्छ डा. साप?”

“विभिन्न घटित घटनाहरू हरपल सञ्चार हुने र तिनको चिन्तनमनन गरेर निर्णय गरी निर्देश गर्नुपर्ने हुनाले मस्तिष्क अति व्यस्त रहन्छ । हो यही प्रक्रिया टुटेर मस्तिष्क बेकाम भएको र अनियन्त्रित भएर बरालिएको बेला अर्धनिद्रित मस्तिष्कले गर्न हुने नहुने, भएका नभएका, जे पनि जस्तो पनि, सोच्ने कल्पना गर्ने गर्दछ, त्यही कुरा भरे ब्यूँझिँदा सपना भएर आउँछ ।”

“हवस् त धेरै-धेरै आभारी छु यति जान्ने अवसर पाएकोमा ” । दुइ हात जोडेँ र विदा भएँ ।

फर्किदा बाटामा प्रा. डा. शक्ति भट्टराईका तर्कहरु सम्झिएर मन प्रफुल्लित भयो । सपना र वास्तविकताबीच कुनै सम्बन्ध नभएको कुरामा मन ढुक्क भयो ।

“तिमीलाई प्रा. डा. शक्तिसँगको भेटले केही राहत मिल्यो ? ” साँझ फेसबुक म्यासेन्जरमा प्रोफेसर नरीले सोधिन् ।

“अलि ढुक्क भएझैँ लाग्यो । ” मैले म्यासेज गरेँ ।

“तिमी ढुक्क भए हुन्छ, चिन्ता नगर। ” उनले म्यासेज गरिन् ।

“सपना भन्दा मलाई मेरो वास्तविकता प्यारो छ,प्रोफेसर नरी । प्रोफेसर राहुलजंग कार्कीभन्दा मेरो श्रीमान् जो मस्कोमा पि.एच.डि गर्दै छन्, उनी प्यारा छन् । म सपनामा भुलेर वास्तविकतालाई विर्सने मान्छे होइन।”मैले टाइप गरी पठाएँ ।

“शुभरात्री” – उनले म्यासेज गरिन् ।

“धन्यवाद तिमीलाई पनि शुभरात्री” – मैले टाइप गरी पठाएँ ।

…………………..

उत्तरतर्फ हिमालहरु लहरै चाँदीझैँ सेता दन्तहरु देखाएर हाँसिरहेका छन् ।

“हेर त हिमालमा, यतिबेलै एकैपटक हिउँ पर्नु अनि घाम पनि लाग्नुको अर्थ हिमालहरु हामीलाई देखेर खुशी भएका हुन् । हाम्रो मिलनलाई स्वीकारिरहेका छन्” प्रोफेसर राहुलजंग कार्कीले भन्यो ।

म मख्ख परेर हिमालतिर हेर्दै मुस्कुराएँ ।

“यति सुन्दर कुन ठाउँ हो, प्रोफेसर ?” मैले सोधेँ ।

“यो ठाउँमा तिमीलाई लिएर आउने मेरो सपना पुरा भयो, यो कुन ठाउँ हो तिमीले आफै पत्ता लगाउनुपर्छ” उसले मुस्कुराएर भन्यो ।

“म छक्क पर्दै नियाल्ने प्रयास गर्दैथिएँ ।”

………………….

“हिमाली भेगका जंगलमा पाइने फलहरुको भित्रको दानाहरुबाट बनाइएको हो यो माला”

उसले आफ्नो व्यागबाट झिकेर हातमा झुण्ड्याएको माला मलाई देखाउदै भन्यो ।

“ओहो कति आकर्षक? के यी दानाहरुमा पछि रंग लगाएको हो ? ”

“यो प्राकृतिक हो, यसलाई विशेष गरी विदेश निर्यात गरिन्छ र यो मूल्यवान छ । दुर्लभ भएकाले पनि यो महँगो छ ।”
रेष्टुरेन्टबाट हिमाल नियालिरहेकी म त्यहाँको मनोरम दृश्य, प्राकृतिक सुन्दरताले भरिएको ठाँउ हेरेर आनन्दित भएँ ।
मलाई आफूतिर तान्यो, उसले । मेरा गाला र शरीर ज्वरो आए झैँ ताता भए ।

“अरे तिम्रा गाला एक्कासी राता भए नि ? ”

उसले मलाई माला लगाइदियो ।

“ कति सुहाएको तिमीलाई ”

ऊ मेरो फोटो खिच्न थाल्यो ।

“यति सुन्दर माला लगाइदिएकोमा तिमीलाई धन्यवाद” मैले उसले फोटो खिचिरहँदा अफ्ठ्यारो मान्दै भनेँ ।

उसले उभिएर फोटोमा पोज दिन आग्रह गर्यो । म उसले भनेझैँ गर्दै थिएँ । अचानक उसले मलाई फेरि आफूतिर तान्यो । म झस्किएँ ।

पछाडीपट्टि दुई हिमाल देखिने गरी उसले मलाई अगाडि र आफू थोरै पछाडि देखिने गरी सेल्फी लियो ।

“यो मेरो मायाको चिनो अनि तिम्रो जन्मदिनको उपहार पनि हो है । तिमीलाई थुप्रै-थुप्रै , एक भकारी शुभकामना हेहेहे…” मालालाई देखाएर भन्यो उसले ।

“हेहेहे…धन्यवाद, तिमी सारै रमाइलो मान्छे ” मैले मुस्कुराएर भनेँ ।

“ तिमीलाई कस्तो लाग्यो त ….यो ठाउँ ?”

“अति सुन्दर । सायद स्वर्ग भनेको यस्तै हुँदो हो । मैले सोचेको थिइन नेपालमा यति सुन्दर ठाउँ होला ”

“तिमीले हेलिकप्टरमै किन ल्यायौ मलाई, यहाँ त्यो पनि मेरो आँखामा पट्टी बाँधेर ? ”

“मेरो साथीपाइलट कौशलराजले पहिले वाचा गरेको थियो कि, नेपालको कुनै एक रमणीय स्थानमा लानेछु एक दिन भनेर”

“… ”

“उसले पनि वाचा पूरा गर्ने अवसर पायो, आज नै उसको फ्लाइट परेको रहेछ हिजो साँझ मात्र मैले उसलाई फोन गरेको थिएँ, अनि आज तिम्रो जन्म दिन पनि ”

“अनि ऊ किन हामीसँग बसेन ? ”

“ विदेशी पर्यटकहरुसँग माथि गुम्बातिर घुम्न जान्छु भन्थ्यो, सायद आज उसले हामीलाई एकान्तमा छोडिदिएको होला ?”

प्रोफेसरराहुलजंग कार्कीसँग मेरा आँखा जुधे ।
मौतना छायो ।

दुई मुटुको मौनतालाई मन नपराएर होला आकाशमा अचानक बादल मडारियो अनि कालो देखियो ।

“मौसम खराव भयो भने आज हामी फर्किन सक्दैनौ ” प्रोफेसरले जानकारी गरायो ।

अचानक बिजुली चम्कियो , आकाश गड्गडायो ,म तर्सिएँ ।

उसले मेरा हात च्याप्प समात्यो । मेरो शरीरभर एकप्रकारको फरक अनुभुत हुँदैथियो । उसले मलाई अंगालोमै बेर्यो । मेरो कान नजिकबाट उसले भन्यो “के तिमी मलाई माया गर्छौ ?”

अचानक भुई हल्लिएझैँ भयो ।

“सबै भागौँ, सबै भागौँ…” अपरिचित आवाजसँगै रेष्टुरेण्टभित्रका सबै मानिस भाग्न थाले । रेष्टुरेण्ट बाहिर निस्किए पछि म झस्किएँ ।

“प्रोफेसर मेरो ब्याग त भित्रै छुटेछ ” खुल्ला ठाउँतिर भाग्दै गर्दा मैले भनेँ ।
सुन्नासाथ ऊ रेष्टुरेण्टतिर दौडियो ।

“नजानुहोस्…पहिरो जाँदैछ…नजानुहोस्…रेष्टुरेण्टका मालिक तामाङ्ग कान्छा दाइ प्रोफेसरको पछिपछि कुदे, फर्काउन ।”

प्रोफेसर रेष्टुरेण्टभित्र छिरिसकेका थिए । बाहिरबाट कान्छा दाई कराए ।

“भित्र नपस्नुहोस् फर्किनोहोस्…” सबै कराए । म आँखा चिम्लिएर भगवान्लाई पुकार्दै थिएँ ।

सबै चिच्याएको आवाजले आँखा खोल्दा पहाडले रेष्टुरेण्टलाई पुरेको थियो । मान्छे भाग्दै थिए ।मलाई तान्दै थिए । पहाड खस्दा निस्किएको माटो र उडेको धुलोले म कसैलाई देखिरहेकी थिइन । केही समय अगाडिको सुन्दर रेष्टुरेण्ट आँखा अगाडि थिएन ।

म भनेँ स्तब्ध भएर हेरिरहे, पुरिएको रेष्टुरेण्टलाई ।

तामाङ्ग कान्छाको सहयोगमा म रेष्टुरेण्ट पुरिएको स्थानमा गएँ । प्रोफेसरराहुलजंग कार्कीलाई खोज्न ।
“यता …यता तामाङ्ग कान्छाले बोलायो ”

रेष्टुरेण्टको भग्नावशेष भित्र पुरिएको प्रोफेसरलाई तामाङ्ग कान्छाले थोरै बाहिर निकाल्यो ।
प्रोफेसरको हातमा मेरो ब्याग थियो ।

म पुग्नासाथ प्रोफेसरले टाउको थोरै माथि उठायो । प्रोफेसर जिउदो भएकोमा मेरा गह भरिए । मन खुशी भयो । उसको टाउको रगतले भिजेको थियो ।

हातमा मेरो ब्याग थमाइदियो ।

“प्रोफेसर आँखा …खोल…”

मेरो आवाजसँगै उसले आँखा चिम्लियो ।

उसको छातिमा टाउको राखेँ । उसले श्वास फेर्न छाडिसकेको थियो ।

तामाङ्ग कान्छालाई हेरेँ उसले टोपी खोल्यो आँशु झार्दै ।

म जीवनमा पहिलो पल्ट यति धेरै रोएँ। रोइरहेँ… । जम्मा भएका मान्छेहरु म रोएको देखेरै रोइरहेका थिए ।
ट्यार…ट्यार्र…ट्यार…ट्यार्र – आवाजले झस्किएँ ।

“उफ…कस्तो नराम्रो सपना ” आँखा भरी आँशु थिए । टाउको भारी भएको थियो ।मन ढुकढुक ।

“मलाई यो सपनाले यति धेरै पीडा किन दिन्छ ? यसको समाधान के होला ? उफ…म के गरौँ ? आफैभित्रको प्रश्नहरुको दोहोरीले तड्पायो, मन पोलिरह्यो, हुरी चलिरह्यो ।

“आज भने म कलेजमा प्रोफेसरराहुलजंग कार्कीलाई भेटेर कुरा गर्ने छु । उसले मलाई यति धेरै किन सताउँछ सपनामा । उफ फेरी उसको के दोष ? अनि मेरो ? मेरो के दोष ? दोष त सपना कै हो ? तर किन एउटै मान्छेलाई देख्छु सपनामा ? केही न केही त सम्बन्ध हुनुपर्छ यो सपना र वास्तविकताको ?”

अनेक तर्कविर्तकको हुन्डरीसँगै स्कुटी अगाडि बढिरहेको छ क्याम्पस तिर ।

…………………………

स्कुटीको स्पिड सधैभन्दा अलि बढी छ । छिट्टो पुग्नु पर्ने जस्तो, गन्तब्यमा पुग्न हतारिएको जस्तो ।
कलेजको गेटमा पुगी सुरक्षाकर्मीलाई सोधेँ “प्रोफेसर राहुलजंग कार्की आइसक्नु भयो ?”

“म्याडम…म्याडम…ऊ बोल्न सक्दिन ”

“भित्र जानुहोस् ” उसको सधैँभन्दा फरक व्यवहार देखेर म छक्क पर्दै क्याम्पसको गेट भित्र छिर्छु ।
गेटभित्र पस्दा सबै विद्यार्थी र प्रोफेसरहरु अनि अन्य स्टाफहरु एक ठाउँमा जम्मा भएका छन् ।
सबैले शिर झुकाएका छन् ।

एउटा विद्यार्थीको नजिक गई सोधेँ “के भयो ?”

“म्याम…म्याम…प्रोफेसर राहुलजंग कार्की अब रहनुभएन हुँहुँ…


आकाशतिर हेरेँ । वादल मडारिएर कालो भइरहेको छ । केही घण्टा अगाडिको सपना रिल झैँ घुम्न थाल्यो । मष्तिष्क शुन्य झैँ भयो । मुटु ढुकढुक गर्न थाल्यो ।

“के भयो ? कसरी ? ”

“बिहानी पख उठ्नासाथ उहाँलाई हृदयघात भयो रे” अर्को विद्यार्थी राकेशले भन्यो ।
करिब तीन महिना पछि कलेजको भित्री ढोका अगाडि ठूलो पारेर राखेको स्वर्गीय प्रोफेसर राहुलजँग कार्कीको हँसिलो

मुहारको तस्वीरलाई नियालेँ ।

“प्रोफेसर तिमी गएको ३ महिना भैसक्यो तर तिमी गएदेखि अहिलेसम्म एकपटक पनि मेरो सपनामा आएनौ किन ?”
ऊ निरुत्तर मुस्कुराइरह्यो ।

जीवनसंगिनी सपनाले आफ्नो वास्तविक कथा मलाई सुनाइन् । मस्कोबाट फर्केको दुईदिन मै उनले सुनाएको कथाले म छक्क परिरहेको छु ।

“सपना रात निक्कै छिप्पिएको छ । १ बज्नै लागेको छ” मैले भनेँ ।

उनी मेरो विपरित दिशाको सोफामा छिन् म उनको विपरित दिशाको सोफामा छु । उनका आँखामा निन्द्रा देखिदैन । चनाखो भएर कथा बारे मेरो प्रतिक्रियाको पर्खाइमा छिन् उनी ।

“तिमीलाई एउटा प्रश्न सोद्छु आत्माबाट उत्तर देउ ?” मैले भनेँ ।

चस्माभित्रबाट मलाई नियाली रहेकी उनी छक्क परिन् ।

“कस्तो प्रश्न ?मैले कुनै कुरा लुकाएकी छु र तिमीलाई ?” उसले प्रतिप्रश्न गरिन् ।

“के तिमी प्रोफेसर राहुलजंग कार्कीलाई माया गथ्र्यौ ?”मैले उसको मनको ईच्छा बुझ्ने प्रयास गरेँ ।

“हँम्…उनी बितेपछि मलाई त्यो कलेज शून्य लाग्यो । जसरी तिमी मस्को गएको दिन यो घर शुन्य लागेको थियो । त्यहाँ म एक्लो भए झैँ लाग्यो । त्यहाँ रहुन्जेल मलाई उनको सम्झनाले तसाइरह्यो । त्यहीकारण त मैले त्यो क्याम्पसमा पढाउन छोडेँ र अर्को क्याम्पस खोजेँ । ”

“सपना तिमी तिम्रो श्रीमान् हुँदा हुँदै अरुलाई कसरी माया गर्न सक्छ्यौ?”मेरा आँखामा आँखा जुधाइरहेकी सपनाका आँखामा हेरेर सोधेँ ।

“ तिम्रो माया अरु कसैसँग तुलनीय छैन तर म प्रोफेसर राहुलजँग कार्कीलाई पनि माया गर्छु त्यो मैले चाहादा र नचाहाँदा हुने कुरा होइन ।”नीलो गाउनमा निकै राम्री देखिएकी सपनाले कानका साना टपलाई खोल्दै भनिन् ।
मानौ राहुलजंगलाई माया गर्छु भन्दा मलाई पर्ने असरबारे उसलाई कुनै वास्ता छैन ।

“सपना, प्रोफेसर राहुलजँग कार्की मरेकोमा म खुशी छु ।” मष्तिष्कमा उब्जिएको भाव सपनालाई भन्न सकिन ।
“के म तिम्रो कथालाई लेख्न सक्छु सपना ?” मैले सोधेँ ।

मुस्कुराउदै उनले भनिन् “अवश्य, अनि कथाको शीर्षक ?”

मैले भनेँ- “सपना ।”
- आठैप्रहर बाट

क्रान्ति पराजुलीका अन्य कथाहरु
Loading...
Recent Updates

Show Comments: OR

नेपाली भित्र रहेका रोचक भिडियो हरु !! एक चोटी हेरे पछी जाम जाम लाग्ने छ !!

About Us

Online News & Entertainment Nepali Online Portal : Nepal News, News from Nepal, Articles, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video, Features, Business reviews and Many more ...










Search This Site

Our Team

Correspondent
Subish Adhikari (Kathmandu), Rabilal Paudel (Gulmi)

Country Representative
Ganesh Karki (Norway)
Tika Adhikari (UK) ,
Sunil Shrestha (Israel)

Media Editor
Tika Aadhikari


Founder
Tika Adhikari (UK)
44-7828905018

Total Pageviews

Contact Us - सम्पर्क


स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
(ScotNepal Media House Pvt. Ltd.)
scotnepal.com
Maitidevi-33, Kathmandu, Nepal
Call: 9857025142
News Desk
Email: admin@scotnepal.com

Marketing
Email: admin@scotnepal.com

Google+ Followers